अमेरिकामा नेपालीको परिचय बन्दै रेस्टुराँ व्यापार



नेपाल समाचारपत्र, क्यालिफोर्निया।डुंगाजस्तै देखिने सेतो रङको प्लेट छ। त्यसमा पहेँलो झोलमा आधाउधि डुबेका मम तैरिरहेजस्ता देखिन्छन्। डुंगाको चालक बस्ने ठाउँमा देखिन्छ अचार र हरित वृक्ष। त्यसमा उडिरहेको बाफ हेर्दा कसको मुख नरसाउला ?

‘नेपाली र भारतीय लोकप्रिय भोजनका परिकार हामी तयार पार्छाै, मिल्दोजुल्दो नाम पनि राख्छौं, तपाईंले डुंगाजस्तो प्लेटमा मम देख्नुभयो नि, यसलाई हामीले टाइटानिक झोल मम भन्ने गरेका छौं,’ एभरेष्ट क्विजिनका मेनेजर धीरज कार्कीले भन्नुभयो।

कार्कीका अनुसार भेजिटेबल वा चिकेन टाइटानिक मम खान सकिने रहेछ। त्यस्तै, चिकेन टीका मसाला, तन्दुरी पनिर टीका, मटन बिर्यानीआदि पनि एभरेस्ट क्विजिनमा पाइँदोरहेछ।

‘क्विजिन अर्थात् भोजन पस्किने शैली। हामी खाने कुरा मात्र बेच्दैनौं, आकर्षक सजावट वा कला पनि बेच्छौं,’ सिलिकन भ्यालीस्थित माउन्टेन भ्यूमा रहेको भोजनालयका सञ्चालक सान फ्रान्सिस्कोका लागि नेपालका पूर्वपर्यटनदूत अनिल पाण्डे र प्रिन्स युवराज कार्कीले संयुक्त जवाफ दिनुभयो, ‘व्यापार त आफ्नो ठाउँमा छँदैछ, नेपाल भिजिट वर्ष २०२० को प्रचारका लागि पनि यस रेष्टुराँले सघाइरहेको छ।’

रेष्टुराँको भित्तामा रहेको ठूलो टेलिभिजनको पर्दामा नेपाल भिजिट इयर २०२० को प्रोमो बजिरहेको पनि देखियो। ‘दैनिक एक सयदेखि एक सय ५० जति विदेशीको आँखा त्यस प्रोमोमा परेको हाम्रो अनुमान छ, दैनिक ५० जनाले त्यसका बारेमा जिज्ञासा पनि राख्ने गर्दछन्’ पाण्डेले भन्नुभयो।

‘यहाँ आउने ग्राहक पहिला कुनै बेलाको स्वाद सम्झेर आउँछन्, त्यस स्वादलाई निरन्तरता दिनसक्नुपर्छ, हामी फ्लेबरमा कन्सिस्टेन्सी दिन सफल छौं, ’ खानाका साथ पुरस्कारको व्यवस्था पनि गरेर ग्राहक मोहित पार्न सिपालु मेनेजर कार्कीले दाबी गर्नुभयो।

कुरा एभरेस्ट क्विजिनको मात्र होइन, सान फ्रान्सिस्कोकै टेन्डरलिनको रेड चिल्ली पनि नेपाली र भारतीय खानाका लागि लोकप्रिय छ।

नेपाली जिब्रोमा झुण्डिएको स्वादलाई ख्याल गरी कुखुराको मासु, दाल, तोरीको साग, आलु–तामा–भटमासको तरकारी, गोलभेंडाको अचारसहितको थाली तयार पार्ने रेड चिली पनि उत्तिकै लोकप्रिय छ।

टेन्डरसनकै हिमालयन पिजा एन्ड मोमो पनि नेपाली खानाका लागि धेरैले मनपराएको भोजनालयमा पर्छ। हिमालयन पिजा एन्ड मोमोका सञ्चालक सन्तोष गुरुङ र नव ढकाल एकसाथ भन्नुहुन्छ–‘हामी कहाँ मात्र होइन अमेरिकामा जति पनि नेपाली भोजनालय छन्, यिनीहरूका ग्राहक भनेका तीनथरि छन्, एक नेपाली, दुई नेपाल घुमेर फर्केका विदेशी र तीन नेपाली स्वादमा पल्केका अन्य सबै।’

