मुस्कान पुनः मुस्कुराउन पाऊलिन् त ?



वीणा झा

प्रदेश २ मा कर्णप्रिय सुनिने ‘बेटी पढाऊ बेटी बचाऊ‘ अभियानलाई जिस्क्याउँदै गत हप्ता कक्षा ९ मा पढ्ने वीरगन्ज छपकैयाकी मुस्कान खातुन विद्यालय जाने क्रममा एसिड प्रहारको सिकार भइन्, जसले उनको सुन्दर मुस्कान लुट्यो।

प्रहरीले आक्रमणकारीलाई समातेको जानकारी गराएको छ भने मुख्यमन्त्री राउतले मुस्कानको उपचारमा कुनै कमी रहन नदिने भनी प्रतिबद्धताका साथै आर्थिक सहयोग पनि गरेका छन्।

मानौं, अपराध प्रमाणित भई पीडकले सजाय पायो अनि प्रादेशिक सरकारले आर्थिक खर्च पनि बेहोर्यो, त्यसपछि मुस्कान फेरि पहिलाजस्तै मुस्कुराउन पाऊलिन् त ? उनलाई प्रदेश तथा केन्द्र सरकारले सक्षम बनाई स्वाभिमानका साथ बाँच्न सक्ने क्षमतावान् बन्न साँच्चै सहयोग गर्ला ? कि यो सब प्रक्रिया चल्दाचल्दै मुस्कानको आत्मविश्वास चकनाचुर पारिएला ? प्रश्नहरूको तगारो छ दिमागभरि।

अब मानौं, अपराध प्रमाणित भई पीडकले सजाय पायो अनि प्रादेशिक सरकारले आर्थिक खर्च पनि बेहोर्यो, त्यसपछि मुस्कान फेरि पहिलाजस्तै मुस्कुराउन पाऊलिन् त ?

उनलाई प्रदेश तथा केन्द्र सरकारले सक्षम बनाई स्वाभिमानका साथ बाँच्न सक्ने क्षमतावान् बन्न साँच्चै सहयोग गर्ला ? कि यो सब प्रक्रिया चल्दाचल्दै मुस्कानको आत्मविश्वास चकनाचुर पारिएला ? प्रश्नहरूको तगारो छ दिमागभरि।

सँगसँगै पछिल्ला केही एसिड प्रहारको घटनाहरूको परिस्थिति हेर्दा प्रायः प्रेमप्रस्ताव नमानेकोले समाजले दिएको पुरुषार्थको परिभाषाअनुसार पुरुष अहंलाई ठेस पुग्दाका अवस्थाहरूको व्याख्या गरिएको भेटिन्छ।

सन् २०१८ यता २० भन्दा बढी एसिडको प्रहारमध्ये १५ जना पीडितहरूको पीडादायी कथामा यस्तै–यस्तै अवस्थाको वर्णन रहेको छ।

प्रदेश २ कै कुरा गर्ने हो भने, गतवर्ष रौतहटको चन्द्रपुर नगपालिकाकी वर्ष १८ की सम्झना दास र उनकी बहिनी १५ वर्षीया सुष्मिता दासमाथि पनि डरलाग्दो एसिड प्रहार सोही नगरपालिकाको ५० वर्षीय रामबाबु पासवानद्वारा गरिएको थियो। जसमध्ये दिदीले पीडादायी मृत्युवरण गर्न बाध्य भइन् भने बहिनी सुष्मिता अझै जीवनमरणको दोधारमा छिन्।

रूपन्देहीको बुटवलमा तुलसा सापकोटाको ज्यान पनि एसिड प्रहारले नै लिएको थियो। नवलपुरकी २७ वर्षीया वसन्ती परियारमाथि भएको एसिड प्रहार अझै ताजै छ।

त्यस्तै काठमाडौंको कालोपुलमा जेनी खड्कामाथि श्रीमान्बाटै भएको एसिड प्रहारको घटना पनि त्यति पुरानो भएको छैन। यी केही प्रतिनिधि उदाहरणको रूपमा लिन सकिन्छ, जसका पछाडि पितृसत्ताले हुर्काएका सोचको परिणामको रूपमा बुझ्न सकिन्छ।

यसमा महिला भनेको एउटा भोगविलासको वस्तुको रूपमा बुझिएको हुन्छ, जहाँ उसको इच्छा र सम्मानको कुनै अर्थ दिइनुहुँदैन भनी सिकाइन्छ। साथै महिलालाई ‘नाइँ‘ भन्ने अधिकार नै हुँदैन भनेर पनि बुझाइन्छ।

