सुदूरपश्चिममा २४ जनामा डेंगु भएको पुष्टि



नेपाल समाचारपत्र, डोटी।सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा २४ जनामा डेङ्गु रोगको संक्रमण देखिएको पुष्टि गरिएको छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले दिएको जानकारीअनुसार कैलालीमा १५ जना, दार्चुलामा ५ जना अछाममा २ जना, कञ्चनपुरमा १ र डोटीमा १ जनामा उक्त रोग भेटिएको पुष्टि गरेको हो।

त्यस्तै उक्त रोगको संक्रमणका कारण डोटीमा १ जनाको मृत्यु भइसकेको छ। जिल्लाको दीपायल सिलगढी नगरपालिका– ६ थाप्ला बस्ने छत्र मलासी ‘छाँया’को उक्त रोगका कारण यही भदौ ५ गते कैलालीमा रहेको माया मेट्रो अस्पतालमा उपचारमा क्रममा मृत्यु भएको हो।

डोटीमा डेंगु रोग देखा परेको बिरामीलाई उपचारका लागि काठमाडांै लगिएको जिल्ला अस्पताल डोटीका डा. गिरीश अवस्थीले बताउनुभयो।

डोटीलगायतका अन्य चार जिल्लाहरूमा डेंगु रोगका बिरामीको संख्या बढ्न थालेपछि अहिले यहाँका स्थानीयमा त्रास फैलिएको छ।

डेंगु रोग नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारले पाँच जिल्लामा अभियान नै सञ्चालन गर्ने तयारी भएको सुदूरपश्चिम सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जानकारी दिनुभयो। बिहान र साँझको अस्ताउदो घामको समयमा डेङ्गु रोग फैलाउने लामखुट्टेले टोक्ने भएकाले त्यत्ति बेला सावधानी अपनाउन जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. भूषण मिश्रले बताउनुभयो।

पहिलो पटक चितवन जिल्लामा भेटिएको उक्त डेंगु रोग अहिले सुदूरपश्चिमका पाँच जिल्ला कैलाली, अछाम, कञ्चनपुर, दार्चुला र डोटीमा देखापरेकोले सबैले सावधानी अपनाउनुपर्ने सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दीपायल जनाएको छ।

डेंगु रोग फैलाउने लामखुट्टेले सफा पानी अर्थात अक्सिजन भएको पानीमा फुल पार्ने र उक्त फुल करिब ६ महिनासम्म जिवित रहने भएकाले घरमा राखिएका खानेपानीका भाँडाकँुडा सधै सफा गर्नुपर्ने शैलेश्वरी अस्पताल दपायलका डा. ललित लिम्बुले बताउनुभयो।

जिल्लामा डेंगु रोग नियन्त्रणका लागि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी परिचालन गरिएको छ। रोग नियन्त्रणका लागि खटिएको टोलीले नगरपालिकाका विभिन्न वडामा गएर जनचेतनामूलक कार्यक्रम गर्ने तथा डेंगु रोग फैलाउने लामखुट्टे पारेका फुहरूको पहिचान गरी नष्ट गर्ने कार्य गरीरहेको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘जिल्लामा डेंगु रोग देखा परेर एक जनाको ज्यान गएपछि हामीले नियन्त्रणका लागि सरकारी टोलीनै गठन गरेका छौं। टोलीले रोगका बारेमा जनचेतना फैलाउनेदेखि लामखुट्टेले पारेका फुलको पहिचान गरी नष्ट गर्दै छ, आम नागरिकले पनि यो विषयमा जानकारी लिएर सचेत हुन जरुरी छ।’

प्रतिक्रिया दिनुहोस्