मुलुकमा इमानदार कर्मचारीको खाँचो छैन



नारायण अधिकारी
प्रमुख कार्यकारी अधिकृत
एकाउन्टविलिटी ल्याब नेपाल

मुलुकमा सुशासन कायम राख्न हरेक क्षेत्रबाट पहल भएपनि सुशासन कायम हुन नसकेको भन्दै विभिन्न कोणबाट राज्य तथा गैरराज्यप्रति लान्छना लाग्ने गरेको छ। एकाउन्टविलिटी ल्याबले मुलुकमा शुशासन कायम गर्नका लागि इमान्दार कर्मचारीलाई पुरस्कृत गर्दै आएको छ। विगत ६ वर्षदेखिको श्रृखला जारी छ। यस पटक पनि सो संस्थाले इमान्दार राष्ट्र सेवकलाई उत्कृष्ट कर्मचारीको रूपमा घोषणा गर्दै छ। सोही सेरोफेरोमा रहेर एकाउन्टविलिटी ल्याब नेपालका प्रमुख कार्यकारी अधिकृत तथा इन्टेग्रिटी आइकन अभियानका शुरुआतकर्ता नारायण अधिकारीसँगको कुराकानीको सारसंक्षेप ः

सरकारले उत्कृष्ट निजामती कर्मचारी नभेटिएको भन्दै सरकारी कर्मचारीको आलोचना गरिहरेको बेला तपाईंहरूले यसपटक पनि ईन्टेग्रिटी आईकन छनोट गर्दै हुनुहुन्छ। यसको मुख्य उद्देश्य के हो ?

केही राष्ट्रसेवक कर्मचारी आफ्नो निष्ठालाई जोगाएर उत्कृष्ट नतिजा ल्याइरहेका छन्। संरचनाभित्र रहेर अहोरात्र खटिने कर्मचारी, जसले केही सृजनात्मक अनि नयाँअभ्यासको थालनी पनि गरेका छन्। तर, ती उदाहरण देखिएका छैनन्।

सतहमा सबैले देख्ने भनेको भ्रष्टाचार, ढिलासुस्ती र सेवाग्राहीले पाउने दुःखका कथा र सेवाग्राहीको सरकारी संयन्त्रप्रतिको आक्रोस र नैराश्यता मात्र हो। हामीले चाहेको सुशासन अनि सदाचारयुक्त सार्वजनिक संयन्त्र निर्माण कसरी होला भन्ने साझा प्रश्नको जवाफ खोज्दै थियौं।

जवाफ खोज्दै गर्दा, नकारात्मक बाटोले गन्तव्यमा पुर्याउँदैन भन्ने निश्कर्षमा पुग्यौं। सरकरी संयन्त्र सुधारमा अबको आवश्यकता भनेको सकारात्मकताको खोजी हो।

सकारात्मक अभ्यासलाई प्रोत्साहन गर्नु हो र सकारात्मक विषयमा बहस हुनु हो भनेर सन् २०१४बाट ईन्टेग्रिटी आईडल नेपाल नामबाट यो अभियान शुरू गरेका थियौ।

पक्कै पनि अभियानको शुरुआत गर्दा कसैले पत्याएका थिएनन्। प्राय सबैले भन्ने गरेका थिए, निष्ठा र सदाचार कहाँनै छ र ? त्यसमाथि सार्वजनिक सेवामा त यो सम्भव हुनै सक्दैन? पहिलो वर्ष जोखिम मोलेरै केही उदाहरण दृष्टान्तको रूपमा बाहिर ल्यायौं।


छैठौं वर्षमा आइसकेपछि यसको नाम नै परिवर्तन गर्नुभएछ नि किन ?

यस अभियानले छोटो समयमा आम नागरिकमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ। सन् २०१४ मा नेपालबाट हामीले शुरू गरेको अभियान आज विश्वका नौ वटा देशमा विस्तार भएको छ।

एउटा देशबाट शुरूभएको अभियान विश्वव्यापी हुँदैगर्दा एउटा साझा पहिचानसहितको छुट्टै नाम पनि चाहिन्छ भन्ने महसुस भइसकेपछि ईन्टेग्रिटी आईडलबाट नाम परिमार्जन गरी ईन्टेग्रिटी आईकन गरिएको हो।

अबको परिमार्जित नाम ईन्टेग्रिटी आईकनले आफ्नो छुट्टै विशेषतासँगै नाम अनि पहिचान पनि फरक रहेको सुनिश्चितता गरेको छ।

नामसँगै यस अभियानको ढाँचामा पनि कुनै परिवर्तन भएको हो कि ?

