गाउँपालिका अध्यक्ष गिरी रिहा



प्युठान, (नेस)।नेपाली कांग्रेस प्युठानका सचिव तथा गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरी रिहा भएका छन्।जिल्ला सरकारी वकिलको कार्यालय प्युठानले पर्याप्त प्रमाणको अभावमा उक्त मुद्दा नचलाउने निर्णय गर्दै हाजिर जमानीमा गिरीलाई आज रिहा गर्ने आदेश दिएको हो।

तर अन्तिम निर्णयका लागि यो मुद्दा उच्च सरकारी वकिल कार्यालय कहाँ पठाइने कार्यालयले जनाएको छ।‘अहिलेको प्रमाणबाट मुद्दा चलाउने आधार देखिएन।’ जिल्ला न्यायाधीवक्ता शिव आचार्यले भने, मुद्दाको अन्तिम किनारा लागेको छैन।

बहुविवाह अभियोगको अनुसन्धान गरिरहेको प्युठान प्रहरीले सरकारी वकिल कार्यालयको आदेशले प्रतिवादी विष्णु कुमार गिरी र आरोपित महिलालाई हिरासतमुक्त गरिएको बताएको छ। प्युठान प्रहरी प्रमुख नरेन्द्र कार्कीले अनुसन्धान प्रक्रिया जारी नै रहने बताए।

हिरासतबाट मुक्त भएपश्चात् अध्यक्ष गिरीले सहानुभूति राख्ने सबैलाई धन्यवाद दिए।‘सबैको सहानुभूतिले यो नतिजा आएको छ।’ उनले भने– ‘सबैलाई धन्यवाद छ।’

गिरीले परस्त्रीसँग गरेको कुराकानी र दुवैजनाका अद्र्धनग्न अवस्थामा कोठामा सुतेका तस्वीरलाई आधार बनाएर श्रीमती सीता केसीले हुलाकमार्फत भदौ १० गते प्रहरी कार्यालयमा उजुरी गरेपछि विष्णु गिरीमाथि प्रहरीले उक्त अनुसन्धान शुरु गरेको थियो।

उजुरी परेको १२ दिनपछि गत भदौ २२ गते गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरी आफैं प्रहरी सम्पर्कमा पुगेका थिए। गिरी र आरोपित महिलालाई प्युठान प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो।

गिरीले ती महिलाले लगाएका आरोपहरूको खण्डन गर्दै आफूले बहुविवाह नगरेको दाबी गरेका थिए। बहुविवाहको मुद्दा कपोकल्पित भएको बताउँदै गिरीले १० वर्ष लामो घरायसी समस्याको मसिनो गरी लेखाजोखा गरिदिन आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्