देउवाको गृहजिल्लामा ओली र प्रचण्डको पुत्ला दहन



राम धामी, डडेल्धुरा। नेपाली कांग्रेस डडेल्धुराले गाउँ जागरण अभियानका क्रममा बाँकेमा भएको आक्रमणको घटनाको भत्र्सना गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पुत्ला दहन गरेको छ।

नेपाली कांग्रेसद्वारा सञ्चालित दोस्रो चरणको गाउँ जागरण अभियानका क्रममा बाँके कांग्रेस सभापति किरण कोइरालालगायत नेपाली कांग्रेसका नेता कार्यकर्तामाथि भएको आक्रमणको बिरोधमा आइतबार नेपाली कांग्रेस डडेल्धुराको आयोजनामा डडेल्धुरा सदरमुकाममा सम्पन्न विरोध कार्यक्रममा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डको पुत्ला दहन गरिएको हो।

पुत्लादहनसहितको विरोध प्रदर्शनपश्चात नेपाली कांग्रेस डडेल्धुराका सभापति तथा प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले नेपाली कांग्रेसका नेता कार्यकर्तामाथि सत्तारुढ दलका कार्यकर्ताले सत्ताको आडमा गरेको कायरतापूर्ण आक्रमण भत्र्सनायोग्य भएको बताउनुभयो।

नेपाली कांग्रेस बाँकेका सभापति प्रजातान्त्रिक आन्दोलनकी योद्धा ७२ वर्षीया महिलामाथि केपी ओली र प्रचण्डका कार्यकर्ताले लुकीछिपी आक्रमण गरेको बताउँदै सभापति मल्लले आमनेपाली जनताले यस्ता घटनाहरूको प्रतिकार गर्ने दाबी गर्नुभयो।

उहाँले घटनाका दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गर्दै शान्तिपूर्ण सभामा लुकीछिपी आक्रमण गर्ने सत्तारुढ दललाई खुलेयाम लडाइँमा उत्रिन चेतावनीसमेत दिनुभयो।

‘शान्तिपूर्ण सभामा चोरेर आक्रमण गर्ने होइन’, सभापति मल्लले भन्नुभयो– ‘लडाइँ नै गर्ने हो भने समय र स्थान तोकेर लडाइँको उद्घोष गर्न सत्तारुढ दललाई चुनौती दिन चाहन्छांै।’

सत्तारुढ दलले सत्ताको आडमा लोकतन्त्रमाथि बर्बर आक्रमण गरिरहेको आरोप लगाउँदै सभापति मल्लले लोकतान्त्रिक मुलुकमा प्रजातन्त्र विरोधी क्रियाकलाप रोकिनुपर्ने बताउनुभयो।

उहाँले सत्तारुढ दलको संरक्षणमा सांघातिक आक्रमण गर्ने गुण्डाहरूलाई सरकारले चाँडो कारबाही नगरेमा कांग्रेस कडा आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो।

बिहीबार नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअन्तर्गत बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएकी सभापति किरण कोइरालालगायतका कांग्रेस कार्यकर्तामाथि सत्तारुढ दल निकटस्थ युवाहरूको समूहले आक्रमण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्