फुटपाथ पसलले हिँड्नै अप्ठ्यारो



राजधानीका विभिन्न स्थानमा विदेशीहरूले अवैध व्यापार गर्ने गरेको पाइएको छ। विशेष गरी चिनियाँ र भारतीय मुलुकका व्यक्तिहरूले सडकमै व्यापार गर्ने गरेको पाइएको हो।

सरकारी निकायले पनि यस विषयमा खासै वास्ता गरेको पाइएको छैन। त्यसले गर्दा पैदल यात्रीहरू मारमा परेका छन्। सडकमा हामीलाई हिँड्न अप्ठ्यारो भयो भनेर गाली गर्ने हो भने पनि उल्टै थर्काउँछन्।

त्यसैले देखेको नदेखेझैँ गरेर हिँड्नुपर्ने भएको छ। त्यति मात्रै कहाँ हो र ? बस स्टेसनमा बस कुर्न बस्यो, ‘आउनुहोस् सामान किन्नुहोस्। हरेक सामान दश रुपियाँ, बीस रुपियाँ’ भन्ने खालका आवजले राजधानी नै कुरूप बनिसक्यो।

जनताको कान खाइसक्यो। तर सरकार यस्तो रोक्न किन सक्दैन। किन मौन छ नगरपालिका। काठमाडौं उपत्यकाका व्यस्त सडकहरू न्यूरोड, रत्नपार्क, भृकृटीमण्डप, चाबहिल, कलंकीलगायतका स्थानमा यस्तो व्यापार हुने गरेको पाइन्छ।

विशेषतः बेलुकीको समयमा सडक व्यापार हुने गरेको छ। उनीहरूले घडी, क्याल्कुलेटर, फेन्सी आइटमका सामग्रीहरू अवैधानिक तवरबाट सडकमै बिक्री गर्दा प्रहरीले देखेको नदेखेझैँ गर्छ। स्थानीय सरकार यस्तो विषयमा गम्भीर भएर लाग्नु अत्यन्तै जरुरी छ।

– अच्युत न्यौपानै, न्युरोड, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्