दूधे बालिकाको मृत्यु



जलेश्वर। महोत्तरी जिल्लाको औरही नगरपालिकाको श्रीपुर गाउँमा बिहीबार राति करेन्ट लागेर एक दूधे बालिकाको मत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार स्थानीय नरेश महतोकी तीन वर्षीया छोरी सीमाकुमारी महतोको करेन्ट लागेर मत्यु भएको हो ।

बालिका महतो आफ्नै घरमा खेलिरहेका बेला घरमा लगाइएको बिजुलीको बोर्डबाट भुँईतिर झुण्डिरहेको नाङ्गो तार छुन पुग्दा उनको करेन्ट लागेर ज्यान गएको हो । मृतक बालिकाको शव परीक्षणका लागि आज बिहान जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ ।

विषालु सर्पले डस्दा महिलाको मृत्यु

महोत्तरी जिल्लाको भंगहा नगरपालिका–५ मा बिहीबार राति विषालु सर्पले डस्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भंगहा नगरपालिका–५ बस्ने सुरजा सरदारकी पत्नी उर्मिलादेवी सरदार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

राति ९ बजेतिर आफ्नै घरमा काम गरिरहेकी महिला सरदारलाई विषालु सर्पले डसेपछि परिवारजनले उपचारको लागि सिरहा जिल्लाको कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पतालमा रहेको सर्पदंश उपचार केन्द्रमा लैजाँदै गर्दा राति करीब सवा १० बजे बाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

मृतक महिलाको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा लगिएको र आज शव परीक्षण गरिसकेपछि परिवारजनलाई बुझाइने जनाइएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्