भारतले तल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि प्रस्ताव राख्याे



न्युज अफ नेपाल, काठमाडौं । भारत सरकारले कूल ६४० मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि प्रस्ताव राखेको छ । भारतीय कम्पनी सतजल विद्युत् निगमले अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कूल ९ सय मेगावाट क्षमताको सो आयोजनामा हाल २५ प्रतिशत काम भइसकेको छ ।

सतजल विद्युत् निगमले अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणका लागि ‘एसजेभिएन नेपाल’ नामक कम्पनी दर्ता गरेर काम गरिरहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग बिहीबार भारतीय ऊर्जा राज्यमन्त्री राजकुमार सिंहले द्विपक्षीय भेटवार्ता भएको थियो । भेटमा भारतीय ऊर्जा राज्यमन्त्री सिंहले अरुण तेस्रोकै ढाँचामा निर्माण गर्न सकिने प्रस्ताव राखेका हुन्।

भेटवार्तामा ऊर्जा राज्यमन्त्री सिंहले भारतीय कम्पनी सतजल विद्युत् निगमले निर्माण गरिरहेकाले तल्लो अरुणसमेत आफुलाई दिन आग्रह गरेका हुन् । लागत, निर्माण सामग्रीको आयात तथा अन्य प्राविधिक तयारीका लागिसमेत सहज हुने भएकाले उक्त योजना आफूहरुलाई दिनुपर्ने माग रहेका हुन् ।

नेपाल विद्युत् प्राधिरकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार तल्लो अरुणमा भारतीय पक्षले पुनः चासो देखाएको बताएका हुन् । गत माघमा भारत भ्रमणमा जानुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुनसँग पनि राज्यमन्त्री सिंहले सोही विषयमा चासो व्यक्त गरेका थिए ।

तल्लो अरुण भारतीय कम्पनीले अहिले निर्माण गरिरहेको अरुण तेस्रोकै मोडलमा निर्माण गर्न भारतीय पक्षबाट प्रस्ताव गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । भारत भ्रमणका रहँदा गत माघमा मन्त्री पुनले अरुण तेस्रोको निर्माण प्रगति हेरेर सोही आधारमा थप छलफल गरौँला भनेका छौँ भन्ने प्रतिक्रिया दिएका थिए । सरकारले अरुण तेस्रोको निर्माण प्रगति हेरेर मात्रै तल्लो अरुण भारतीय पक्षलाई दिने वा नदिने उपयुक्त निर्णय गर्ने मन्त्री पुनले बताएका थिए ।

विद्युत् विकास विभागले अहिले थो आयोजनाको सम्भाव्यता तथा विस्तृत अध्ययन गरिरहेको छ । भारतले अरुण तेस्रो आयोजनाका राखिएका सम्पूर्ण सर्त राखी तल्लो अरुण बनाउने प्रस्ताव गरेको हो । गत चैत १५ र १६ गते आयोजना गरिएको लगानी सम्मेलनमा सरकारले सो आयोजनालाई समेत ‘शो केश’मा राखेको थियो ।

सरकारले अरुण तेस्रो आयोजनाको क्षमतालाई ४०२ मेगावाटबाट बढाएर ९०० मेगावाट बनाउन स्वीकृति दिएपछि तल्लो अरुण समस्यामा परेको थियो । अरुण तेस्रोको क्षमता बढेकाले तल्लो अरुणको क्षमता पनि ६५० मेगावाट बनाउन प्रस्ताव गरिएको थियो । ऊर्जा मन्त्रालयले क्षमता बढाउन अस्वीकार गरेको थियो । सङ्खुवासभा र भोजपुरमा पर्ने आयोजनाको करीब १५ किलोमिटर मुख्य सुरुङ निर्माण गर्नुपर्नेछ । सप्तकोशी उच्च बाँध बनेमा आयोजनाको विद्युत्गृह डुबानमा पर्ने अध्ययनले देखाएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्