ज्ञानेन्द्र शाही प्रहरी हिरासतमा,मुद्दा चलाउने तयारी



काठमाडौं । अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले ज्ञानेन्द्र शाहीलाई हिरासतमा लिएको बताएको छ । शनिबार नेपालगञ्ज विमानस्थलमा संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश  भट्टराईमाथि विमानभित्रै भएको अभद्र व्यवहार र गालीगलौज बारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा शाहीमाथि एक समूहले हातपात गरेपछि सुरक्षाको कारण देखाउँदै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

तर, प्रहरीले उनलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धान गर्नुपर्ने भन्दै आइतबार साँझ पक्राउ पुर्जी थमाएको छ । पक्राउ पुर्जी दिँदै उनलाई ललितपुर प्रहरीले हिरासतमा राखेको छ ।

प्रहरीका अनुसार ‘शनिबार नेपालगञ्ज विमानस्थलमा अभद्र व्यवहार गरेको सम्बन्धमा अनुसन्धान गर्न शाहीविरुद्ध पक्राउ पुर्जी जारी गरेर हिरासतमा राखिएको हो । कसको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइयो भन्नेबारेमा भने प्रहरीले केही खुलाएको छैन ।

शाहीलगायतका युवाले गत शनिबार मन्त्री योगेश भट्टराईका कारण नेपालगञ्ज विमानस्थलबाट बुद्ध एयरको विमान काठमाडौं उड्न १ घण्टा ढिला भएको भन्दै विमानभित्रै गालीगलौज गरेका थिए ।

तर, गालीगलौजका क्रममा संयम देखिएका भट्टराईले विमान उड्न निर्धारित समयभन्दा १५ मिनेट ढिला भएको प्रष्टीकरण दिएका छन् र त्यसप्रति माफी पनि मागेका छन् । बुद्ध एयरले पनि शाहीको समूहले दाबी गरेजस्तो १ घण्टा नभएर १५ मिनेट मात्रै उडान ढिलो भएको जनाएको छ ।

स्रोतका अनुसार, शाहीलाई अभद्र व्यवहार कसूरसँगै गैरसैनिक हवाई उडान  ऐन २०१५ विपरीत कसूर गरेको अभियोगमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्