भीमेश्वर ः ३ नम्बर प्रदेशको पहिलो बालमैत्री नगर



चिरञ्जीवी मास्के,दोलखा। दोलखाको भीमेश्वर नगरपालिकालाई ३ नम्बर प्रदेशकै पहिलो बालमैत्री नगरपालिका घोषणा गरिएको छ। ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले भीमेश्वर नगरपालिकालाई बालमैत्री नगरपालिका भएको घोषणा गर्नुभएको थियो भने जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले नगर प्रमुख भरतबहादुर केसीलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो।

बालमैत्री स्थानीय तहको लागि आवश्यक बाल बचाउ, बाल संरक्षण, बाल विकास र अर्थपूर्ण बाल सहभागिता जस्ता आधारभूत विषयसँगै ३९ वटा सूचक पूरा गरेपछि भीमेश्वर नगरपालिकालाई ३ नम्बर प्रदेशको पहिलो बालमैत्री नगरपालिका घोषणा गरिएको नगरप्रमुख केसीले बताउनुभयो।

भीमेश्वर नगरपालिकाले बालबालिकाको जन्म तथा मृत्यु दर्ता, खोपको सबै चरणको सुनिश्चितता, विद्यालयमा छात्रा शौचालयको अलग व्यवस्था, आधारभूत तहको शिक्षामा सबैको सहभागिता, स्थानीय निकायको निर्णय प्रकृयामा बालबालिकाको सहभागितालगायतका ३९ वटा सूचक पूरा गरेको नगरप्रमुख केसीको भनाइ छ।

नगरप्रमुख केसीले व्यवहारिकरूपमा सूचकको पालना र कार्यान्वयनमा नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुहँुदै त्यसको लागि सम्पूर्ण नगरवासीले सहयोग गर्नुपर्ने बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले प्रदेशलाई बालमैत्री प्रदेश बनाउने अभियानको क्रममा भीमेश्वर नगरपालिकाले प्रदेशकै पहिलो बालमैत्री नगरपालिका बनेर अभियानमा सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो।

उहाँले बाल विकास र संरक्षण सरकारको प्रमुख दायित्व रहेको उल्लेख गर्नुहँुदै त्यसमा स्थानीय जनप्रतिनिधिको सहयोग र भूमिका महत्तवपूर्ण हुने बताउनुभयो।

सरकारले २०६८ सालमा बालमैत्री स्थानीय शासन रणनीति बनाएको थियो भने त्यसैवर्ष बालमैत्री स्थानीय शासन कार्यविधि २०६८ तर्जुमा गरी कार्यान्वयनमा ल्याएको थियो। भीमेश्वर नगरपालिका बालमैत्री नगरपालिका घोषणा भएपछि नेपालमा बालमैत्री नगरपालिका घोषणा भएको संख्या चार पुगेको छ।

नगरप्रमुख भरतबहादुर केसीको सभापतित्वमा सम्पन्न बालमैत्री नगरपालिका घोषणा कार्यक्रममा ३ नम्बर प्रदेशका सांसद एवं नेकपाका नेता पशुपति चौलागाईं, नेकपाका नेता एवं पूर्वराज्यमन्त्री देवी खड्का, जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, गाँउपालिका महासंघ ३ नम्बर प्रदेशका अध्यक्ष एवं दोलखा तामाकोशी गाँउपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेल, नेकपा दोलखाका सचिव गोपाल पाण्डे, नेपाली कांग्रेस दोलखाका नेता केशवराज चौलागाईं, भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेत, पूर्वनगरप्रमुख चोकबहादुर दहाल, भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्कालगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्