विगतका वर्षजस्तै ईन्टेग्रिटी आईकनले पनि आम नागरिकले छानेका इमानदार सरकारी कर्मचारीलाई आमनागरिक समक्ष चिनाउने कार्यलाई निरन्तरता दिनुका साथसाथै अन्य प्रभावकारी कार्यक्रम जस्तै– ‘युवा लक्षित ईन्टेग्रिटी फेलोसिप, जसलाई हामी पब्लिक सर्भिस फेलोसिप पनि भन्छौं।

सार्वजनिक सेवामा काम गरेको अनुभव पाँच वर्षभन्दा कम भएका युवा कर्मचारीका लागि ईन्टेग्रिटी स्कुल, भिजुअल स्टोरी टेलिङ र सार्वजनिक सेवामा निष्ठालाई कसरी संस्थागत गर्न सकिन्छ भनेर शुरू गरिएको संवादमूलक कार्यक्रम ईन्टेग्रिटी समिटलगायत अन्य नयाँअभ्यासलाई निरन्तरता दिँदै आएको छ।’

आजको यो अभियान उद्देश्य प्राप्तिको हिसाबले कुन विन्दुमा आइपुगेको छ ? अनि तपाईंले सोचेको लक्ष्य पूरा हुन्छ त ?

जुन सेवाग्राहीले विगतमा सरकारी कर्मचारी र सरकारी सेवा प्रति नकारात्मक टिप्पणी गर्दथे, आज तिनै सेवाग्राहीले देशका कुनाकुनाबाट राम्रो सेवा प्रवाह गर्ने इमानदार कर्मचारीलाई कदर गर्नुपर्छ भनेर मनोनयन गर्दैछन्।

जुन कर्मचारी यस अभियानमार्फत आम जनमानसमा चिनिएका छन्। उनिहरूलाई असल काम गर्न नैतिक दबाव दिनुका साथै थप जिम्मेवार बनाएको छ।

यस अभियानमार्फत आम जनमानसमा चिनिनु भन्दा अगाडि र पछि सेवाग्राहीको उनीहरूप्रतिको अपेक्षा र उनीहरूले सेवाप्रवाहमा ल्याएको सकारात्मक परिवर्तनले पनि त्यो देखाउछ।

सम्बन्धित मन्त्रालय तथा विभागले विश्वास गरेर उनीहरूलाई महत्वपूर्ण जिम्मेवारी सुम्पिएको छ। यसै अभियानमार्फत सार्वजनिक संयन्त्रभित्र सदाचारिता संस्थागत हुनुपर्छ भन्ने विषयमा बहस शुरू भएको छ।

महत्वपूर्ण कुरा, सरकारी सेवा प्रति वितृष्णा बोक्ने हजारौं युवा यस अभियानसँग प्रत्यक्ष जोडिएको देख्दा, जुन उद्देश्य लिएर यो अभियान शुरू गरेका थियौं। आज त्यो उद्देश्य प्राप्तिको सही बाटोमा छौं भन्ने लागेको छ।

अहिले देशको समग्र अवस्था हेर्दा यसको आवश्यकता अझै टड्कारो देख्न थालिएको छ। यो एउटा अभियान हो। त्यसैले लक्ष्यमा पुग्न समय लाग्छ तर, असम्भव छैन भन्ने देखिएको छ।

अहिलेको चुनौती चाहीँ के हो ?

पहिलो चुनौती भनेको, सार्वजनिक जिम्मेवारी धारण गरेको व्यक्तिको आचरणमा प्रश्न उठ्नु र ठिक आचरण भएका व्यक्तिको सही मूल्यांकन नहुनु, दोस्रो सार्वजनिक सेवामा सुशासनको टड्कारो अभाव, तेस्रो, सकारात्मक भन्दा नकारात्मक प्रवृत्तिले प्रश्रय पाउनु, चौथो इमानदार कर्मचारी, यस्तै त हो भनेर निरास हुनु, पाँचौं युवा जमात सार्वजनिक सेवा भन्दा विदेश र अन्य पेसा चाहने, अन्तिम अनि सबै भन्दा ठुलो समस्या चाँहि, नियम कानुन, संस्था भए पुगिहाल्छ नि, किन व्यक्ति विकास र उत्प्रेरणामा लाग्नु पर्यो भन्ने र समाजमा भ्रष्टाचारलाई सहजै स्वीकारी दिने।

ईन्टेग्रिटी आईकन जस्तो अभियानले सुशासन र जवाफदेहिता प्रवद्र्धन गर्न टेवा पुर्याएको जस्तो लाग्छ तपाईंलाई र कसरी ?

