६७ वटा सुपथ मूल्य पसल सञ्चालनमा, पसलमा केके सामान पाइने?



न्युज अफ नेपाल, काठमाडौं । दशैं सुरु हुन २५ दिन बाँकी हुँदा सरकारले ६७ वटा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । अझै ६ वटा पसल खुल्ने तयारीमा छ ।

वाणिज्य मन्त्रालयका अनुसार खाद्य प्रविधि तथा व्यवस्था कम्पनी र साल्ट ट्रेडिङ्गबाट सञ्चालनमा आउनुपर्ने ७३ मध्ये ६ वटा खुल्न बाँकी रहेका हुन् । साल्ट ट्रेडिङ्गको तीन र खाद्य व्यवस्था कम्पनीको तीन गरी ६ वटा पसल सञ्चालनमा आउन बाँकी रहेको वाणिज्य विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।
प्रक्रियागत ढिलाईका कारण केही पसलहरु सञ्चालन प्रक्रियामा रहेको महानिर्देशक गौचनले बताए ।

साल्ट ट्रेडिङ्गका सुपथ मूल्य पसल हेर्ने सरोज नीधि तिवारीका अनुसार साल्ट ट्रेडिङ्गले सञ्चालनमा ल्याउने ३ पसल खुल्न बाँकी छन् । सरकारले साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दुग्ध विकास संस्थानले सञ्चालन गर्ने गरी देशभर ७३ वटा पसल सञ्चालन गर्ने निर्णय गरेको थियो ।

भदौ २३ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले रामशाह पथमा सुपथ मूल्य पसल उद्घाटन गरेका थिए । सोही दिनबाट उपत्यकामा ३ वटा पसल घुम्ती पसलसहित देशभर झण्डै ६० भन्दा धेरै सुपथ मूल्य पसल सञ्चालनमा आएका थिए ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ्गले पाँच दिनको ब्यापार हिसाव गरिनसकेको जनाएको छ । यता दुग्ध विकास संस्थानले भने रामशाह पथको सुपथ मूल्य पसलबाट उल्लेख्य मात्रामा ब्यापार भएको जनाएको छ । संस्थानका अनुसार उक्त पसलबाट दैनिक ५० लिटर घिउ र १० किलो पनिर बिक्रि भई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्