शिक्षा क्षेत्रमा फड्को मार्दै हल्दीबारी



उत्तम नेपाल, भद्रपुर। झापामा पन्ध्रवटा स्थानीय तह छन्। सबै पालिकाले आ–आफ्नै तरिकाले भौगोलिक अवस्थालाई मध्यनजर गरी कानून बजेट, कार्यविधि, विनियम निर्माण गरेर अन्य पालिकाभन्दा उत्कृष्ट र नमुना बनाउने प्रयासरत छन्।

पालिकालाई उत्कृष्ट बनाउने उद्देश्यले लगानी गर्छन् तर गरेको लगानी बालुवामा पानी पो हुने हो कि भनेर उत्तिकै चिन्तित पनि देखिएका छन्। यस्तै लगानीको नमुना बनेको छ स्थानीय तहमध्ये सबै प्रकारका हिसाबले कमजोर देखिएको हल्दीबारी गाउँपालिका।

सो पालिकामा जनसङ्ख्या, क्षेत्रफल, आन्तरिक आय अन्य पालिकाभन्दा कम रहेको छ। जबसम्म गाउँपालिका शिक्षित हुँदैन तबसम्म कुनै विषयमा फड्को मार्न सकिदैन भन्दै पहिलो गाउँसभादेखि नै शिक्षा क्षेत्रमा सबैभन्दा बढी बजेट विनियोजन गर्ने काम शुरुआत गरेको छ।

आर्थिक वर्ष ०७५।७६मा विद्यालय भौतिक निर्माणसमेत गरी ७ करोड ५१ लाख रकम विनियोजन गरेको पालिकाले आर्थिक वर्ष०७६।७७ मा ४ करोड २० लाख रकम शिक्षा क्षेत्रमा विनियोजन गरेको गाउँपालिको बजेट पुस्तिकामा सार्वजनिक भएको छ।

गाउँपालिकाभित्र १७ वटा सामुदायिक र १२ वटा संस्थागत विद्यालय रहेका छन्। केही विद्यालय समायोजन गरिएको छ। गुणस्तर शिक्षा प्रदानका लागि ११ जना कम्युटर, अङ्ग्रेजी सुधारका लागि १ देखि ५ सम्म १७ जना, योग शिक्षक र कराँते ३ ÷३ र कवडी प्रशिक्षक २ जना शिक्षक रहेका छन्।

उनीहरूलाई घुम्ती प्रशिक्षकका रुपमा काम गर्न श्रम ऐनअनुसार तलब भत्ता र खाजाको व्यवस्था गरिएको छ। विद्यालय सुधारका लागि गत वर्ष ६ वटा माविमा ५ लाखका दरले चमेनागृह निर्माण गरी सञ्चालनमा आएको जनाएको छ। कम्युटर, ल्याब खरिदका साथै कम्पाउन्ड वाल मर्मत सम्भार गरिएको पालिकाले जनाएको छ।

कक्षा ९ र १० का विद्यार्थीलाई गणित, विज्ञान र अङ्ग्रेजी विषयको निःशुल्क कोचिङ कक्षा सञ्चालन गरिएको छ। आगामी वर्षदेखि विद्यार्थी, शिक्षक, सरसफाइ, अनुशासन, हाजिरीलाई मूल्याङ्कनका आधारमा स्कुललाई भत्ता रकम प्रदान गरिने उल्लेख छ।

प्रत्येक वर्ष माविका ६ आधारभूतका १० र प्राविका १७, समग्र बालशिक्षक ३४ जनाबाट १ र समग्र विद्यालय कर्मचारीको तर्फबाट १ गरी ३५ जनालाई सम्मान तथा पुरस्कृत गरिने गाउँ शिक्षा समितिका संयोजक तथा पालिका उपाध्यक्ष डम्बरबहादुर गिरीले बताउनुभयो।

शिक्षालाई झन् प्रभावकारी बनाउन ३४ जना बाल शिक्षकलाई मासिक ६२ सय दिँदै आएकोमा हाल साढे १३ हजार पुर्याइएको जनाउनुभयो। विद्यालय कर्मचारीलाई ४५ सयबाट ८ हजार, लेखापाललाई साढे ८ हजार प्रदान गरिएको उहाँको भनाइ छ ।

स्थानीय कर्मचारी प्रोत्साहन कोष नियुक्ति भएको दिनबाट १ हजार जम्मा गराई सेवा निवृत्तका बखत अढाइ लाख प्रदान गरिने सो ५ देखि २० वर्ष कार्यअवधि र ३० वर्ष भएमा पुनः थप १० हजार प्रदान गरिने व्यवस्था गरिएको उहाँले जनाउनुभयो।

प्रतिक्रिया दिनुहोस्