हात भाँचिएकोमा आशंका,कांग्रेसका संगठन विभाग प्रमुखले दिए राजीनामा



नेपाल समाचारपत्र, बाँके।तापुर घटनालाई लिएर कांग्रेसका सांसदहरूले संसद अवरुद्ध गरिरहदा नेकपासम्बद्ध बाँकेका वडाध्यक्ष तथा युवा नेताहरूले निर्दोषलाई फसाए कामकाज रोकेर सडकमा उत्रिने चेतावनी दिएका छन्।

वडाध्यक्षहरूले प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रालयलाई ज्ञापनपत्र बुझाएर र युवाहरूले पत्रकार सम्मेलन गरेर त्यस्तो चेतावनी दिएका हुन्।दोषीलाई कारबाही गर्न जोड दिएका वडाध्यक्षहरू तथा युवा नेताहरूले निर्दोषलाई फसाउन नहुने जिकिर गरेका छन्।

२५ जना वडाध्यक्षहरूले हस्ताक्षर गरेको ज्ञापनपत्र बुझाउँदै वडाध्यक्षहरूले खजुरा–१, राधापुरका वडाध्यक्ष सुमन मल्ललाई राजनीतिक प्रतिसोध साध्ने उद्देश्यले ज्यान मुद्दा लगाएको बताएका छन्।वडाध्यक्षहरूले भनेका छन्, सरकारले घटनाको गहिरो अनुसन्धान गरोस्। दोषीलाई कारबाही गर्न हामी पनि माग गर्दछौं।

तर, वास्तविकताभन्दा पर गएर राजनीतिक आग्रहका कारण निर्वाचित जनताका प्रतिनिधिलाई फसाउने उद्देश्यका साथ अप्रिय निर्णय गरियो भने हामी जनताको काम छोडेर जनताका साथ सडकमा उत्रिन बाध्य हुनेछौं।

प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यको अगुवाइ गरेका नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष प्रमोद रिजालले कांग्रेसको जागरण अभियानमा भएको घटनामा संलग्न नरहेका वडाध्यक्ष मल्ललाई राजनीतिक प्रतिसोधले गर्दा फसाउन खोजेको बताउनुभयो।

वडाध्यक्ष रिजालले भन्नुभयो, वडाध्यक्ष मल्ललाई राजनीतिक प्रतिसोधका आधारमा ज्यान मार्ने उद्योगमा मुद्दा प्रपञ्च रचिँदै छ। यो हाम्रा लागि किमार्थ स्वीकार्य हुनेछैन।

आइतबार नै नेकपासम्बद्ध युवा संघ, अनेरास्ववियु, वाइसीएल र अनेरास्ववियु क्रान्तिकारीले पत्रकार सम्मेलन गरेर निर्दोषलाई फसाए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

उनीहरूले कांग्रेस पार्टी सभापति किरण कोइरालाको हात भाँचिएको सम्बन्धमा छानबिन गर्न माग गरेका छन्। युवाहरूले कांगे्रस सभापति कोइरालको हात भाँचिएकोप्रति आशंका गरेका छन्।

युवा संघका अध्यक्ष किशोर थापा, अनेरास्ववियुका मोहित शाह, वाइसीएलका सुरज जागा र अनुरास्ववियु क्रान्तिकारीका सुरेन्द्रजंग शाहले कांग्रेस सभापति कोइरालाको हात कसरी भाँचियो खोजीको विषय भएको बताएका छन्। ‘त्यहाँ कोही घाइते भएका छैनन्।

कोइरालाको मात्रै हात कसरी भाँचिएछ, अनुसन्धानको विषय बनेको छ, युवा संघका अध्यक्ष थापाले भन्नुभयो– ‘घटनाको सत्यतथ्य छानबिन हुनुपर्छ। दोषीलाई कारबाही गर्नुपर्छ। निर्दोषलाई फसाउनुहुँदैन।’

यसैबीच सीतापुर घटनालाई लिएर कांग्रेस बाँकेमा आन्तरिक कलह देखिएको छ। सोही घटनालाई लिएर कांग्रेस बाँकेका संगठन विभाग प्रमुख महेन्द्र मल्ल ठकुरीले पदबाट राजीनामा दिएका छन्।

सीतापुर घटनामा प्रत्यक्ष साक्षी रहेका मल्लले कांग्रेसले घटनामा कहीँकतै नदेखिएका वडाध्यक्ष सुमन मल्ललाई फसाउन खोजेको भन्दै असहमति जनाउँदै आएका थिए। आइतबार मल्लले ‘घर व्यवहार’ले गर्दा भन्दै राजीनामा दिएका हुन्।

कांग्रेसको १३औं महाधिवेशनपछि मल्ल पार्टीको बाँके जिल्ला संगठन विभाग प्रमुख भएका थिए। सीतापुर घटनाको २१ मिनेटको भिडियोको सबैभन्दा धेरै र चर्को बोलिरहेको देखिएका संगठन विभाग मल्लले एकाएक राजीनामा दिएपछि घटनालाई कांग्रेस बाँकेले अलि बढी गराउन खोजेको हो कि भन्ने सन्देश गएको छ।

राजीनामा दिएका मल्ल भने मोबाइल स्वीच अफ गरेर बसेका छन्। पार्टी स्रोतका अनुसार, मल्लको राजीनामा स्वीकृत भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्