ज्येष्ठ नागरिकको सम्मान सभ्य समाजको पहिचान



रुद्रप्रसाद गौतम
संस्थापक, रुद्राञ्जु प्रतिष्ठान

काठमाडौंको कीर्तिपुरस्थित ट्याङ्लामा तीन वर्षअघि खुलेको रुद्राञ्जु प्रतिष्ठान त्यस क्षेत्रका वासिन्दाका लागि एक आकर्षणको केन्द्र बनेको छ– ६ करोडभन्दा बढीको घरजग्गा ज्येष्ठ नागरिकको शारीरिक तथा मानसिक विकासका लागि दान दिने काम एक दम्पतीले गरे भनेर मात्र स्थानीयले आश्चर्य मानेको होइन, त्यहाँ सहभागी हुने ज्येष्ठ नागरिकको संख्या बढेको र उनीहरूले सामाजिक जीवन पाएर प्रसन्नताको अनुभव गरेकोले पनि आकर्षणका साथ आश्चय बढेको हो। आखिर कुन प्रेरणाले यसका संस्थापक प्रा.डा. रुद्रप्रसाद गौतम ज्येष्ठ नागरिकका लागि यसरी समर्पित भएर किन लाग्नुभयो, जानकारीका लागि यहाँ प्रस्तुत छ उहाँसँग नेपाल समाचारपत्रका लागि गरिएको कुराकानीः

रुद्राञ्जु प्रतिष्ठान खोल्ने विचार कहिले कसरी आयो ? आफ्नो पारिवारिक र शैक्षिक पृष्ठभूमिसहित जानकारी गराइदिनुहोस्।

मेरो जन्म संखुवासभा चैनपुर भञ्याङ्खर्कमा भएको हो। काठको फलेकमा धुलो माटो हालेर बाँसको छेस्काले लेखेर ८ वर्षको उमेरमा अक्षरारम्भ गरेको मेरो शैक्षिक यात्रा २०३० सालमा चैनपुरकै सरस्वती माध्यमिक विद्यालयबाट एसएलसी, मोरङ जिल्लास्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगरबाट २०३५ सालमा स्नातक तह र २०३८ सालमा तत्कालीन कीर्तिपुर बहुमुखी क्याम्पस, काठमाडौँबाट स्नातकोत्तर तह र २०६३ सालमा त्रिभुवन विश्वविद्यालयबाटै पिएचडीको अध्ययन पनि पूरा गरें।

२०४२ सालको अन्यमा आफूले अध्ययन गरेकै ठाउँमा टिचिङ असिस्टेन्टका रूपमा प्रवेश गरी २०७० सालमा प्राध्यापकका रूपमा नियुक्ति पाई लगभग ३३ वर्ष सेवा गरेर २०७४ साल मंसिर १० गतेदेखि उमेरका कारण अनिवार्य अवकाश पाएको हुँ।

सीमित स्रोत साधन भएको राज्य होस् वा सामाजिक संस्था उसले स्वदेशी तथा विदेशी सहयोगको अपेक्षा गर्नु अनुचित होइन देश तथा समाज विकासका लागि तर उद्देश्य एउटा राखेर सहयोग लिने र आफ्नो स्वार्थका लागि काम अर्कै गर्ने परिपाटी र परम्परा बढ्दै गएर आम मानिसमा राज्य र संघसंस्था प्रति नकारात्मक धारणा बसेको छ।

सामाजिक सेवाको भावना तपाईंमा कसरी विकास भयो ?

सामाजिक काम गर्ने हामी दुबै दम्पतीको इच्छा निकै पुरानो हो। आफूसँग भएको सीमित सम्पत्तिको उपयोगिता के गर्दा बढी होला, के गर्ने, कसरी गर्ने भन्ने विषयमा समय मिल्दा सल्लाह गर्दथ्यौं तर निष्कर्षमा नपुगी काममा लागेपछि फेरि बिर्सिन्थ्यौं।

गरिब वालवालिकाका लागि केही गरौं भन्ने पनि लाग्यो, बुढाबुढीका लागि केही गरौं भन्ने सोच पनि थियो।

एउटा निश्चित रकम अक्षयकोषमा राखेर त्यसको ब्याजबाट के कति गर्न सकिन्छ गर्ने भन्ने निष्कर्षमा पुगेर जोहो गर्न थाल्यौं, बढी काम गरेर, आफूसँग भएको अन्यत्रको सम्पत्ति बिक्री गरेर, आफ्ना फर्मायस र फजुल खर्च घटाएर केही बचायौं।

