“क्यासिनो सिटी” किन प्राथमिकता ?



नेपाल समाचारपत्र,बाँके।पुरानो शहर हो, नेपालगन्ज। विसं. २०१७ सालकै नगरपालिका। काठमाडौं, विराटनगर, पाल्पापछि गनिएको शहर। सन् १८५७ मा भएको लखनऊ विद्रोह दबाउन श्री ३ जंगबहादुर राणा आफैं गएपछि अंग्रेजले खुसी भएर फिर्ता दिएको ‘नयाँ मुलुक’ को सदरमुकाम हो, नेपालगन्ज।

बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लालाई नयाँ मुलुक भन्ने गरिन्छ। मुख्तियार भीमसेन थापाको पालामा सन् १८१५ को ‘एंग्लो वार’ पछि यो भूमि अंग्रेजले कब्जा गरेको थियो।

यो पुरानो शहर यत्तिका वर्षसम्म ‘पुरानो’ नै भइरह्यो। भाइ शहरहरूले तिब्र विकास गर्दा नेपालगन्जले आशातित फड्को मार्न सकेन।

पाँच विकास क्षेत्रको अवधारणामा मध्य र सुदूरपश्चिमको केन्द्रविन्दु रहेको नेपालगन्ज संघीयतामा कुनामा पर्यो, गुमनामजस्तै भयो। यतिसम्म कि भाइ शहरहरूले ‘राजधानी’ को चर्को आवाज उठाउँदा नेपालगन्जको स्वर दबेर रह्यो। चर्को स्वरमा बोल्नसमेत सकेन। काठमाडौंलाई दबाब दिने ‘आवाज’ कतैबाट निस्केन।

एसियाली विकास बैंक (एडीबी) ले हात हालिदिएपछि नेपालगन्ज ‘हेर्न लायक’ भयो भन्दा हुन्छ। सडक फोरलेनका भए। भित्री बाटा फराकिला भए। बाटो फराकिलो के हुनु थियो, बजार नै व्यवस्थित देखियो। नाली व्यवस्थित भए।

फोहोर फाल्ने ठाउँ नभएर हैरान भएको नेपालगन्जमा आधुनिक ल्यान्डफिल साइट बन्यो। पछिल्लो वर्षमा नेपालगन्ज आउनेलाई बल्ल लाग्यो होला कि नेपालगन्ज बास्तवमै पुरानो शहर रहेछ। विकसित रहेछ।

उद्योग, कलकारखाना, बजार, शिक्षा, स्वास्थ्य र खेलकुदको शहरको ‘उपमा’ पाइरहेको नेपालगन्जलाई अब ‘क्यासिनो सिटी’ बनाउने मेयर डा. धवलशमशेर राणाले सपना देखेका छन्। मेयर राणाले पछिल्लो समयमा अतिथि भएर जाने हरेकजसो कार्यक्रममा नेपालगन्जलाई क्यासिनो सिटी बनाउने बताइरहेका छन्।

क्यासिनो शहर हुँदा नेपालगन्जलाई के फाइदा हुन्छ ? मेयर राणाको तर्क छ, भारतीय पर्यटकले नेपालगन्ज भरिन्छ। नजिकै रहेको भारतको ठूलो शहर लखनऊबाट धनाढ्यहरू आउँछन् र पैसा खर्च गरेर जान्छन्। नेपालगन्जको विकासमा त्यसले ठूलो टेवा पुर्याउँछ। मेयर राणाका अनुसार, नेपालगन्जमा ४/५ वटा क्यासिनो खुल्दै छन्।

मेयर राणाको भनाइमा क्यासिनो सिटीका लागि नेपालगन्जको चोकचोकमा ‘हाइमास्क लाइट’ जडान गरिंदै छ। वीपीचोकमा जडान भइसकेको हाइमास्क लाइट शहरका अन्य १३ ठाउँमा जडान हुँदै छन्। पहिलो चरणमा आठवटा चोकका लागि टेन्डर निकालिएको छ।

शहरलाई झिलिमिली बनाउने भन्दै शहरी विकास मन्त्री मो. इस्तियाक राईले पनि ५० वटा चोकमा हाइमास्क जडान गर्ने उद्घोष गरिरहेका छन्। मन्त्री राईको उज्यालो त सायद क्यासिनो सिटी लक्षित छैन।हाइमास्क जडान हुँदा र क्यासिनो सिटी बन्दा नगरवासीलाई फाइदा के ?

चोकचोक झिलिमिली भए पनि १० बजेपछि प्रहरीले पसल बन्द गर्दै हिँड्छ। क्यासिनोका लागि हाइमास्क लगाउन थालेको हो भने उज्यालो मात्रै क्यासिनोमा आउनेका लागि काफी हो त ? उनीहरूको सुरक्षाको सवाल होला।

जुवा नै खेलाउनु छ र उनीहरूलाई टिकाइराख्नुपर्ला। त्यसका लागि उनीहरूले ‘भनेअनुसारको सेवा’ दिनुपर्ने होला। यसले सीमित क्यासिनोले पैसा कमाउने र बजारमा विकृति फैलिने त होइन ? एकथरी आशंका गरिरहेका छन्।

चोकैभरी हाइमास्क लगाउँदा गर्मीको शहरमा भोल्टेज र बत्तीको समस्या के होला ? हुन त मेयर राणाले एउटा हाइमास्कको बिल एक हजार दुई सयदेखि एक हजार आठ सयसम्म आउने बताइरहेका छन्। यो पैसाको आँकडालाई हेर्दा हाइमास्कले बिजुली धेरै खर्च गर्ने देखिँदैन।

प्रतिक्रिया दिनुहोस्