दुई हजार किलोको विश्वकै ठूलो कागको मूर्ति निर्माण गर्ने तयारी



पुष्कर बुढाथोकी, काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकामा दुई हजार किलोको विश्वकै ठूलो पञ्चरत्न धातुले बनेको कागको मुर्ति निर्माण गरिने भएको छ । नगरपालिकाको लोकतान्त्रिक सहिद पार्कमा आगामी फागुन ७ गते मनाइने कागेश्वरी महोत्सवमा उक्त पञ्चरत्न धातुको काग राखिने भएको हो ।

आज एक मलेसियन नागरिकले नगरपालिका वडा नं. १ गागलमा विश्वकै ठूलो काग निर्माणका लागि पञ्चरत्न जडित बाला र डा. राम उप्रेतीले तामाको गाग्री काग निर्माणका लागि नगरपालिकालाई प्रदान गर्नुभयो ।

मलेसियन नागरिकलाई सानै उमेरमा उहाँको आमाले हातमा लगाइदिएको पञ्चरत्न जडित बाला र डा. उप्रेतिलाई आफ्नो बिबाहमा दाइजो स्वरुप प्रदान गरिएको तामाको ग्रागी नगरपालिकाका प्रमुख कृष्णहरी थापामार्फत वडा नं. १ का वडाध्यक्ष मुकुन्द गजुरेललाई प्रदान गर्नुभयो ।

वडाध्यक्ष गजुरेलले मलेसियन नागरिक र डा.उप्रेतिलाई काग निर्माण गर्ने पवित्र कार्यका लागि प्रदान गरिएको बाला र तामाको गाग्री प्रदान गरिएकोमा सराहना गर्नुभयो । उहाँले भन्नुभयो, “यस अभियानमा लागौं र हामी सँगसँगै अगाडि बढौं ।”

नगरपालिकाका प्रमुख थापाले नगरपालिकाले विश्वकै ठूलो दुई हजार किलोको काग निर्माण गरेर इतिहास रच्न लागेको बताउनुभयो ।तथ्यांक अनुसार इन्डोनेशियामा एक हजार चार सय किलोको धातुको काग निर्माण भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाले नै कागेश्वरी मन्दिरमा २ सय २७ किलोको काग यस अघिनै निर्माण गरिसकेको छ । नगरपालिकालाई पर्यटकीय गन्तव्यको केन्द्र निर्माण गर्नका लागि नगरपालिकाले पर्यटन प्रबद्र्धन गर्ने विभिन्न कार्य गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्