लक्षको नजिक पुग्दै थियौँ परिस्थितिले नयाँ मोडलियो। श्रीमतीको स्वास्थ्य बिग्रिँदै गएका कारण सामाजिक कामको चस्को सेलाउँदै गयो। आम्दानी घट्दैगयो, खर्च बढ्यो।

बिरामीको अवस्था दिनप्रतिदिन कमजोर हुँदै गएको थियो तर पनि सकेसम्म बेलुकाको समयमा एकैछिन कहिले त्रिभुवन विश्वविद्यालयको खुला ठाउँमा घुम्न निस्कन्थ्यौँ त कहिले तलतिर झरेर चाँदनी चोक पुग्ने गर्दथ्यौँ।

दुबैतिर जाँदा देख्दथ्यौँ असजिलो गरी बसेर वा उठेर आफ्ना मनका बह पोखिरहनुभएका, भजन कीर्तनमा रमाउनु भएका, हावापानी प्रतिकूल हुँदा यत्रतत्र भागाभाग गर्दैगरेका आमाबुबा।

यस जन्ममा आमाबुबाका साथमा लामो समय बस्ने सौभाग्य नपाएकाले होला चसक्क मुटु छोयो लगातार केही दिनको यो दृष्यले। अर्धाङ्गिनी अन्जु शर्मा गौतम पनि आफ्ना होस् वा समाजका आमाबुबाप्रति संवेदनशील थिइन्।

एकदिन बाटैमा श्रीमतीसँग भनें, यसरी असजिलो परिस्थितिमा यहाँ जम्मा हुन बाध्य आमाबुबाका लागि हाम्रो घरको तल्लो तला खाली गरेर दियौं भने त हामीले ईच्छा गरेको सामाजिक काम पुरागर्न सकिनेजस्तो लाग्यो, सञ्चालन खर्च पनि खासै लाग्दैन होला।

उनले पनि प्रश्न वाचक तर सकारात्मक जबाफ दिइन्। केही समयपछि श्रीमतीको दुखद् निधन भयो, म एक्लै भएँ।

श्रीमतीको काजक्रियामै बसेकै अवस्थामा अब मैँले यो सोचलाई जतिसक्दो छिटो कार्यान्वयनमा लैजानु पर्दछ भन्ने विचार आयो। काम सकिनासाथ आफ्नो धारणा नबताइकन परिवार, साथीभाइसँग छलफल सुरु गरेँ यो भन्दा राम्रो अन्य विकल्प पाइन्छ कि भनेर।

अन्ततः भोकालाई खानाले जति उपयोगिता दिन्छ अघाएकालाई त्यही दिँदैन। यस प्रतिष्ठानको स्थापनाले यस क्षेत्रका ज्येष्ठ नागरिकहरूको भोकलाई थोरै भएपनि मेटाउने अनुमान गरिसकेकाले अरु विकल्पबाट भन्दा बढी उपयोगिता पाउने विश्वास गरेँ। यसरी रुद्रान्जु प्रतिष्ठान मेरो र श्रीमतीको नाममा खडा भएको हो।

भोकालाई खानाले जति उपयोगिता दिन्छ अघाएकालाई त्यही दिँदैन। यस प्रतिष्ठानको स्थापनाले यस क्षेत्रका ज्येष्ठ नागरिकको भोकलाई थोरै भएपनि मेटाउने अनुमान गरिसकेकाले अरु विकल्पबाट भन्दा बढी उपयोगिता पाउने विश्वास गरें।

प्रतिष्ठानको उद्देश्य के हो ?

रुद्रान्जु प्रतिष्ठानको विधानले निर्दिष्ट गरेअनुसार संस्थाको सामान्य उद्देश्य ज्येष्ठ नागरिकहरूको समग्र हित गर्नु हो भने यसका विशिष्ट उद्देश्यहरूमा ज्येष्ठ नागरिकहरूको हित हुने खालका कल्याणकारी कार्यहरू गर्ने, नैतिक शिक्षा, स्वास्थ्य चेतना, प्रवचन, सत्सङ्ग, भजन, ध्यान एवं योगाभ्यास लगायतका स्वच्छ मनोरञ्जनका कार्यक्रमहरू सञ्चालन गर्ने, ज्येष्ठ नागरिकहरूको हक, अधिकार तथा कर्तव्य एवं उनीहरूमाथि हुने गरेका दुव्र्यवहारबाट प्रतिरक्षा गर्ने सम्बन्धमा जनचेतना फैलाउने, ज्येष्ठ नागरिक र नयाँ पुस्ताका बीच अन्तत्र्रिmया आदिको आयोजना गरी ज्येष्ठ नागरिकका अनुभवलाई पुस्तान्तरण गर्दै लैजाने, संस्थाको क्षमता अभिवृद्धि गर्दै ज्येष्ठ नागरिक संरक्षण केन्द्र, कृयापुत्री भवन आदिको निर्माण तथा व्यवस्थापन गर्ने, राष्ट्रिय संस्कृतिको प्रवर्धन तथा जगेर्ना गर्न विभिन्न क्रियाकलापहरू गर्ने–गराउने, गरिब तथा असहाय बालबालिकाहरूको शिक्षाका लागि आवश्यक सहयोग गर्ने, समाजको आवश्यकताअनुरूप छापा तथा श्रव्यदृश्य लगायतका विद्युतीय शैक्षिक सामग्रीहरूको व्यवस्थापन गर्ने प्रमुख छन्।

