रोजगारीका लागी मलेसियामा जान पैसा नलाग्ने



काठमाडौं । नेपाली कामदारले अब शून्य लागतमा रोजगारीका लागि मलेसिया जान पाउने भएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल र मलेसिया सरकारबीच भएको श्रम समझदारीको भावनाअनुरुप मलेसिया रोजगारी नियमित गरी श्रम स्वीकृति दिन थालिएको हो।

मन्त्रालयले आज एक वक्तव्य जारी गर्दै दुवै देशबीच सम्पन्न समझदारीको पूर्ण कार्यान्वयन हुने गरी मलेसिया रोजगारी सञ्चालन गरिएको जनाएको छ । बाँकी रहेका प्राविधिक विषय टुङ्गो लगाउन यही भदौ २४ र २५ गते मलेसियाको पुत्रजयामा दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूहको बैठक बसेको थियो ।

मलेसिया कामदार पठाउँदा लाग्ने सेवा शुल्क, आउनेजाने हवाइ टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण शुल्क, सुरक्षा जाँच शुल्कलगायत खर्चबापत कामदारले कुनै पनि शुल्क लाग्ने छैन । सम्पूर्ण खर्च सम्बन्धित रोजगारदाताले नै व्यहोर्नेछ ।

करार अवधि ३ वर्ष लाई पनि घटाएर २ वर्ष कायम गरिएको छ । कामदारको पारिश्रमिक प्रत्येक महीनाको ७ गतेभित्र बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने र मलेसिया सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम नहुने गरी तलबभत्ता एवं सुविधा पाउने भएका छन् । अतिरिक्त समयमा काम गरेबापत थप पारिश्रमिक एवं सेवा सुविधा प्राप्त हुनेछ ।

नेपाली कामदार मलेसियाको विमानस्थलमा पुगेको ६ घण्टाभित्र गन्तव्यस्थलमा लैजानुपर्नेछ । यदि तोकिएको समयभित्र रोजगारदाताले कार्यस्थलमा लैजान नसकेमा श्रमिकले गर्नुपरेको खर्च रोजगारदाताले नै व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ ।

महिला कामदारका सम्बन्धमा विशेष ध्यान दिँदै थप सुरक्षा, संरक्षण र रेखदेख गर्नुपर्नेछ । त्यसैगरी कामदार र रोजगारदाताबीच श्रमसम्बन्धी कुनै विषयमा विवाद उत्पन्न भई मुद्दा विचाराधीन रहेसम्मका लागि मलेसियामै बस्न पाउने छन् । नेपाली श्रमिकले आफ्नो परिवारको निकटतम सदस्य ९बाबु, आमा, श्रीमान् वा श्रीमती, छोरा वा छोरी० को मृत्यु भएमा बढीमा १५ दिनका लागि स्वदेश आउन पाउने छन् । कार्यस्थलमा हुने कामदारको दुर्घटना बीमा र स्वास्थ्य बीमालाई मलेसियाको कानूनले कामदारका सन्दर्भमा लागू गरेको व्यवस्था नेपाली कामदारको हकमा पनि लागू हुनेछ ।

भविष्यमा मलेसिया सरकारले बीमासम्बन्धी नयाँ योजना लागू गरेमा सो योजना नेपाली कामदारलाई समेत लागू हुने व्यवस्था गरिएको छ । वैदेशिक रोजगारीका क्रममा रहँदा कामदारको अङ्गभङ्ग वा मृत्यु भएमा रोजगारदाताले नेपाली राजदूतावासलाई जानकारी गराउनुपर्नेछ । कामदारको मृत्यु भएमा शव नेपाल पठाउने जिम्मेवारी सम्बन्धित रोजगारदाताको हुनेछ ।

समझदारीपत्र अनुसार नेपाली कामदारलाई मलेसियाको श्रम कानूनबमोजिम समान तहमा काम गर्ने अन्य विदेशी कामदारलाई दिइए सरहको संरक्षण प्रदान गर्ने व्यवस्था गरिएको छ । दुवै देशका सरकारले आ–आफ्नो देशमा कामदार, रोजगारदाता र श्रमिक आपूर्तिकर्ताको कार्यको अनुगमन एवं नियमन गरी थप व्यवस्थित गर्नुपर्नेछ ।

रोजगारदाता कम्पनी विघटन भएमा वा रोजगारदाताले कामदारलाई दुव्र्यवहार गरेमा वा कुनै प्रकारको शारीरिक वा मानसिक हिंसा गरेमा वा रोजगारदाताले पूरा गर्नुपर्ने दायित्व पूरा नगरेमा कामदारले अर्को काम खोज्न पाउने अधिकार सुनिश्चित गरिएको छ । सम्झौता अवधि समाप्त भएपछि कामदारले रोजगारदाता छनोट गर्न सक्ने प्रावधान राखिएको छ ।

करार अवधि पश्चात कामदार नेपाल फर्कन पाउने र सोका लागि रोजगारदाताले हवाई टिकट उपलब्ध गराउनुपर्नेछ । नेपाली कामदारले आफ्नो राहदानीलगायत आफ्ना निजी कागजात आफैँसँग राख्न पाउने अधिकार सुनिश्चित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्