सार्वजनिक प्रशासन भित्रै पनि सुशासन र जवाफदेहिता कायम गर्न ऐन, नियम र कार्यविधि प्रयाप्त मात्रामा बनेका छन्। तर, नियम कानुनले मात्र सुशासन र जवाफदेहिता कायम गर्न सकिन्छ भन्ने होेइन।

यो त नियम कानुन कार्यान्वयन गर्ने व्यक्तिको आचरण र इच्छाशक्तिमा भर पर्ने कुरा रहेछ। खराब आचरण भएका व्यक्तिहरू सुशासन कायम गर्ने सबालमा कुनै चुनौती सामना गर्नै चाहँदैनन्।

कुनै चुनौतीको सामना गर्न चाहे पनि त्यसपछि आइपर्ने दबावलाई सहन गर्न सक्ने सामथ्र्य उनीहरू राख्दैनन्। तर, असल आचरण भएका व्यक्तिसंँग सुशासन कायम गर्न जस्तोसुकै परिस्थितिको सामना गर्ने साहस हुँदोरहेछ।

यस अभियानले त्यस्तै असल आचरण भएका कर्मचारीका लागि साझामञ्च तयार गरिदिएको छ। जहाँउनीहरूले अनुभवसँगै आफूले थालनी गरेका उत्कृट अभ्यास साटासाट गर्दैछन्।

साथसाथै उनीहरू सुशासन कायम गर्ने दृढ इच्छा शक्तिलाई अझंै दुगुना चौगुना बनाउँदैछन्। अर्कोतर्फ उनीहरूले –‘एक जना व्यक्तिले चा≈यो भने सुशासन कायम गर्न सम्भव छ भनेर उदाहरण प्रस्तुत गरिरहेका छन्।

जसले गर्दा सरकारी सेवामा आउने नयाँपुस्ताले पनि उनीहरूले थालनी गरेका अभ्यासलाई मानकको रूपमा लिन थालेका छन्।’ समग्रमा भन्दा उनीहरू सुशासन र जवाफदेहीता कायम गर्न लागिपरेका एक्ला योद्धा थिए।

यस अभियानमार्फत उनीहरूले एउटै उद्देश्य बोकेका आफूजस्तै थुप्रै सारथि भेट्याएका छन्। अझ भन्नुपर्दा, यो अभियानले नर्मस परिवर्तन गरेको छ।

ईन्टेग्रिटी आईकनबाट कस्ता कस्ता व्यक्ति आएका छन् त ?

यस अभियानमार्फत ओहोदाको हिसाबले कार्यालय सहयोगीदेखि दुर्गममा स्वास्थ्य सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मी, दुर्गमलाई शिक्षित बनाउने शिक्षक, स्थानीय तहमा चुस्त प्रशासन कायम गर्ने कर्मचारी, किसानको खेतबारीमा निरन्तर खट्ने कृषिको कर्मचारी, सामुदायिक वनका सदस्यसँग हातेमालो गर्दै वन विकास गर्ने फरेस्टरदेखि जिल्लामा शान्ति सुव्यवस्थापन गर्ने प्रमुख जिल्ला अधिकारी र केन्द्रमा नीति निर्माण र अनुगमन तहमा उदाहरणीय काम गर्ने राष्ट्र सेवक आएका छन्।

त्यसै गरेर, भौगोलिक हिसाबले पश्चिममा मुगु, कालिकोटदेखि कैलाली, बर्दिया, गुल्मी, म्याग्दी, तनहुँ, पूर्वमा इलाम पाँचथर, भोजपुर, खोटाङ, मोरङ, धनुषा र केन्द्रमा काठमाडांैलगायतका जिल्लाका कर्मचारी हरेक वर्ष उत्कृष्ट पाँचमा परेका छन्।

तर छैठौं वर्षमा आइपुग्दा प्रायः देशका सबै जिल्लाबाट सबै तह तप्काका कर्मचारी यस अभियानसँग जोडिसकेका छन्। यति भन्दै गर्दा अँझै तमाम निष्ठावान कर्मचारी उदाहरणका रूपमा बाहिर आउन बाँकी नै छ।उनीहरूलाई बाहिर ल्याउन सबैसँग सहयोगका ेलागि अनुरोध पनि गर्दछौं।

तपाईंहरूले थालनी गरेको अभियानले राष्ट्रियमात्र नभएर विश्वव्यापी पहिचान बनाउँदैछ। यस्तो ठूलो अभियान कसरी सफल हँुदैछ?

पक्कै पनि अभियानको शुरुआत गर्दा कसैले पत्याएका थिएनन्। प्राय सबैले भन्ने गरेका थिए, निष्ठा र सदाचार कहाँनै छ र ?

