पाइपलाइनबाट इन्धन आपूर्तिले व्यवसायी हर्षित



न्युज अफ नेपाल, हेटौंडा । भारतको मोतिहारीबाट बाराको अमलेखगञ्जसम्म पाइपलाइनमार्फत् डिजेल आउन थालेपछि हेटौंडाका व्यवसायी हर्षित देखिएका छन् । ट्यांकरमार्फत् आउँदै गरेको इन्धन पाइपलाइनमार्फत् आयात थालिएपछि विभिन्न समस्या हल भएको भन्दै व्यवसायी खुशी भएका हुन् ।
बरौनी–हेटौंडा करिब २ सय ९३ किलोमिटर दुरीमा छ । लामो दुरीमा ट्यांकरबाट पेट्रोलियम पदार्थ ढुवानी गर्नुपर्दा इन्धन चोरी, सवारी दुर्घटना, सवारी जाम, पेट्रोलको गुणस्तर आदिमा समस्या देखिएका थिए ।
यस्ता समस्या समाधानका लागि पाइपलाइनले निकै महत्वपूर्ण भूमिका खेल्ने पेट्रोलियम बिक्रेता संघ मकवानपुर अध्यक्ष उत्सव इटेनीले बताउनुभयो । ‘यी समस्या समाधानका लागि सबभन्दा उत्तम विकल्प नै पाइपलाइन थियो, त्यो अब पूरा भएको छ,’ उहाँले खुशीसाथ भन्नुभयो । पाइपलाइनबाट इन्धन आउने भएपछि बाटोमा हुने चोरी र मिसावट समस्या समाधान हुने अध्यक्ष इटेनीको दाबी छ ।
‘पाइपलाइनले निगमको खर्च घट्ने, चुहावट रोकिने र द्रुतगतिमा इन्धन आयात हुने भएकोले यो देशकै हितमा हुनेछ,’ उहाँले भन्नुभयो । अमलेखगञ्जबाट करिब ६२ किलोमिटर लामो पाइपलाइन बनाउँदा चितवनको लोथरसम्म पुग्ने अध्ययनबाट देखिएकोले काम थाल्नुपर्ने उहाँको सुझाव छ ।
‘बरौनीबाट अमलेखगञ्जसम्म आएको परिमाणकै इन्धन चितवनसम्म लैजान सम्भव छ,’ इटेनीले भन्नुभयो । निगमले भण्डारण गृह निर्माणका लागि चितवनको लोथरमा खरिद गरेको २४ विघा ९ कठ्ठा २ धुर जमिनसम्म पाइपलाइन बिच्छ्याएर इन्धन भण्डारण गर्ने योजनासाथ काम अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयो ।
हेटौंडामा करिब ५ सय ट्यांकरमार्फत् तेल भित्रने गरेको संघले जनाएको छ । जसमा दैनिक ११ सय केलदेखि १ हजार २ सय केलसम्म हुने गरेको छ ।
व्यवसायी सिद्धिलाल श्रेष्ठ भन्नुहुन्छ–धेरै वर्षपछिको योजना सफल भएको छ । हामी व्यवसायी एकदम खुशी छांै । उहाँको २ वटा ट्यांकरले भारतबाट इन्धन ल्याउने काम गरिरहको थियो । ट्यांकरमार्फत् ल्याउँदा ढुवानी खर्च बढी हुने उहाँले गुनासो अब समाधान भएको छ । ‘अब त्यो खर्चबाट व्यवसायी मुक्त हुनेछन्,’ उहाँले भन्नुभयो–ढुवानी भाडा बचत हुन्छ र त्यसबाट उपभोक्तालाई नै फाइदा पुग्छ ।
व्यवसायी किशोरकुमार शर्मा भन्नुहुन्छ–पाइपलाइनले ढुवानी खर्च कम गरिदिएको छ । यसको फाइदा उपभोक्ताले पाउनुपर्छ । हेटौंडाका अर्का व्यवसायी मुरारीप्रसाद पुडासैनीका अनुसार पाइपलाइनबाट तेल ल्याउँदा प्रदुषण पनि नियन्त्रण हुनेछ । ‘मेरा ३ वटा ट्यांकर ओहोरदोहोर गर्दा वातावरणमा हुने प्रदुषण पाइपलाइनको प्रयोगसँगै घटेको छ,’ उहाँले भन्नुभयो ।
गत असारमा पाइपलाइनको काम सकिएको थियो । भारत सरकारको ४ अर्ब ४० करोड रुपियाँ सहयोगमा निर्मित पाइपलाइन मोतिहारीबाट ६९ किमी छ । जसमा नेपालतर्फ ३७ र भारततर्फ ३२ किलोमिटर पर्छ । पाइपलाइनबाट प्रतिघण्टा २ सय किलोलिटर पेट्रोलियम ल्याउन सकिने एनओसीले बताएको छ । यसबाट तेल भित्र्याउने ट्यांकरलाई नै हाल्नुपर्ने इन्धन जोगिएको छ ।
सन् २०१५ अगस्ट २४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष पहलमा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा र भारतीय पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानले परियोजनाको समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्