पर्यटकले भरिभराउ म्याग्दी (फोटोफिचर)

एक वर्षमा ७५ हजार पर्यटक



प्रताप बानियाँ, म्याग्दी ।

म्याग्दीमा गत आर्थिक वर्ष २०७५/७६ मा जिल्ला भ्रमण गर्ने विदेशी पर्यटकहरुको आगमन बढेको छ । विगतका वर्षको तुलनामा गतवर्ष म्याग्दी भित्रिने र बाहिरिने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो ।

गएको वर्षमा कुल ७५ हजार १ सय ९० जना विदेशी पर्यटकहरुले म्याग्दी जिल्लाको भ्रमण गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । कार्यालयका अनुसार म्याग्दी भ्रमणमा ४३ हजार ४ सय २८ जना पर्यटक भित्रिएका छन्भने ३१ हजार ७ सय ६२ जना पर्यटकहरु बाहिरिएका छन् । म्याग्दी भ्रमणमा भित्रिने र बाहिरिनेमा पुरुष ३६ हजार ६ सय ५ रहेकोमा ३८ हजार ५ सय ८५ जना महिला पर्यटकहरु रहेको प्रहरीले जनाएको छ ।

गतभन्दा अघिल्लो आर्थिक वर्ष ०७४/७५ मा कुल ७४ हजार १ सय ६३ जना पर्यटकले म्याग्दी भ्रमण गरेकोमा आर्थिक वर्ष ०७३/७४ मा ६९ हजार ८ सय १६ जना पर्यटक मात्रै म्याग्दी भ्रमणमा निस्किएका थिए । गत वर्षको पर्यटक आगमनको तथ्याङ्क अनुसार पछिल्लो समय म्याग्दी जिल्लामा भ्रमण गर्ने पर्यटकहरुको सङ्ख्यामा वृद्धि हुँदै गएको देखिन्छ ।

कुन महिनामा कति पर्यटक ? (आव ०७५/७६)

महिना                  पर्यटक सङ्ख्या
साउनः                   ३४४६
भदौः                      ३०९२
असोजः                  ९५३२
कात्तिकः                १४,२९७
मंसिरः                   ५०२०
पुसः                      ४३४२
माघः                    ४०४१
फागुनः                 ४९९०
चैतः                     १०,४५१
बैशाखः                 १०,००५
जेठः                      ४१४२
असारः                 १८३३
जम्माः                  ७५,१९०
पुरुषः                  ३६,६०५
महिलाः                ३८,५८५

स्रोतः जिल्ला प्रहरी कार्यालय, म्याग्दी ।

म्याग्दी जिल्लाको भ्रमण गर्न आउने पर्यटकहरु अधिकांश सडकमार्ग भएर आउने गरेका छन् । पर्वतको मालढुङ्गा हुँदै बेनी, पश्चिम म्याग्दीको दरबाङ, उत्तरी भूरुङ–तातोपानी नाका र हिमाली जिल्ला मुस्ताङ भएर म्याग्दीको भ्रमणमा पर्यटक आउँछन् ।

यसैगरी कतिपय पर्यटकहरु टे«किङ एजेन्सीमार्फत सिधै हवाई–मार्ग भएर जिल्लाको भ्रमणमा आउने गरेका छन्भने हिमालपारीको जिल्ला मनाङ हुँदै मुस्ताङबाट समेत पर्यटकहरु जिल्ला भित्रिने गरेका छन् ।

म्याग्दी होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष ताराप्रसाद आचार्य (बाबुराम)ले तथ्याङ्कमा पर्यटकहरु म्याग्दीको भ्रमणमा धेरै देखिए पनि जिल्लामा न्युन मात्रामा बस्ने गरेको बताउनुभयो । उहाँले पर्यटकको बसाई लम्ब्याउनका लागि आवश्यक पूर्वाधारहरुको निर्माण गरी पर्यटनमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

जिल्लामा रहेका विभिन्न पर्यटकीय, धार्मिक तथा ऐतिहासिक स्थलहरुको विदेशी पर्यटकहरुले भ्रमण गर्ने गरेका छन् । म्याग्दी भ्रमणमा आउने अधिकांश पर्यटकहरु घोरेपानी, पुनहिल, खोप्रालेक, महरेडाँडा, रुप्से झरना, संसारकै गहिरो अन्धगल्छी, राउण्ड धौलागिरि र अन्नपूर्ण पदमार्गमा ट्रेकिङ, धौलागिरि बेसक्याम्प तथा धौलागिरि–अन्नपूर्ण हिमाल आरोहण गर्न आउने गरेका छन् ।

यसैगरी सिङ्गा तथा भूरुङ–तातोपानीको कुण्डमा स्नान गर्न, पर्यटकीय क्षेत्र टोड्के, राखुभगवतीको रुइसे भेडीओढार, भकिम्लीको स्वर्गाश्रम, धार्मिक क्षेत्र गलेश्वर, पुलहाश्रम, जगन्नाथ एवं मालिका मन्दिरलगायत अन्य क्षेत्रको दर्शन गर्न र ती ठाउँबाट मनोरम दृष्यावलोकन गर्न पर्यटकहरु आउने गरेका छन् ।

म्याग्दीमा खासगरी अमेरिका, जर्मन, फ्रान्स, अस्टेलिया, स्वीजरल्याण्ड, न्युजिल्याण्ड, युक्रेन, ईटाली, क्रोएसिया, बेल्जियम, ईजरायल, डेनमार्क, क्यानडा, फिलिपिन्स, सिङ्गापुर, रोमानिया, जापान, मेक्सिको, स्वीडेन, आयरल्याण्ड, अर्जेन्टिना, स्पेन, ईण्डोनेसिया, रसिया, स्लोभाकिया र कोरियाबाट पर्यटकहरु आउने गरेको प्रहरीको भनाइ छ ।

म्याग्दी जिल्ला भ्रमण गर्नका लागि विदेशी पर्यटकहरु खासगरी चारओटा नाका भएर आउने गरेको म्याग्दीका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिनुभयो । म्याग्दीको सदरमुकाम बेनीबजार, कास्कीको घान्द्रुक हुँदै उत्तरी भूरुङ–तातोपानी, बागलुङको ढोरपाटन भएर पश्चिम म्याग्दीको दरबाङ क्षेत्र र हिमालपारीको जिल्ला मनाङ र मुस्ताङबाट समेत पर्यटकहरु म्याग्दी भित्रिने गरेको उहाँले बताउनुभयो । यी चारवटै क्षेत्रमा रहेका प्रहरी युनिटबाट पर्यटकको चेकजाँच र तथ्याङ्क राख्ने गरेको बताउँदै प्रनाउ मरासिनीले आपत्कालीन अवस्थामा तुरुन्तै पर्यटकहरुको उद्धार गर्ने गरिएको बताउनुभयो ।

फोटोफिचर

 

 

प्रतिक्रिया दिनुहोस्