प्रतिष्ठान सञ्चालनको प्रक्रिया कस्तो छ ?

प्रतिष्ठानको उचित व्यवस्थापन तथा सञ्चालनका लागि जुझारु स्थानीय समाजसेवीहरू रहेको पाँच पदाधिकारी र चारजना सदस्य रहने गरी एक सञ्चालक समिति गठन भएको छ।

मैले संरक्षकको भूमिका निर्वाह गरिरहेको छु। हरेक महिनाको अन्तिम शनिवार नियमित र आवश्यकताअनुसार कार्यसमितिको वैठक बसेर आवश्यक निर्णय गर्ने र पारित नीति नियमका अधिनमा रही कार्य गर्ने व्यवस्था मिलाइएको छ।

आर्थिक पारदर्शितालाई संस्थाको गहनाको रूपमा लिएर नेपाल सरकारले तोकेका आर्थिक नियम, कानुनको अधिनमा रही आमदानीलाई बैँक खातामा जम्मागरी चेक मार्फत मात्र खर्च गर्ने व्यवस्था गरिएको छ।

संस्थामा रहेका दान पेटिकामा रहेको भेटी सञ्चालक समितिका पदाधिकारी र संरक्षक समेतको उपस्थितिमा गन्ति गरेर बैँक दाखिला गर्ने गरिएको छ भने अन्य रकमका हकमा (रु. पाँचसय वा सोभन्दा माथि) नगदी रसिद काट्ने गरिएको छ र सोभन्दा कम रकम दान पात्रमा राख्ने नियम बसालिएको छ।

प्राप्त भएको जिन्सी सहयोगलाई सञ्चालक समितिको वैठक बसेका समयमा तत्कालिन बजार भाउका आधारमा मूल्याङ्कन गरी नगदमा परिणत गर्ने गरिएको छ।

दाताहरूबाट कुनै पनि शीर्षकमा एकै पटक वा पटक–पटक गरी प्राप्त भएको कुल नगद वा जिन्सी सहयोगलाई फ्लेक्समा छपाई हरेक वर्ष गंगा दसहराका दिन (नवनिर्मित शिव पाञ्चायन मन्दिरको वार्षिक उत्सवका दिन) संस्थामा सबैले देख्ने गरी राख्ने कामको थालनी गरिएको छ भने रु ५००० वा सो भन्दा माथि सहयोग गर्ने दाताहरूको नाम संस्थाको निर्माणाधिन बहुउपयोगी सत्सङ्ग भवनमा लेखिने प्रतिवद्धता पनि गरिएको छ।

निश्चित उद्देश्य किटान गरी राखिएका अक्षयकोषबाट प्राप्त व्याज सम्बन्धित शीर्षक अन्तरगत नै खर्च गरिएको छ।

हामी नेपाली– सरकारदेखि साना गैसससम्म विकास–निर्माणका लागि विदेशी दातृ निकायसँग भरपर्छौं, ६ करोडभन्दा बढीको घरजग्गा दान गर्ने तपाईंजस्ता व्यक्ति त नेपालमै रहेछन् नि ?

