सुनकोसी गाँउपालिकाको ५ बर्षे आवधिक योजना निर्माण सुरु



लिला सुनुवार,ओखलढुंगा ।
विकासको ५ वर्षे खाका कोर्ने उद्देश्यले ओखलढुंगाको सुनकोसी गाउँपालिकामा आवधिक विकास योजना तर्जुमा गोष्ठी सुरु भएको छ । सुनकोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको केन्द्र मूलखर्कमा गोष्ठी सुरु भएको हो । गोष्ठीमा प्रतिनिधिसभा सांसद यज्ञराज सुनुवार, पूर्व सांसद रामहरि खतिवडा, जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठ, नेपाली कांग्रेसका सभापति प्रदीपकुमार सुनुवार, गाउँपालिका अध्यक्ष रुद्र अधिकारीलगायतको सहभागिता रहेको थियो ।

गोष्ठी उद्घाटन कार्यक्रममा बोल्दै सांसद यज्ञ राज सुनुवारले आवधिक योजना निर्माणले विकासको खाका कोर्न सहज हुने मत राखे । सम्बोधनकै क्रममा सांसद सुनुवारले ओखलढुंगा जिल्ला ठेकेदारहरु बाट पिडित जिल्ला भएको र असौज दोस्रो साता सम्ममा प्रशासन संग सहकार्य गरेर काम नगर्ने ठेकेदार हरुलाई कार्बाहीको प्रकृया अगाडी बढाउले प्रतिबद्धता समेत गरे । पूर्व सांसद खतिवडाले विकासमा हातेमालो गर्दै सबै एकजुट भएर अगाडि बढ्नुपर्ने धारणा राखे ।

कांग्रेस सभापति प्रदिप कुमार सुनुवारले जिल्लाको विकास टेलिभिजन र पत्रपत्रिकामा गफ गरेर मात्रै नहुने बताए । उनले विकासका लागि सबैको सक्रिय सहभागिता आवश्यकता रहेको औँल्याए । हामी बिकास योजना बनाउदा भुगोल र संकार लाई समेटन खोज्दैनौ त्यसैले स्थानिय स्तरमा दिगो बिकास हुन सकेन र अगामी दिनमा पनि भौगोलिक अबस्थाको अबलोकन गरेर भुगोल सुहाउदो योजना निर्माण गर्न सके मात्रै दिगो बिकास हुने कुरामा सभापति सुनुवारले जोड दिए । कार्यक्रममा बोल्दै सभापति सुनुवारले बर्तमान सरकारका प्रतिनिधिहरु बिकासमा भन्दा पनि सस्तो लोकप्रियताको लागी पत्रपत्रिका र सामाजिक सञ्जालमा प्रचार प्रसार गर्नमा ब्यस्त रहेको बताए ।

गाउँपालिका अध्यक्ष रुद्र अधिकारीले सुनकोसी गाउँपालिकाको आर्थिक, सामाजिक, भौतिकलगायतका क्षेत्रको समग्र विकासलाई ५ वर्षसम्म मार्गनिर्देश गर्नका लागि आवधिक योजना बनाउन लागिएको जानकारी दिए । सुनकोसी गाउँपालिकाको आवधिक योजना स्वीस सरकारको सहयोगमा तयार हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्