भेरीमा सार्वजनिक जग्गा अतिक्रमण बढ्दो



वासुदेव शर्मा, जाजरकोट। पछिल्लो समय जाजरकोटमा सार्वजनिक जग्गा अतिक्रमण गरी घर टहरा बनाउनेको संख्या बढेको छ। सदमुकाम भएकाले भेरी नगरपालिका क्षेत्रमा सबैभन्दा बढी अतिक्रमण भएको छ।

सदमुकाम खलंगाको थाप्ले, रानागाउँलगायत भेरी नगरपालिका वडा न. ७, १० १२ मा सार्वजनिक जग्गा अतिक्रमणमा परेको छ। भेरी नगरपालिका ७ को स्याउली बजारका करिब ६० भन्दा बढी घर टहराहरू सार्वजनिक जग्गामा निर्माण भएका छन्।

भेरी नगरपालिका ७ को स्याउली बजारका करिब ६० भन्दा बढी घर टहराहरू सार्वजनिक जग्गामा निर्माण भएका छन्।

करिब दुई वषदेखि स्थापना भएका घर टहरामा वडा कार्यालयले नागरिकलाई सेवा विस्तार गरेको छ।‘भेरी नगरपालिका–७ स्याउली बजारमा आफ्नोबाहेक सबैले निर्माण गरेका घर सार्वजनिक जमिनमा निर्माण भएका छन्।

यस विषयमा सरोकारवाला निकायले ध्यान दिएको छैन’ भेरी नगरपालिका–५ का रुद्रबहादुर खड्काले बताउनुभयो। स्थानीय सरकार भेरी नगरपालिकाले यसको जिम्मा लिनुपर्नेमा आफै सार्वजनिक जग्गामा निर्माण गरेका घरमा वडा कार्यालय स्थापना गरेर सेवा दिने गरेको छ।

सरोकारवाला निकायले चासो नदिँदा नागरिकले घर–टहरा बनाउन लागेका छन्। भेरी नगरपालिका १० मा फेरा बजारमा पक्की पुल निर्माण भएको करिब ३–४ वर्ष बितिसक्दा पनि पुल आसपासका टहरा व्यवस्थित गर्न सकेको छैन।

भेरी नगरपालिकाले सार्वजनिक जमिनको लागि आवश्यक कदम नलिँदा अझै सार्वजनिक जमिन अतिक्रमको चपेटामा पर्ने स्थानीयको भनाइ रहेको छ।

यता भेरी नगरपालिका–१२ मा वज्यु मन्दिर क्षेत्र आसपासको सार्वजनिक जमिनमा घर–टहरा निर्माण गरिएको छ भने सोही स्थानको दर्ता जग्गामा गत वर्षको बजेटबाट जग्गा धनीको सल्लाहबिना भेरी नगरपालिका–१२ ले सार्वजनिक फिल्ड निर्माण गरेको छ।

नेपालको संविधानमा कुनै पनि व्यक्तिको जग्गा, जग्गाधनीको अनुमतिबिना सार्वजनिक स्थल निर्माण गर्न नपाउने उल्लेख भए पनि आफ्नै मनोमानी नगरपालिका वडा कार्यालयले योजना सम्पन्न गरी भुक्तानी दिएको छ।

यस्तै अवस्था आउने हो भने केही वर्षपछि सार्वजनिक वनजंगल पनि नरहने हो कि भन्ने स्थानीयले गुनासो गरेका छन् भने भेरी नगरपालिकाले यस विषयमा कुनै चासो नदिएको स्थानीयको भनाइ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्