सीमित स्रोत साधन भएको राज्य होस् वा सामाजिक संस्था उसले स्वदेशी तथा विदेशी सहयोगको अपेक्षा गर्नु अनुचित होइन देश तथा समाज विकासका लागि।

तर उद्देश्य एउटा राखेर सहयोग लिने र आफ्नो स्वार्थका लागि काम अर्कै गर्ने परिपाटी र परम्परा बढ्दै गएर आम मानिसमा राज्य र संघसंस्था प्रति नकारात्मक धारणा बसेको छ त्यो चाहिं सम्बन्धित नियमनकारी निकायको कमजोरीका कारण मात्र सम्भव भएको जस्तो लाग्दछ।

जहाँसम्म दानको कुरा छ यो भन्दा धेरै दान गर्ने पनि नभएका होइनन् र मैले जसरी नै आफ्नो सम्पूर्ण सम्पत्ति संस्थालाई दिएर आफू सोही संस्थाको रेखदेखमा बसेका पनि धेरै खवरहरू पढ्न, सुन्न पाइएकाले म आफूमात्र दानी हुँ भन्ने पक्षमा छैन।

रुद्राञ्जु स्थापना गर्ने निर्णय तपाईंको परिवारमा कति लोकतान्त्रिक तरिकाले भयो ? कि तपाईंको एकल निर्णय हो ?

सारै असजिलो प्रश्न राख्नुभयो। हाम्रा सामु रहेका र हामीले प्रतिनिधित्व गरेका अधिकांश संघ–संस्थामा तय भैसकेका निर्णयलाई कानुनी मान्यता दिनका लागि लोकतान्त्रिक अभ्यास भएको देखाउन सभा–भेला बोलाउने गरिन्छ आम रूपमा।

मेरो रुद्रान्जु स्थापना गर्ने निर्णयलाई पनि मैले त्यस्तै ठानेको छु। एउटा सामाजिक संस्था स्थापना गर्ने निर्णय श्रीमती र मेरा बीचमा भैसकेको थियो।

परिस्थिति अनुकूल नभएर मात्र कार्यान्वयन हुन सकेको थिएन। श्रीमतीको देहावसान पछि परिवारमा मैले पनि आफ्नो निर्णय नसुनाईकन अब के गर्ने भन्ने प्रश्न राखें, तर आफ्नो सोचसँग मिल्ने सुझाव नआएपछि हामी दम्पतीका बीच यस्तो सल्लाह भएको थियो।

तपाईंले अर्थशास्त्रमा पीएचडी गर्नुभयो, तर आलेखमा भन्नुहुन्छ– ‘ज्ञानीका लागि ज्ञान ठूलो, ज्ञान नहुनेहरूका लागि भगवान ठूलो’, तपाईंका लागि चाहिं के ठूलो हो ?

तपाईँको यो प्रश्न मार्मिक र सान्दर्भिक छ किनकि एउटा अर्थशास्त्रको विद्यार्थीले माग, आपूर्ति, उत्पादन, वितरण, उपयोगिता आदिका कुरा गर्नुपर्ने हो, बजेट र आर्थिक विकासका कुराहरूसँग जोडिनु पर्ने हो तर अध्यात्मक्षेत्रले गर्नुपर्ने ज्ञान र भगवान्का कुरा किन ?

हामी मानवजातिमा म ठूलो भन्ने होडबाजी छ तर मैले धेरै घोत्लिएर बिचार गर्दा ठूलोको फेद तथा टुप्पो कुनै भेटिनँ र परोपकारी व्यक्ति नै सबैभन्दा ठूलो देखेँ।सायद यहाँले अध्ययन गर्नुभएको मेरो आलेखको निष्कर्ष पनि त्यही थियो।

कमाउन नसक्ने अवस्था भएपछि मात्र सहाराका रूपमा भगवान् सम्झने र लिएर जाने सम्पत्ति जोड्न नसकेकामा पछुताउने रहेछौं। मलाई दुई वर्ष यस संस्थामा आदरणीय आमाबुबासँगका अन्तरक्रियाले सिकाएको पाठ यही हो।

तपाईं मानव सबै एकै हो भन्नुहुन्छ, हाड–मासु–छाला–रगतले बनेको जीव मान्नुहुन्छ, तपाईंको प्रतिष्ठानमा जातिगत विभेदरहित सहभागिता कसरी सुनिश्चित गर्नुभएको छ ?

भगवान्मा पनि सर्वश्रेष्ठ मानिएका र पाँच मुख भएका शंकरले त सबै काम एक्लै गर्न नसकेकाले अरु देवी–देवताको आराधना गरी उनीहरूको सहयोग लिएको कथा–प्रसङ्ग हामीले पढ्ने, सुन्ने र सुनाउने गरिआएका छौं भने हामी मानवजातिले आपसमा विभेद छैन भन्दाभन्दै पनि सबैथोक पूरा गर्नसक्ने कुरा भएन।

जहाँसम्म प्रतिष्ठानमा सहभागिताको कुरा छ त्यहाँ विधानले नै निर्दिष्ट गरेका सीमाभित्र रहेर संस्थाका गतिविधिमा बाँधिनु म र कार्यसमितिको कर्तव्य हुनजान्छ।