त्यसमाथि सार्वजनिक सेवामा त यो सम्भव हुनै सक्दैन? पहिलो वर्ष जोखिम मोलेरै केही उदाहरण दृष्टान्तको रूपमा बाहिर ल्यायौं। सरकारी सेवाभित्रका सदाचारयुक्त व्यक्तिलाई उनीकै सेवाग्राहीले छानेर सम्मान गर्ने र सम्मानित हुने अनुभव नयाँथियो।

केही राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार माध्यमले समाचार छापे। यसले सामान्य बहसको शुरुआत गर्यो। विभिन्न तहतप्कामा सकारात्मक शुरुआत भयो भनेर यस अभियानलाई स्वीकार गरियो।

दोस्रो अनि तेस्रो संस्करणमा आइपुग्दा यस अभियानले सार्वजनिक क्षेत्रमा सुशासन र जवाफदेहिता कायमगर्न सहयोग गर्छ भन्ने उदाहरण प्रस्तुत गर्न सफल भयो।

छानिएका व्यक्तिले अवलम्बन गरेका अभ्यास वास्तवमै अरुका लागि प्रेरणादायी थिए र अध्ययन, अनुसन्धान, खोजका विषय बने। उनीहरू आम जनमानसमा प्रस्तुत भइसकेपछि सेवाग्राही र स्वयं सम्बन्धित विभाग अनि मन्त्रालयले उनीहरूमाथि गरेको विश्वासले अँझै यस अभियानको सार्थकतालाई प्रमाणित गर्दै गयो।

हजारौं युवाहरू यस अभियानको प्रवर्धनमा स्वस्फूर्त स्वयंसेवी भएर सहभागी भए। अन्तराष्ट्रिय समाचार माध्यमले समाचार छापेपछि, शुरूमा लाईबेरीयाले पनि यसको आवश्यकता महसुस गर्यो र सन् २०१५ मा उसले पनि यो अभियान सञ्चालन गर्यो।

त्यसपछि पाकिस्तान, माली, नाइजेरिया, दक्षिण अफ्रिका, श्रीलंका, नाइजर र हालै मेक्सीकोलगायत विश्वका नौ ओटा देशमा यो अभियान सञ्चालनमा छ।

२०२०देखि अमेरिकामा पनि शुरू हुँदैछ। यो अभियान सफल हुनुमा नकारात्मक प्रवृत्ति हटाउन सकारात्मक अभ्यासको थालनी हो।

अबको योजना के छ ?

छ वर्ष भयो अभियान शुरू गरेको। हामीसँग उदाहरण, अनुभव र कथाहरू छन्। त्यसको दस्तावेज बनाउने बेला भएको छ। छानिएका व्यक्तिबीचको सहकार्य र सामुहिक सिकाइलाई बृहत्तररूपमा अगडि बढाउने।

उनीहरूको नेतृत्व विकासमा सहयोग गर्ने। राष्ट्रिय र अन्तरराष्ट्रियरूपमा उनीहरूको साझा सञ्जाल निर्माण गर्ने र उनीहरूका अनुभव भोगाइसहित उनीहरूले अवलम्बन गरेको अभ्यासलाई नयाँपुस्तामा जोड्ने गरी सैद्धान्तिक र व्यवहारिक दुवै संयन्त्रको निर्माण गर्ने र यस अभियानलाई आम नागरिकको अभियान बनाउन केही अन्य सृजनात्मक अभ्यासको थालनी गर्ने योजना छ।

अन्तिममा यो सिजनको बारेमा अलिकता बताइदिनुहोस् न।

यस वर्ष ईन्टेग्रिटी आईकन नेपाल २०१९ का लागि ७ डिसेम्बर २०१८ बाट शुरू भई ३० मार्च २०१९ सम्म करिब चार महिनाका लागि मनोनयन खुला गरिएको थियो। जसअन्र्तगत देशका ७७ जिल्लाबाट ११ हजार ९० वटा मनोनयन प्राप्त भएका थिए।

विभिन्न सात चरणको छनोट पश्चात यस वर्षका पाँच जना उत्कृष्ट राष्ट्रसेवकको छनोट गरी उनीहरूको बारेमा तयार गरिएको दृष्य सामाग्री टेलिभिजनमा प्रसारण भइसकेको छ।

छानिएका पाँच जना मध्ये आफूलाई मन पर्ने एक जना छान्न यही असोज ४ गते शनिबार राति १२ बजेसम्मलाई भोटिङ खुला गरिएको छ।

अन्तिमा म सबैलाई के अनुरोध गर्न चाहन्छु भने, तपाईंहरू व्यक्तिगतरूपमा कसैलाई नचिने पनि असल आचरणको सम्मान गर्ने यो एउटा अवसर हो। त्यसैले आफूलाई मन परेको एक जनालाई भोट गर्नुहोस।

 

प्रतिक्रिया दिनुहोस्