जलवायु परिवर्तनको असर सतबाँझको स्याउ उत्पादनमा

विकल्पमा जैतुन खेतीको बिस्तार गरिँदै



विनोद सिंह विष्ट, बैतडी।स्याउका लागि प्रशिद्ध मानिएको बैतडीको सतबाँझमा जैतुन खेतीको बिस्तार गरिने भएको छ। सतबाँझमा गएको १२ वर्ष यतादेखि स्याउ फल्न छोडेको छ।

स्याउका लागि निकै प्रशिद्ध रहेको सतबाँझमा जलवायु परिवर्तनका कारण पछिल्लो समयमा स्याउ उत्पादन हुन छोडेको हो।

विसं.२०१९ सालमा स्थापना भएको बागवानी विकास केन्द्र २०६२ सालदेखि सुख्खा फलफूल विकास केन्द्रको नामले परिचित छ। सुख्खा फलफूल विकास केन्द्रले जिल्लामा जैतुन खेतीको विस्तार गर्ने तयारी गरेको सुख्खा फलफूल विकास केन्द्रका प्रविधिज्ञ अर्जुन खड्काले जानकारी दिँदै भन्नुभयो– ‘तेल उत्पादनका लागि जैतुन निकै प्रशिद्ध वनस्पति हो।’

किसानहरूलाई जैतुन खेतीमा आकर्षित गर्नका लागि सुख्खा फलफूल विकास केन्द्रले १ सय वटा जैतुनको माउ बोटसहितको नर्सरी बनाएको प्रविधिज्ञ खड्काले बताउनुभयो।

जैतुनको तेल बहुऔषधिका रुपमा समेत प्रयोग गरिने खड्काले बताउनुभयो। जैतुनको तेल खान, औषधिका रुपमा प्रयोग गर्न र अन्य कस्मेटिक सामग्रीहरूमा पनि प्रयोग गर्न सकिने भएकाले निकै महंगो हुने बताइएको छ।

जैतुनबाट कोलेस्ट्रोलरहित तेल उत्पादन हुने भएकाले यो औषधिका लागि उपयुक्त भएको उहाँको भनाइ रहेको छ।
६ केजी जैतुनबाट १ केजी तेल उत्पादन गर्न सकिने भएकाले यसको खेती बिस्तार भएमा किसानहरूको जीविकोपार्जनमा समेत सुधार हुने अपेक्षा गरिएको छ।

यसका साथै सुख्खा फलफूल विकास केन्द्रले काजुखेती, कागजी बदामलगायत बढी आम्दानी दिने खालका फलफूलका बिरुवा नर्सरीमा उत्पादन गरेको छ। सतबाँझमा स्याउ फल्न छाडेपछि जैतुन, कागजी बदाम, काजुलगायत फलफूलका बिरुवा उत्पादन गर्न थालिएको हो।

विसं.२०१९ मा सतबाँझको ५ सय ७५ रोपनी क्षेत्रफलमा स्याउ उत्पादन तथा प्रवद्र्धनका लागि स्थापना भएको सतबाँझ स्याउ नर्सरीको नाम स्याउको उत्पादन हुन छोडेपछि ‘सुक्खा फलफूल केन्द्र’ नामाकरण गरिएको हो।

जलवायु परिवर्तनका कारण मौसम, तापक्रम र वर्षाको मात्रामा हेरफेर भएपछि सतबाँझमा स्याउको उत्पादन न्यून हुँदै निमिट्यान्नै भएको थियो। यसैबीच बैतडीमा पहिलोपटक किसानलाई जैतुनको बिरुवा बितरण गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस्