उपलब्धि हासिल गर्न नसक्दा सङ्घीयता गुम्ने



काठमाडौँ ।   संविधानको मूलभूत मुद्दा सङ्घीयता, धर्म निरपेक्षता, समानता, समाजवादमाथि प्रहार भइरहेको भन्दै जनताको आकाङ्क्षाअनुसारको उपलब्धि हासिल गर्न नसक्दा सङ्घीयता गुम्ने खतरा औँल्याइएको छ ।

बिपी कोइरालाको १०६औँ जन्मजयन्तीका अवसरमा गान्धी अध्ययन तथा शान्ति केन्द्र, समता अध्ययन केन्द्रले आयोजना गरेको ‘लोकतन्त्रको चुनौती’ विषयको विचार गोष्ठीका वक्ताले राजनीतिक नेताहरुमा नैतिक मूल्यमान्यता खडेरीमा परेको तथा सोच पुरानो नै भएकाले जनताले चाहेको आमूल परिवर्तन हुन नसकेकाले बताएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता घनश्याम भुसालले राजनीतिक दलको अकर्मन्यताका कारण प्रजातन्त्र गुम्ने खतरा रहेको बताउँदै नेपाली काङ्ग्रेस र नेकपाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले देशको आर्थिक वृद्धि यो गतिले हासिल हुन नसक्ने भन्दै समाजवादबाट मात्र नेपालको समृद्धि हुने बताउनुभयो ।

गान्धी अध्ययन शान्ति केन्द्रका संस्थापक उपाध्यक्ष प्रदीप गिरीले जनयुद्ध, ओखलढुङ्गा, झापा काण्ड हुँदै नेपालको राजनीति यहाँ आइपुगेको बताउनुभयो । नेपालको संविधानमा भएको प्रावधानप्रति देशमा गहिरो असन्तोष रहेको बताउँदै उहाँले संविधानका सबै अंशीयार तथा लोकतन्त्रका संस्थाको न्यूनतम सहमतिविना संविधान घोषणा भएकाले लोकतन्त्र खतरामा रहेको धारणा राख्नुभयो ।

वरिष्ठ राजनीतिज्ञ डा कञ्चन झा, केन्द्रका अध्यक्ष दीपकुमार उपाध्याय, महासचिव शेखर गिरी तथा पूर्व राजदूत लोकराज बराल, डा उद्धब प्याकुरेललगायतका वक्ताले अहिलेको सरकारले देश चलाएको तरिकाले जनतामा असन्तुष्टि बढेको बताउनुभयो । उहाँले धेरैजसो व्यवस्था आफ्नै कारणले ढलेको बताउँदै व्यवस्था पनि आफ्नै कारणले ढल्ने बताउनुभयो ।
 रासस

प्रतिक्रिया दिनुहोस्