ओस्कार र भारतीय फिल्म कलेज सहकार्य गर्दै



लामो समयदेखि फिल्ममा ब्याचलर लेभलको कोर्स पढाउँदै आएको ओस्कार कलेजले भारतीय फिल्म कलेजसँग पठनपाठनमा सहकार्य गर्ने भएको छ।

कलेजले भारतको सत्यजित रे फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट, फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट र नेसनल स्कुल अफ ड्रामाका डीन तथा पदाधिकारीलाई भेटी औपचारिकरूपमा सम्झौता गरेको हो।

ओस्कार कलेजको तर्फबाट एकेडेमिक निर्देशक मनोजबाबु पन्त, एकेडेमिक कोअर्डिनेटर नवविजय श्रेष्ठ र साउन्ड फ्याकल्टीका आलोक तिवारीले तीनै संस्थाका पदाधिकारीलाई भेटेका थिए।

‘हाम्रो एकेडेमिक कोर्स डिजाइन गर्नेदेखि फ्याकल्टी आदान–प्रदान गर्नेसम्म पनि सम्झौता भएको छ। सिनेमा पढाउने सवालमा उनीहरूको इतिहास लामो छ।

त्यसैले पनि यो सम्झौताले दीर्घकालीन फाइदा हुने अपेक्षा राखेका छौं।’ –उनले भने। पन्तका अनुसार सो भ्रमणमा आगामी दिनमा कलेजका विद्यार्थीलाई वार्षिक प्रशिक्षणसँगै कार्यशालाका लागि उनीहरूले स्रोत व्यक्ति उपलब्ध गराउनेसँगै विद्यार्थीले बनाएका फिल्म पनि एक–अर्काको देशमा देखाइने सम्झौता भएको छ।

एकेडेमिक कोअर्डिनेटर नवविजय श्रेष्ठले आगामी दिनमा निर्देशन, स्क्रिप्ट, सम्पादन, साउन्ड डिजाइन, अभिनय र छायांकन विधामा शिक्षक साटासाट गर्ने सम्झौता भएको बताए।

पुनाको फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट र दिल्लीको नेसनल स्कुल अफ ड्रामा सरकारी कलेज हुन्। ओस्कार कलेज नेपालको एक मात्र सरकारी सम्बन्धन प्राप्त कलेज हो।

प्रतिक्रिया दिनुहोस्