विराटनगरमा डेंगुबाट एक किशोरको मृत्यु



विराटनगर : विराटनगरमा ६ दिनअघि डेंगुको संक्रमण पुष्टि भएका एक किशोरको उपचारका क्रममा मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–९ भूमि प्रशासन चोकका राजकुमार शर्माका छोरा १८ वर्षीय अविनाश शर्माको मृत्यु भएको हो । अविनाश विराटनगर–१० मा रहेका शिक्षादीप कलेजको कक्षा १२ मा अध्ययनरत थिए । काका उमेश शर्माका अनुसार अविनाशलाई यही भदौ २० गते सामान्य ज्वरो आएको थियो ।

त्यसपछि सप्तकोसी नर्सिङ होमको बहिरंग विभागमा स्वास्थ्य र ल्याब परीक्षण गराउँदा उनमा डेंगुको संक्रमण रहेको पुष्टि भएको थियो । अस्पतालका फिजिसियन डा. अरविन्द साहले अस्पतालमा भर्ना भएका साहमा डेंगुको संक्रमण पुष्टि भएको बताए ।

धरानमा पहिलो पटक बैशाख ३० गते डेंगु देखिएको हो । अहिले मुलुकका ५६ जिल्लामा यसको संक्रमण फैलिसकेको छ । प्रदेश १ मा डेंगु संक्रमितको संख्या तीन हजार नौ सय ८३ पुगिसकेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्