मन्त्रालयको मनोमानी सहसचिव बरन्डामा उपसचिवलाई मस्ती



ईश्वरराज ढकाल,काठमाडौं।शिक्षा मन्त्रालयका सिनियर सहसचिवलाई कामविहीन बनाउँदै उपसचिवलाई जिम्मेवारी तोकिएको छ। शिक्षा मन्त्रालयले सहसचिव प्रमुख रहने पाँच स्थानमा उपसचिवलाई जिम्मेवारी दिँदा सहसचिवहरू केबल मन्त्रालयको बरन्डा घुमेर फर्किने गरेका छन्।

मन्त्रालयमा कामविहीन सहसचिवलाई व्यवस्थापन गर्ने विषयमा मन्त्रीले चासो लिनुभएको छैन। अहिले मन्त्रालयको बरन्डामा हाजिर गर्ने सहसचिवलाई भन्दा विभिन्न निकायमा प्रमुख पदमा काम गर्ने उपसचिवलाई मस्ती छ।

मन्त्रालयका अनुसार शिक्षाका सहसचिवको दरबन्दी रहेको भाषा आयोगको सचिवमा उपसचिव लक्ष्मीप्रसाद भट्टराई, राष्ट्रिय चिकित्सा शिक्षा आयोगको सदस्य सचिवमा उपसचिव चन्द्रकान्त भुसाल, शिक्षक किताबखानाको महानिर्देशकमा दिनेश श्रेष्ठ, राष्ट्रिय युवा परिषद्को सदस्य सचिवमा डा. बाबुराम ढुंगाना र शिक्षाका लागि खाद्य कार्यक्रमको निर्देशकमा उपसचिव डा. भोजराज काफ्लेलाई जिम्मा दिइएको छ।

‘यस्ता कार्यालयमा सहसचिवलाई जिम्मा दिनुपर्नेमा मन्त्रीको सचिवालयले उपसचिवलाई मुख्य जिम्मेवारी दिइरहेको छ।’ –स्रोतले नेपाल समाचारपत्रसँग भन्यो। हाल १५ मध्ये सहसचिवद्वय कमल पोखरेल र विष्णुप्रसाद अधिकारीलाई मन्त्रालयमा कुनै जिम्मेवारी दिइएको छैन।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले दरबन्दीअनुसार सहसचिव र उपसचिवलाई व्यवस्थापन गर्ने विषयमा गृहकार्य भइरहेको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘समस्या देखिएको छ, अबको केही दिनमै समाधान गर्ने तयारीमा रहेका छौं।’ भर्खरै मन्त्रालयमा हाजिर हुनुभएका सचिव दाहालले देशैभरका स्थानीय तहका प्रमुख, उपप्रमुख, शिक्षा एकाइलगायत शिक्षासँग सरोकार राख्ने निकायसँग छलफल गरेर तत्काल पदअनुसारको दरबन्दी पूरा गर्ने बताउनुभयो।

‘स्थानीय तहमा सरुवा भइसकेका तर मन्त्रालयमै र अन्य निकायमा हाजिर भइरहेका कर्मचारीलाई तत्काल सरुवा भएको स्थानीय निकायमा हाजिर गर्न जान निर्देशन दिइसकेका छौं, अबको केही दिनमा उहाँहरू सम्बन्धित निकायमा जानुहुनेछ।’ –सचिव दाहालले भन्नुभयो।

शिक्षा सेवाका सहसचिव निर्देशक रहने सातैवटा प्रदेश शिक्षा निर्देशनालयमा उपसचिव प्रमुख भएका छन्। प्रदेश शिक्षा निर्देशनालयमा सहसचिवलाई प्रमुख बनाउने निर्णण गरेको सरकारले हालसम्म उपसचिवकै जिम्मेवारीमा कार्यालय सञ्चालन गरिरहेको छ।

सरकारले प्रदेश–१ को प्रदेश शिक्षा निर्देशनालयमा उपेन्द्रप्रसाद दाहाल, २ मा चूडामणि फुँयाल, ३ मा चन्द्रप्रसाद लुइँटेल, गण्डकी प्रदेश शिक्षा निर्देशनालयमा तिलक सिलवाल, ५ मा मनोज गैरे, कर्णाली प्रदेशमा भक्तबहादुर ढकाल र सुदूरपश्चिम प्रदेश शिक्षा निर्देशनालयमा दुर्गादत्त विष्टले जिम्मेवारी सम्हाल्नुभएको छ। प्रदेश नं १ का प्रमुख उपेन्द्रप्रसाद दाहालले राजीनामा दिइसक्नुभएको छ।

मन्त्रीका निजी सचिव ढकालको अटेरी

सरकारको निर्णय अटेर गर्दै सरुवा भएको स्थानीय निकायमा नगई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलका निजी सचिव रहनुभएका पुष्प ढकाललाई शिक्षा सचिव महेशप्रसाद दाहालले स्थानीय तहमै हाजिर गर्न जानुपर्ने स्पष्ट पार्नुभएको छ।

धनुषाको नगराइन नगरपालिकाका शिक्षा शाखा प्रमुखमा सरुवा भएका ढकाल मन्त्रीको शक्ति देखाउँदै सरुवा भएका कार्यालयमा हाजिर हुन जानुभएको छैन।

अघिल्ला शिक्षा सचिव खगराज बरालले समेत स्थानीय तहमै हाजिर गर्न जानुपर्ने बताउनुभएको थियो। भर्खरै शिक्षा मन्त्रालयमा सरुवा भएका सचिव दाहालले जसरी भए पनि स्थानीय तहमै हाजिर गर्न जानुपर्ने बताउनुभयो।‘उहाँले जान्छु भनिसक्नुभएको छ, चाँडै नै स्थानीय तहमा जानुहोला।’ –सचिव दाहालको भनाइ थियो।

स्रोतका अनुसार उपसचिव ढकाल नगराइन नगरपालिका नगई ललितपुरको गोदावरी नगरपालिका जाने तयारी गरिरहनुभएको छ। सो नगरपालिकामा शिक्षाका उपसचिव नभएका कारण गोदावरी जाने तयारी गर्नुभएको बताइएको छ।

मन्त्रीको अधिकांश काममा मुख्य सहयोगीको भूमिकामा रहेका ढकाल मन्त्रीकै निर्देशनमा धनुषा नगएको मन्त्रालय स्रोतले बतायो।

पदस्थापना भएका अन्य कर्मचारीलाई तत्काल सरुवा भएको कार्यालयमा हाजिर गर्ने दबाब दिने मन्त्रीको सचिवालयले, आफ्नै निजी सचिव सरुवा भएको स्थानीय तहमा जान्न भनेर जबरजस्ती गर्नु गलत भएको मन्त्रालयका अधिकारीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्