त्यसैले महिलाले नाइँ भन्नुको अर्थ उसको अनिच्छा नभई पुरुषको अपमान हो भनी बुझ्न लगाइएको हुन्छ। हुन त एउटा स्वस्थ मानसिकता भएको व्यक्तिले कहिले पनि यस्तो अमानवीय कार्य गर्न सोच्न पनि सक्दैन।

तर यो पनि महत्वपूर्ण हुन्छ कि त्यो स्वस्थ मानसिकताको लागि सामाजिक स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण छ। एउटा विद्यार्थी जो किताबमा प्रजनन अंगका बारेमा पढ्छ तर विपरीत लिंगप्रतिको आकर्षण प्राकृतिक कुरा हो।

यसमा हर्मोनले ल्याएका परिवर्तनका असर हुन्छन् भनेर बुझाइँदैन। एउटी केटी पहिले एउटा मानव हो, जसको आफ्नो संवैधानिक र कानुनी अधिकारहरू छन्। उसका आफ्ना इच्छाहरू हुन्छन्, जसलाई कसैले पनि खोस्न पाउदैन।

त्यस्तो प्रयास गर्ने सजायको भागीदार हुन्छ भनी सिकाइँदैन। चाहे किताबमा होस् वा घर र समाजमा, यस्तो कुरामाथि स्वस्थरूपले छलफल गरिँदैन। विशेष गरी किशोरावस्थामा हुने हार्मोनिक परिवर्तनले ल्याउने परिणामहरूको बारेमा खुलेर कुरा गरिनुको सट्टा लाजको विषयको रूपमा चर्चा गरिन्छ।

जसको असर उत्सुकता मेट्न विभिन्न गलत स्रोतहरूमाथि निर्भर हुन पुग्छन् अनि समाजले दिएका पुरुषार्थको परिभाषाभित्र अट्न अपराधसम्म गरेको भान पाउँदैनन्।

यसको अर्थ अपराध गर्ने निर्दोष हुन् भन्न खोजिएको होइन तर कतै न कतै प्रत्यक्ष वा परोक्षरूपमा हामी सबै त्यसमा सामेल छौं। किनकि विषयप्रति संवेदनशील बनाउन एउटा स्वस्थ समाजको निर्माण गर्नु सम्बन्धित सबैको दायित्व हो।

सामान्य उदाहरणबाट बुझौं, एउटा प्रहरी कार्यालयको मुख्य द्वार वा अन्य सर्वसाधारण हिँड्ने बाटोमा ‘मिलिजुली हामी सबै दाजुभाइ सुरक्षित बनाऔं समाजलाई‘ भनी झुन्ड्याएर राखेको हामी सबैले देख्छौं।

यसले समाजलाई के सन्देश दिन्छ भने, पुरुष महिलाभन्दा उत्कृष्ट हुन्। त्यसैले ऊसँग शक्ति हुन्छ र सामाजिक नियन्त्रण गर्ने उसको दायित्व हुन्छ। यसले समाजलाई पुरुष प्रधानतातिर धकेल्छ।

किनकि नियन्त्रण कुनै न कुनै रूपमा शक्तिसँग जोडिएकै हुन्छ। यसले जन्माउने पुरुष अहं सिंगो समाजको लागि नै खतरनाक हुन सक्छ। तर पनि सम्बन्धित निकायहरू यस्ता विषयहरूमा संवेदनशील भएको देखिँदैनन्।

कतिपय अवस्थामा मानसिक कारणले समेत एसिड प्रहारका घटनाहरू घटेका उदाहरणहरू छन्। जसमा अचानक आवेगमा आई रिस नियन्त्रण गर्न नसकेर तत्काल त्यहीँ उपलब्ध एसिड प्रहार गरी गरिने आक्रमणलाई लिन सकिन्छ।

कुनै पनि अपराधलाई नियन्त्रण गर्न प्रभावकारी कानुनको आवश्यकता पर्छ भन्ने कुरामा दुई मत छैन तर पनि यस्ता अपराधहरू मौलाउन नदिन कानुन मात्रैले प्रभावकारी र पर्याप्त भूमिका खेल्न सक्दैन।

किनकि मानवीय स्वभाव र व्यवहारको प्रत्यक्ष कनेक्सन उसको सोचसँग रहेको हुन्छ। र, सोच निर्माणमा सम्पूर्ण सामाजिकीकरण प्रक्रिया र व्यक्तिगत भोगाइ सामेल हुन्छ।

