सुनकोशीले निर्माण शुरू गर्यो आवधिक योजना



लीला सुनुवार, ओखलढुंगा।विकासको पाँचवर्षे खाका कोर्ने उद्देश्यले ओखलढुंगाको सुनकोशी गाउँपालिकामा आवधिक विकास योजना तर्जुमा गोष्ठी शुरू भएको छ। सुनकोशी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको केन्द्र मूलखर्कमा गोष्ठी शुरू भएको हो।

गोष्ठीमा प्रतिनिधिसभा सांसद यज्ञराज सुनुवार, पूर्वसांसद रामहरि खतिवडा, जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठ, नेपाली कांग्रेसका प्रदीपकुमार सुनुवार, गाउँपालिका अध्यक्ष रुद्र अधिकारीलगायतको सहभागिता रहेको थियो।गोष्ठी उद्घाटन कार्यक्रममा बोल्दै सांसद यज्ञराज सुनुवारले आवधिक योजना निर्माणले विकासको खाका कोर्न सहज हुने मत राख्नुभयो।

सम्बोधनकै क्रममा सांसद सुनुवारले ओखलढुंगा जिल्ला ठेकेदारबाट पीडित जिल्ला भएको र असोज दोस्रो सातासम्ममा प्रशासनसँग सहकार्य गरेर काम नगर्ने ठेकेदारलाई कारबाहीको प्रकृया अगाडि बढाउले प्रतिवद्धतासमेत गर्नुभयो। पूर्वसांसद खतिवडाले विकासमा हातेमालो गर्दै सबै एकजुट भएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो।

कांग्रेस सभापति प्रदिपकुमार सुनुवारले टेलिभिजन र पत्रपत्रिकामा गफ गरेर मात्रै जिल्लाको विकास नहुने बताउनुभयो। उहाँले विकासका लागि सबैको सक्रिय सहभागिता आवश्यक रहेको औंल्याउनुभयो।

‘हामी विकास योजना बनाउँदा भूगोल र संस्कारलाई समेट्न खोज्दैनांै त्यसैले स्थानीयस्तरमा दिगो विकास हुन सकेन र अगामी दिनमा पनि भौगोलिक अवस्थाको अवलोकन गरेर भुगोल सुहाउँदो योजना निर्माण गर्न सके मात्रै दिगो विकास हुन्छ’ –उहाँले भन्नुभयो।

कार्यक्रममा बोल्दै सभापति सुनुवारले वर्तमान सरकारका प्रतिनिधि विकासमा भन्दा पनि सस्तो लोकप्रियताको लागि पत्रपत्रिका र सामाजिक सञ्जालमा प्रचार–प्रसार गर्नमा व्यस्त रहेको बताउनुभयो।

गाउँपालिका अध्यक्ष रुद्र अधिकारीले सुनकोशी गाउँपालिकाको आर्थिक, सामाजिक, भौतिकलगायतका क्षेत्रको समग्र विकासलाई ५ वर्षसम्म मार्गनिर्देश गर्नका लागि आवधिक योजना बनाउन लागिएको जानकारी दिनुभयो। सुनकोशी गाउँपालिकाको आवधिक योजना स्वीस सरकारको सहयोगमा तयार हुन लागेको हो।

प्रतिक्रिया दिनुहोस्