ओलम्पिक कमिटीमा पुनः जीवनराम



नेपाल समाचारपत्र, काठमाडौं। नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षमा जीवनराम श्रेष्ठ पुनः निर्वाचित हुनुभएको छ।

शनिबार सातदोबाटोस्थित एनओसीकै भवनमा भएको निर्वाचनमा जीवनराम १७ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको थियो।

उहाँका निकटम प्रतिद्वन्द्वी तथा एनओसीका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठले १० मत ल्याउनुभएको थियो। अघिल्लो निर्वाचनमा पनि श्रेष्ठद्वयले अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको थियो।

यसैगरी उपाध्यक्ष पदमा लन टेनिसकी अध्यक्ष ज्योति राणा, टेबुल टेनिसका अध्यक्ष चतुरानन्द वैद्य, पौडीका अध्यक्ष अशोक वज्राचार्य, फेन्सिङका अध्यक्ष सुनील श्रेष्ठ र ह्यान्डबलका अध्यक्ष तेज गुरुङ निर्वाचित हुनुभएको छ।

राणाले सर्वाधिक २६ मत प्राप्त गर्नुभएको थियो। ५ उपाध्यक्षका लागि ८ जनाले उम्मेदवारी दिएकोमा कुस्तीका समिम मिया अन्सारी, र्याफटिङ एन्ड क्यानोइङका राजीव श्रेष्ठ र सुटिङका पुष्पदास श्रेष्ठ पराजित हुनुभएको थियो।

यस्तै महासचिवको पदमा निलेन्द्रराज श्रेष्ठले बाजी मार्नुभएको छ। श्रेष्ठले १५ मत ल्याएर करातेका पुरेन्द्रविक्रम लाखेलाई पराजित गर्दै महासचिवमा निर्वाचित हुनुभएको हो। लाखेले १२ मत हासिल गर्नुभएको थियो।

यस्तै, ३ जना सचिव पदका लागि जुडोका अध्यक्ष दीपकहर्ष वज्राचार्य, ब्याडमिन्टनका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, कबडीकी तुलसी थापा निर्वाचित हुनुभयो।

वज्राचार्यले सर्वाधिक २५ मत ल्याउनुभएको थियो। तर हालै मात्र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिवबाट सेवा निवृत्त हुनुभएका केशवकुमार विष्ट पराजित हुनुभयो।

यसैगरी ७ सदस्यमा फुटबलका दीर्घबहादुर केसी, तेक्वान्दोका प्रकाश शमशेर राणा, गल्फका टासी घले, आर्चरीका रमेश शिवाकोटी, साइक्लिङका गोपालसुन्दर कक्षपति, बास्केटबलका होमबहादुर दोङ र बक्सिङका राम अवाले निर्वाचित हुनुभयो।

८ जनाले उम्मेदवारी दिएकोमा भलिबलका मनोरञ्जन रमण शर्मा पराजित हुनुभएको थियो।यसअघि राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्षसमेत रहनुभएका पीताम्बर तिम्सिना र भारोत्तोलनका रतन टण्डन निर्विरोध निर्वाचित हुनुभएको थियो। एथ्लेटिक्सका तिम्सिना उपमहासचिवमा र टण्डन कोषाध्यक्षमा निर्वाचित हुनुभएको हो।

 

प्रतिक्रिया दिनुहोस्