त्यसैले सोच बनाउन भूमिका खेल्ने सामाजिकीकरणका सबै एकाइहरूलाई लैंगिक संवेदनशील नबनाई परिवर्तनबारे सोच्न पनि व्यर्थ छ।

सरकारका केन्द्रीय स्तरमा सञ्चालित कतिपय कार्यक्रम मञ्चहरूसमेत महिलाविहीन हुनु, जिम्मेवार पदमा महिलालाई अवसर नदिनु र महिला दृष्टिकोण सहजै नस्वीकार्नु, सामाजिक योगदानको नाममा कतिपय पदक र सम्मान दिँदा प्रभावमा नपरी राम्रो प्रतिवेदन लेख्ने भन्दा पनि वास्तवमा समाज डुलेका र बुझेकालाई समेट्न नसक्नु जस्ता नेपालको राजनीतिक संस्कृतिको नकारात्मक असर केन्द्रदेखि प्रदेश एवम् स्थानीय तहसम्म महिला मोडल अभावको रूपमा देखिन्छ।

जसको कारण समाजमा रहेका नयाँ पुस्तासँग पर्याप्त प्रभावशाली महिला व्यक्तित्व मोडलहरू छैनन्। यो पनि एक महत्वपूर्ण कारण छ, पीडित हुँदासमेत न्यायको लागि महिला स्वयम् प्रहरीदेखि अदालतसम्म जान हिच्किचाउनु र अपराध हुनुपूर्वको संकेत बुझ्दै समयमै परिवारका अन्य सदस्यलाई समेत जानकारी गराउँदै सही तरिकाले समाधान खोज्न समयमै अघि बढ्न नसक्नु।

वास्तवमा एसिड प्रहार, बलात्कारभन्दा कम जघन्य अपराध होइन। किनकि यसले कतिपय अवस्थामा जीवन नै सिध्याइदिन्छ त कतिपय अवस्थामा जीवन जोगिए पनि बाँच्ने अभिलाषा, आत्मविश्वास र अवसरहरूबाट टाढा लगिदिन्छ।

यति मात्रै होइन, यसका पीडाले एउटा व्यक्ति मात्रै पीडित नभई सिंगो परिवार नै पीडा सहन बाध्य हुन्छ। मुलुकी अपराध संहितामा तेजाव वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरूप पार्दा गरिने सजायबारे उल्लेख गरिएको छ। यस्तो कसुर गर्ने दोषी व्यक्तिलाई कसुरको प्रकृति हेरी तीन वर्षदेखि आठ वर्षसम्म कैद र ५० हजार रुपियाँदेखि ५ लाख रुपियाँसम्मको जरिबानाको व्यवस्था रहेको छ।

तर पनि फेरि प्रश्न उठ्छ कि यस्तो मानवताविरोधी अपराध गर्ने अपराधी उक्त सजाय भुक्तानपश्चात् सहजरूपमा पुनः समाजमा पुनस्र्थापित हुन्छ।

उसको जीवन सजिलै सामान्य बन्छ। तर पीडितले अदालतबाट न्याय पाएपछि त्यसले उसको जीवनलाई सहज बनाउँछ त ? हरेक क्षेत्रमा पूर्ववत् ससम्मान स्वीकारिने वातावरण बन्छ ?

उसले न्यायको अनुभूति गर्न पाउँछ ? न्यायको सिद्धान्तले भन्छ, यदि पीडितले न्यायको अनुभूति गर्न सक्दैन भने त्यो पूर्ण न्याय हुन सक्दैन।

त्यसैले वास्तवमा भन्ने हो भने, यस्तो अपराधमा पीडितलाई अदालतले न्याय दिए पनि ऊ आजीवन सजाय पाएको अनुभूति गर्न बाध्य हुन्छ। त्य

सैले यदि समाजमा यस्ता अपराधहरू नियन्त्रण गर्ने हो भने पहिला समाजलाई स्वस्थ बनाउन जरुरी छ, जसको शुरूवात पितृसत्ताले दिएको पुरुषार्थको गलत परिभाषालाई सच्याउनबाट गर्न सकिन्छ।

यसले सोचमा परिवर्तन ल्याउँछ र सम्बन्धित सबै पक्षलाई लैंगिक संवेदनशील बनाउँछ र समाजमा दुवैको उपस्थिति समान सम्मानका साथ स्वीकारिन्छ।

हाम्रा अस्मिताहरूको ‘अस्मितॉ जोगाउन र मुस्कानहरूको ‘मुस्कान‘ बचाउन सरकार र तिनका सबै न्यायिक निकायहरू लैंगिक संवेदनशील हुन आवश्यक छ।

 

प्रतिक्रिया दिनुहोस्