नेपाल ओलम्पिक कमिटीको चुनाव आज, अध्यक्षमा जीवनराम र उमेशलाल भिड्दै



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल ओलम्पिक कमिटीको चुनाव शनिबार (आज) हुँदैछ । अध्यक्ष पदका लागि तत्कालीन अध्यक्ष जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएपछि चुनाव थप रोमाञ्चक बन्ने भएको हो ।

दोस्रो पटक अध्यक्ष पदका लागि उमेशलाल र जीवनराम आमनेसामने हुन लागेका हुन् । जीवनराम र उमेशलाल दुवै नेकपा निकट हुन् ।
महासचिव पदमा उमेशलालको प्यानलबाट पुरेन्द्रविक्रम लाखे र जीवनरामको प्यानलबाट निलेन्द्रराज श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

सातदोबाटोस्थित कार्यालयमा बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु हुने नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

चुनावमा पाँच जना उपाध्यक्षका लागि आठ जनाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा ज्योती राणा, तेजबहादुर गुरुङ, पुष्पदास श्रेष्ठ, अशोकरत्न बज्राचार्य, सुनिलकुमार श्रेष्ठ, चतुरानन्द राजवैद्य, राजीव श्रेष्ठ र समिम मिया अन्सारी छन् ।

त्यस्तै, कोषाध्यक्षमा भने रतनकुमार टण्डनको मात्र उम्मेदवारी परेको छ । उपमहासचिवमा राखेपका उपाध्यक्षसमेत रहेका पिताम्बर तिम्सिनाको मात्र उम्मेदवारी छ ।

त्यस्तै, तीन सचिव पदका लागि केशवकुमार विष्ट, रामजीबहादुर श्रेष्ठ, दीपकहर्ष बज्राचार्य र तुलसी थापा प्रतिस्पर्धामा छन् ।

सात सदस्यका लागि रमेशप्रसाद शिवाकोटी, राम अवाले, प्रकाशशम्सेर राणा, गोपालसुन्दर लाल कक्षपति, टासी घले, होमबहादुर दोङ, दीर्घबहादुर केसी र मनोरञ्जनरमण शर्मा प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्