पत्रकार उपचार कोषमा नगरको चार लाख



हेटौंडा, (नेस) ।
नेपाल पत्रकार महासंघ मकवानपुरले सञ्चालन गरेको पत्रकार उपचार कोषमा हेटौंडा उपमहानगरपालिकाले सहयोग हस्तान्तरण गरेको छ ।

उपमहानगर मेयर हरिबहादुर महतले उपचार कोषमा चार लाख रुपियाँ हस्तान्तरण गर्नुभएको हो । उहाँले पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागार्इं, पत्रकार उपचार कोष संयोजक÷महासंघ उपाध्यक्ष सरिता दाहाल र उपाध्यक्ष कुमार अधिकारीलाई संयुक्तरुपमा चेक हस्तान्तरण गर्नुभएको हो ।

रकम हस्तान्तरण गर्दै मेयर महतले आगामी दिनमा पनि महासंघलाई सहयोग गरिने बताउनुभयो । आफ्नो कार्यकालमा उपचार कोषमा थप रकम सहयोग गर्ने मेयर महतले प्रतिवद्धता जनाउनुभयो । महासंघको आग्रहअनुसार कोषमा रकम सहयोग गरिएको हो ।

पत्रकारले दुःख पाएको बेला उपमहानगरपालिका सधैं साथमा रहेको उहाँको भनाइ छ । नगरवासीलाई दुःखको समयमा सहयोग गर्दै आएको बताउँदै मेयर महतले भन्नुभयो–पत्रकार बिरामी परेको समयमा सहयोग गर्ने उद्धेश्यले रकम हस्तान्तरण गरिएको हो ।

सहयोग रकम बुझ्दै महासंघ मकवानपुर अध्यक्ष हुमागाईंले कोषमा हालसम्म ९ लाख रुपियाँ संकलन भएको बताउनुभयो । यसअघि उद्योग संघ मकवानपुर अध्यक्ष नवराज अर्यालले दुई लाख र शिवम् सिमेन्ट उद्योगले तीन लाख सहयोग गरेका थिए ।

मकवानपुरका पत्रकार गम्भीर बिरामी परे उपचार कोषको ब्याजबाट सहयोग गर्ने गरी कोष स्थापना गरिएको अध्यक्ष हुमागार्इंले जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्