किर्गिस्तानमा नेपाल उपविजेतामै सीमित



काठमाडौं, (नेस)।किर्गिस्तानमा भएको नादेज्दा कप महिला फुटबलको फाइनलमा उज्वेकिस्तानसँग पराजित हुँदै नेपाली महिला टोली उपविजेतामै सीमित भएको छ।

किर्गिस्तानको सेन्ट्रल रंगशालामा बिहीबार भएको फाइनलमा नेपाल उज्वेकिस्तानसँग३–२ गोलअन्तरले पराजित हुन पुग्यो। योसँगै नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका गुमेको छ। अहिलेसम्म नेपालले अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधि जित्न सकेको छैन।

खेलको ३९औं मिनेटमा उज्वेकिस्तानले गोल गर्दै पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो। दोस्रो हाफमा भने उज्वेकिस्तानले दुई गोल गर्दा नेपालले पनि दुई गोल गर्न सफल भयो तर यो गोल पर्र्याप्त भएन।

खेलको ५५औं मिनेटमा उज्वेकिस्तानले गोल गर्दै नेपालविरुद्ध २–० गोलको अग्रता बनाएको थियो भने खेलको ६४औं मिनेटमा अर्को गोल थप्दै ३–० गोलको अग्रता बनाएको थियो।

तर खेलको ६७औं मिनेटमा अनिता बस्नेतको पासमा सावित्रा भण्डारीको गोल गर्दै ३–१ गोलको स्थितिमा ल्याएकी थिइन्। त्यस्तै, खेलको अन्तिम समयमा नेपालले पेनाल्टी पाएको थियो। ९०औं मिनेटमा सावित्राको पेनाल्टीबाट गोल गरे पनि नेपाललाई जित दिलाउन भने सकिनन्।

प्रतियोगितामा नेपालकी सावित्राले कूल ७ गोल गरेकी छिन्। पहिलो खेलमा किर्गिस्तानलाई ८–२ ले हराउँदा उनले ४ गोल गरेकी थिइन्।

दोस्रो खेलमा भने नेपाल उज्बेकिस्तानसँग २–० ले हारेको थियो। तेस्रो खेलमा ताजकिस्तानलाई १–० ले हराउँदा नेपालका लागि सावित्राले निर्णायक गोल गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्