टीभीएस स्वास्थ्यका लागि रमाइलो दौड सम्पन्न



नेपाल समाचारपत्र, काठमाडौं। नेपालको लागि टीभीएस टु–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले उपभोक्ता प्रवद्र्धन योजना टीभीएस दशैंको दौडकै एक हिस्सा स्वरूप आयोजना गरेको मनोरन्जक एवम् छोटो दूरीको दौड टीभीएस स्वास्थ्यको लागि रमाइलो दौड शनिबार काठमाडौंमा सम्पन्न भएको छ।

दर्ता शुल्क नलाग्ने यस दौडमा सर्वसाधरणलगायत विभिन्न चर्चित कलाकार, राजनैतिक व्यक्तित्व, खेलाडीको उत्साहजनक सहभागिता रहेको थियो।

रमाइलो दौड विहान ८ बजे नक्साल बाल मन्दिरबाट शुरू भई सिटी सेन्टर, कमलादी, पुतलीसडक, भृकुटीमण्डप, भद्रकाली, माइतीघर, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, दरबारमार्ग, नागपोखरी हुँदै टीभीएस शोरुम नक्सालमा पुगेर सम्पन्न भएको थियो।

दौडको प्रारम्भ गर्दैं खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले भन्नुभयो–‘यसप्रकारको छोटो दूरीको म्याराथन दौड आयोजना गरेर जगदम्बा मोटर्सले दौड्नु स्वास्थ्यको लागि कतिको लाभप्रद छ भनेर सन्देश दिन खोजेको छ।

स्वास्थ्य प्रति सजग गराउने लक्ष्यका साथ यसप्रकारको रमाइलो दौड आयोजना गरेकोमा म आयोजकलाई धन्यवाद दिन चाहन्छुँ। रमाइलो दौड प्रतियोगितामा सहाभगी भएका सबैजनालाई टीभीएस बाइक तथा स्कुटर खरिदमा हजार रुपियाँनगद पक्का छुट दिइने उपहार प्रदान गरिएको थियो भने प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका प्रतियोगीलाई क्रमशः ५० हजार २५ हजार र १५ हजार रुपियाँनगद पुरस्कार प्रदान गरियो।

उक्त रमाइलो दौडमा प्रथम स्थानमा नेपाल आर्मीका हरि रिमाल, द्वितीय स्थानमा नेपाल आर्मीका दीपक अधिकारी र तृतीय स्थानमा नेपाल आर्मीकै गजेन्द्र राई विजयी हुनु भएको छ।

शंकर ग्रुप प्रालि.का प्रबन्ध निर्देशक शाहिल अग्रवालले भन्नुभयो –‘सर्वप्रथम त म जगदम्बा मोटर्सले पहिलोपटक आयोजना गरेको यसप्रकारको रमाइलो दौडलाई सफल बनाउनमा तपाईंहरुले उत्साहजनक रूपमा सहभागी भई दिनु भएकोमा म कम्पनी व्यवस्थापनको तर्फबाट आभार व्यक्त गर्न चाहन्छु।

आगामी दिनमा पनि हामी तपाईं ग्राहकसँग प्रत्यक्ष सम्बन्ध राख्ने यसप्रकारको योजना सञ्चालन गरी नै रहने प्रण गर्दै आजका विजेता धावकलाई म बधाई समेत ज्ञापन गर्दछु।‘

प्रतिक्रिया दिनुहोस्