तरुण दलमा ‘कु’को नयाँ शैली अध्यक्षले महासचिव हटाउने महासचिवले अध्यक्ष



रामकृष्ण चापागाईं, काठमाडौं।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको शीर्ष नेताको भागबण्डाबाट छानिएका नेपाल तरुण दलका चार नेताबीच एकले अर्कोलाई कारबाही गर्ने होडबाजी चलिरहेको छ। अध्यक्ष र महासचिवले एकले अर्कोलाई कारबाही गरेको वक्तव्यबाजी गरेका छन्।

तीन दिनअघि अध्यक्ष जितजंग बस्नेतले पदीय मर्यादा, जिम्मेवारी र कांग्रेस तथा तरुण दलको आदर्श एवं सिद्धान्त विपरीत अनुशासनहीन कार्य गरेको आरोप लगाउँदै महासचिव भूपेन्द्रजंग शाहीलाई उक्त दलबाट हटाएको घोषणा गर्नुभएको थियो।

उहाँले तरुण दलको विधानको परिच्छेद १० को धारा ४४ को व्यवस्थाअनुसार कुनै सदस्य नरहने गरी हटाएको वक्तव्य सार्वजनिक गर्नुभएको थियो।

यस्तै महासचिव शाहीले एक पत्र जारी गरी अध्यक्ष बस्नेतलाई भ्रष्टाचारविरुद्ध लक्षित अख्तियार घेराउ कार्यक्रमलाई अन्तिम समयमा हठात् रोकेको दाबी गर्नुभएको थियो।

यसै गरी केन्द्रीय समिति बिस्तार नगरी लाखौं तरुण युवाको भविष्यमाथि खेलवाड गरेको, संगठनलाई आफूखुसी सञ्चालन गरेको र बाढीपीडितको नाममा संकलित लाखौं रुपियाँ भ्रष्टाचार र दुरुपयोग गरेको आरोप लगाउँदै एकवर्षका लागि निष्कासन गरिएको दाबी गर्नुभएको थियो।

स्मरणीय छ, कांग्रेसभित्रको गुट मिलाउन तरुण दलको कार्यसमिति ६१ बाट बढाएर ९५ सदस्यीय बनाइएको थियो। गएको महाधिवेशनमा कुरा नमिलेपछि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्काले सहमति गरी चारजना पदाधिकारी छान्नुभएको थियो।

यसअनुसार अध्यक्षमा सभापति देउवा पक्षका जितजंग बस्नेत, उपाध्यक्षमा नेता सिटौला पक्षका उत्तम चापागाईं, महासचिवमा वरिष्ठ नेता पौडेल पक्षका भुपेन्द्रजंग शाही र कोषाध्यक्षमा खुमबहादुर खड्का पक्षका नेता विधान गुरुङलाई चयन गरिएको थियो।

नेता बालकृष्ण खाँणको संयोजकत्वको निर्देशन समितिको पहिलो बैठकले बाँकी सदस्य छान्ने बताइए पनि उक्त महाधिवेशन भएको तीन वर्ष पुग्न लाग्दासम्म कुनै सदस्य चुनिएको छैन। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले उक्त विवाद मिलाउने प्रयास भइरहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्