‘एकपटक आएर पुग्दैन, फेरि पनि आउनुस्’



नेपाल समाचारपत्र, ललितपुर।इन्द्रजात्रा हेर्न नेपाल आएका विदेशी मेयरले आइतबार पाटन दरबार क्षेत्रको अवलोकन गरेका छन्। भारत, चीन र भुटानको विभिन्न सहरबाट नेपाल आएका मेयरहरूलाई ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख गीता सत्याल, प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराई लगायतले स्वागत गरेका थिए।

उनीहरूले सुन्दरी चोक, भण्डारखाल बगैंचा पुगेर त्यहाँको कला कौशललाई अभिरुचिपूर्वक हेरेका थिए। त्यसै गरी पाटन दरबार क्षेत्रमा स्थानीय व्यापारीको आर्थिक सहयोगमा पुनर्निर्माण भइरहेको भीमसेन मन्दिरको ऐतिहासिक, पुरातात्विक महत्वलाई ध्यानपूर्वक सुने।

त्यसै गरी चार नारायण, भाइदेगः मन्दिरको पुनर्निर्माणका बारेमा पनि उनीले जानकारी लिएका थिए।
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले ललितपुरका ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदा र कला कौशल हेर्न विभिन्न देशबाट आएका मेयरलाई धन्यवाद दिँदै भ्रमण वर्ष २०२० को लागि समेत निम्तो दिनुभयो।

उहाँले भन्नुभयो– ‘एकपटक आएर पुग्दैन, फेरि पनि आउनुस्।’ उनले पुनर्निर्माणको काम तीव्र गतिमा भइरहेको बताउँदै अबको १८ महिनाभित्र पाटन दरबार क्षेत्रमा पुनर्निर्माणको काम सकिने बताउनुभयो।

झण्डै १५ वर्ष निर्वाचन नभएका कारण कामको चाङ लागेको उहाँको भनाइ थियो। उहाँले भन्नुभयो– ‘हामीले जनताको कामलाई प्राथमिकतामा राखेर काम गरेका छौं। ’

काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंको ऐतिहासिक र पुरातात्विक महत्व बुझाउन विदेशी मेयरलाई निम्ता दिएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘हामीले यथार्थ कुरा बताएका छौं, केही कुरा ढाँटेका छैनौं, भत्केको पनि पनि देखाएका छौं।’

उत्तर दिल्लीका मेयर अभतार सिंहले ललितपुरमा रहेका कलात्मक मन्दिर र सम्पदाले आफू आकर्षित भएको बताउनुभयो। उहाँले दोहोर्याएर नेपाल आउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

भुटानको थिप्पू सहरका मेयर किन्ले डोर्जेले ललितपुरमा रहेका धेरै ऐतिहासिक र पुरातात्विक मन्दिरको संरक्षण राम्रोसँग भएको भन्दै त्यसको प्रसंशा गर्नुभयो।

कार्यक्रममा महानगरका सम्पदा सल्लाहकार डा. रोहित रञ्जितकारले विदेशी पाहुनालाई पाटन दरबार क्षेत्रमा भएका पुरातात्विक महत्वका सम्पदाको बारेमा बताउनुभएको थियो।

काठमाडौं महानगरपालिकाले इन्द्रजात्रा हेर्नका लागि भारत, चीन, बंगलादेश, भुटानका मेयरलाई निम्तो दिएका थियो। निम्तो मान्नका लागि ४५ सदस्यीय प्रतिनिधि मण्डल नेपाल आएको थियो।

उनीहरूले सुन्दरी चोक, भण्डारखाल बगैंचा पुगेर त्यहाँको कला कौशललाई अभिरुचिपूर्वक हेरेका थिए। त्यसै गरी पाटन दरबार क्षेत्रमा स्थानीय व्यापारीको आर्थिक सहयोगमा पुनर्निर्माण भइरहेको भीमसेन मन्दिरको ऐतिहासिक, पुरातात्विक महत्वलाई ध्यानपूर्वक सुने।

प्रतिक्रिया दिनुहोस्