दिदीबहिनी सहकारीको आठौं साधारणसभा, विभिन्न व्यक्तिहरु सम्मानित



प्रताप बानियाँ, म्याग्दी । महिलाहरुको व्यवस्थापनमा म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाको शनिबार आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कुल ८ सय ६५ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी चार करोड २१ लाख ६२ हजार एकसय रुपैयाँ रहेको छ ।

११ करोड ८७ लाख ६८ हजार दुईसय ३३ रुपैयाँ निक्षेप सङ्कलन गरेको सहकारीको १३ करोड ५६ लाख ३३ हजार दुईसय २३ रुपैयाँ कर्जा लगानी गरेको छ । दुई करोड २६ लाख ४६ हजार दुईसय १८ आम्दानी र एक करोड ८३ लाख ७४ हजार एकसय ३७ रुपैयाँ खर्च गरेको सहकारीले ४२ लाख ७२ हजार आठसय १० रुपैयाँ मूनाफा भएको जनाएको छ ।

साधारणसभाको अवसरमा संस्थाले मुठ्ठीदान अभियानबाट मृगौलापीडितद्वय बेनी नगरपालिका–५, पुलाचौरकी निशा सुवेदी र भीरमुनीका डेकनाथ शर्मालाई क्रमशः १० हजार एकसय ११ रुपैयाँका दरले सहयोग गरेको छ । यसैगरी पुलाचौरको बसन्त आधारभूत विद्यालयलाई ११ हजार एकसय ११, राखुपिप्लेकी मृगौलापीडित पार्वती विक, अनन्त स्मृति कोष बेनी र भकिम्लीको हेपाटाईटिस बिरामीलाई क्रमशः पाँचहजार पाँचसय ५५ र बेनपा–२, ज्यामरुककोटका दृष्टिविहिन आइते नेपालीलाई पाँचहजार पाँचसय ५५ रुपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग गरिएको छ ।

त्यस्तै पत्रकारिताको माध्यमबाट सहकारीका गतिविधिलाई प्रचारप्रसार गरी सहयोग पु¥याएको भन्दै गोरखापत्र दैनिक म्याग्दीका संवाददाता ठाकुरप्रसाद आचार्यलाई नगद तीनहजार तीनसय ३३ रुपैयाँसहित सम्मानपत्रले सम्मान गरिएको छ । त्यसैगरी बाल बचततर्फ विनायक सुवेदी, पर्व बचत लक्ष्मी भण्डारी कार्की, पेन्सन बचतमा जमुना आचार्य, सुनौलो बचत सुजता श्रेष्ठ, लखपति बचत संज्ञा श्रेष्ठ, उत्कृष्ट कारोबारकर्ता शर्मिला जोशी श्रेष्ठ, असल ऋणी सविना घर्ती, क्रमिक बचत सारिका लामा, साधारण बचत सीताराम श्रेष्ठ र कुमार बानियाँ, सहकारीमा धेरै उपस्थित हुने भगवती श्रेष्ठ, अद्यावधिक बचततर्फ रुविना भट्टचन र असल व्यवसायी यामकुमारी ढुङ्गाना सम्मानित भएका छन् ।

एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने शेयर सदस्यका छोराछोरीतर्फ प्रशान्त सुवेदी र संज्ञा श्रेष्ठलाई सम्मान गरिएको छ भने १५ जना एकल महिलाहरुलाई प्रोत्साहनस्वरुप सहकारीको पेन्सन योजनाबाट आर्थिक सहयोग गरिएको छ । साधारणसभाको उद्घाटन गर्दै मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले सहकारीमार्फत महिलाहरुको आयआर्जनका क्षेत्रमा लगानी गरी आत्मनिर्भर बनाउनुपर्ने र व्यक्तित्व तथा नेतृत्व विकास गर्नुपर्नेमा जोड दिइन् ।

सहकारीका अध्यक्ष ज्योती लामिछानेको अध्यक्षता, उपाध्यक्ष विष्णु गौतम सापकोटाको स्वागत र सचिव सुगम श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा शेयर सदस्य लक्ष्मी भण्डारीले मन्तव्य राखेकी थिइन् । साधारणभामा सहकारी सचिव श्रेष्ठ र कोषाध्यक्ष जगतकुमारी बानियाँले प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्