यस संस्थाको विधानले नै स्पष्ट शव्दमा सनातन हिन्दूधर्मलाई अंगीकार गर्ने प्रतिवद्धता जनाएकाले त्यसलाई शिरोधार्य गरेर संस्थाका गतिविधि अगाडि बढेका छन्।

यस संस्थाका गतिविधिमा सहभागी हुन आउने जो कोहीलाई पनि समान रूपले निशुल्क सहभागी हुनपाउने व्यवस्था छ।

प्रतिष्ठानमा ज्येष्ठ नागरिकको मानसिक र शारीरिक स्वास्थ्यका लागि के कस्ता कुरामा कसरी ध्यान दिइएको छ ?

मानिसको मानसिक तथा शारीरिक स्वास्थ्यका कुरा उमेरअनुसार फरक पर्ने रहेछन्।

ज्येष्ठ नागरिकले आफ्नो युवा तथा प्रौढा अवस्थामा गरेअनुसारका कामहरू गर्न नसक्ने र उमेर छिपिंदै जाँदा आध्यात्म क्षेत्रतिर बढी अकर्षित हुने भएकाले उहाँहरूलाई आध्यात्मिक कथा, प्रवचन, भजन, कीर्तन आदिले बढी आकर्षण गरेकाले नियमित दिनको दुई घन्टा (एक बजेदेखि तीन बजेसम्म) यी कामहरू गर्ने गरिएको छ भने समय समयमा अतिरिक्त क्रियाकलापका माध्यमबाट उहाँहरूका अनुभव, प्रतिभा आदिलाई बाहिर ल्याएर सक्रिय बनाउने प्रयास गरिएको छ।

लगभग १० बजेदेखिको आपसी भेटघाट र विचार साटासाटले एक्लो भएको अनुभव गर्नुपरेको छैन। घरदेखि प्रतिष्ठानसम्म आउने जाने कार्यले शारीरिक रूपले केही सवल भएको अनुभव सबैले गर्नुभएको छ।

साथै समय समयमा संस्थाले आयोजना गरेका स्वास्थ्य चेतना कार्यक्रम, स्वास्थ्य परीक्षण आदिबाट पनि निकै लाभान्वित हुनुभएको छ।

प्रतिष्ठानका चुनौतीहरू के देख्नुभएको छ ? यसमा यसो गर्नुपर्ने रहेछ भन्ने केही नयाँ पाठ सिकियो कि ?

खासै चुनौतीको सामना गर्नुपरेको छैन, एक बहुउपयोगी सत्सङ्ग भवन आवश्यक देखियो, लगभग तीन हजार तीन सय वर्गफिट क्षेत्रफलको भवन निर्माणको काम सुरु गरिएको भएपनि आर्थिक स्रोतको अभावका कारण सोचेअनुरूप प्रगति भएको छैन।

सो भवन पूरा गर्नका लागि आआफ्नो क्षेत्रबाट नगद तथा निर्माण सामग्री सहयोग गर्न अपिल पनि गर्दै आएका छौं।

अन्त्यमा तपाईंको केही भन्नु छ कि ?

मानव जीवनमा दुई खालका सम्पत्ति कमाइँदो रहेछ। एउटा छाडेर जाने र अर्को लिएर जाने।

हाम्रो अथक प्रयास र अधिकांश समय लिएर जानेलाई भन्दा बढी छाडेर जाने सम्पत्ति जोड्नमा हुने रहेछ।

उमेर ढल्किँदै गएपछि अर्थात कमाउन नसक्ने अवस्था भएपछि मात्र सहाराका रूपमा भगवान् सम्झने र लिएर जाने सम्पत्ति जोड्न नसकेकामा पछुताउने रहेछौं।

मलाई दुई वर्ष यस संस्थामा आदरणीय आमाबुबाहरूसँगका अन्तरक्रियाले सिकाएको पाठ यही हो।

त्यसैले म आम पाठकहरू समक्ष यो वा त्यो संस्था भन्नुभन्दा पनि सामाजिक काममा आफ्नो गच्छेअनुसार धेरथोर सहयोग र सहभागिता जनाउन ढिला नगरौं।

सन्ततीलाई ज्येष्ठ नागरिकको सम्मान गर्नुपर्ने पाठ सिकाऔं, यसो भयो भने मात्र हाम्रो पनि बृद्ध अवस्थामा सम्मान हुनेछ। सम्मानभावले ओतप्रोत समाज नै सम्य कहलिने सर्वविदित छ।

प्रतिक्रिया दिनुहोस्