सुखी नेपाली



एक वर्षभन्दा अघिदेखि बन्द रहेको मलेसिया रोजगार अब खुला भएको छ। बिहीबार दुवै देशका सरकारी अधिकारीबीच तालमेल मिलेसी नेपाली फेरि मलेसिया जाने बाटो खुला भएको हो।

कामदार जाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनीले बेहोर्ने भएसी शून्य लागत अर्थात् खर्चबिनै नेपाली कामदार मलेसिया जान पाउने भएका छन्।

शून्य लागतको चाबी मेनपावरवालासँग हुन्छ भन्ने थाहा पाउँदापाउँदै मलेसियासँगको पछिल्लो निर्णय सार्वजनिक भा’ छ।

खै, यसअघि पनि शून्य लागतको चर्चा राम्रै चल्या हो, तर मेनपावरवाला पटक–पटक दर्शनभेटका लागि मन्त्री क्वार्टर धाएसी सो व्यवस्था चैट भएकै हो क्यारे।

शून्यको कुरो सुनुवाइ होस् या नहोस् सो मुलुकले कामदार लाने ढोका खोलेसी सरकारले सफलताको सूची भने पक्कै थप्ने भो।

अब दशैंतिहारपछि त नेपाली कामदार जापान पनि पुग्छन् क्यार। ए, साँच्ची जापान कामदार पठाउने कुरो पनि सफलताकै सूचीमा पर्या छ क्यारे।

अन्य मुलुकसँग पनि धमाधम श्रम सम्झौता गर्ने कुरो छ। चर्को ऋण लिएर युवा विदेश पलायन हुँदा त गाउँघर सुनसान भइसक्या छन् भने शून्य लागतले झन् के गर्ने हो कुन्नि ?

युवा जमातलाई धमाधम विदेश पठाउने अनि प्रधानमन्त्री रोजगार कार्यक्रमको नारा घन्काउने सरकारी शैलीलाई कसरी बुझ्ने ?

धरहराले नबुझ्या पनि हुन सक्छ। यसरी नै हो क्यार ‘समृद्ध नेपाल शुखी नेपाली’ को अभियान सफल बनाउने भन्या।

प्रतिक्रिया दिनुहोस्