उहाँहरूको अनुभवमा नेपाली भोजनालयमा ग्राहकले पाउने विशेष सत्कार र स्वादको अनौठोपनका कारण उनीहरू दोहोर्याई–तेहर्याई आइरहन्छन्।

अमेरिकामा प्रायः नेपालीले मात्र नेपाली खानाका परिकार तयार पार्छन्। परिवारका साथ मिलेर काठमाडौं रेष्टुरेण्ट नामको भोजनालय खोलेका डेनियल सिंह यस पेसामा लागेको २४ वर्ष लामो आफनो अनुभव सुनाउनुहुन्छ–‘यहाँ भोजन गर्न आउने सेवाग्राहीले माउन्ट एभरेस्टलाई निकटबाट अनुभव गरेको मैले पाएको छु, नेपालको उचाइ र नेपालीको आत्मीयता अनुभव गर्दै भोजन हुने भएकाले पनि उनीहरू यहाँ आएका हुन्।’

नेपाली अधिकांश रेष्टराँहरूमा नेपाल चिनाउने सगरमाथा, हिमाल, गौतम बुद्ध, लाखे नाच, इन्द्रजात्रा र यहाँको भेषभुषा वा गाउँले पहिरनयुक्त नेपालीका पेन्टिङहरू सजाएर राखिएका हुन्छन्। पाहुना टेबुलका भोजनजत्तिकै भित्ताका चित्रमा पनि लोभिएको देख्न सकिन्छ।

‘नेपाल कहाँ छ, माउन्ट एभरेस्ट नेपालको कुन भागमा छ, त्यहाँ पर्यटकलाई कस्तो सुविधा छ आदि प्रश्न ग्राहकहरू गरिरहन्छन्,’ श्याम गुरुङले अनुभव सुनाउनुभयो।

सोलानो एभिन्युमा एक–एक माइलको अन्तरमा तीनवटा नेपाली रेष्टुराँ छन्। काठमाडौं, एभरेस्ट किचेन एन्ड हिमालयन तन्दुरी र करी हाउस नामका यी भोजनालयमा मात्र होइन सान पाब्लो एभिन्युमा रहेको आँगनमा पनि नेपाली खाना मन पराउनेहरूको कमी देखिन्न।

सान जोसेदेखि सानोमासम्मको मात्र हिसाब गर्दा दुई दर्जनभन्दा बढी नेपाली रेष्टुराँ भेटिन्छन्–‘यसअतिरिक्त पाँच घुमुवा गाडी र एक मोमोलाई प्रधानता दिएर खुलेको पिजा हट पनि छ। नेपाली रेष्टुराँको यो घनत्व पछिल्लो पाँच वर्षको प्रगति हो भन्नुहन्छ सुजित सिंह।

नेपालले सन् २०२० लाई पर्यटन वर्ष मान्ने तयारी गरिरहेका सन्दर्भमा अमेरिकालगायत विकसित मुलुकमा रहेका भोजन गृह सञ्चालकलाई पनि नेपाली दूतका रूपमा परिचालन गर्नु उपयोगी हुने धारणा स्थानीय नेपालीको छ।

आजभोलि नेपालको परिकार मोमो भारतीय नागरिकको बसोवास रहेको क्षेत्रमा र भारती खानाका परिकार नेपालीमा लोकप्रिय बनेको देखिन्छ, ओकल्यान्डस्थित अन्नपूर्ण रेस्टुरेन्टका सञ्चालक प्रदीपराज गोतामेले जानकारी दिनुभयो।

सोलानो एभिन्युमा एक–एक माइलको अन्तरमा तीनवटा नेपाली रेष्टुराँ छन्। काठमाडौं, एभरेष्ट किचेन एन्ड हिमालयन तन्दुरी र करी हाउस नामका यी भोजनालयमा मात्र होइन सान पाब्लो एभिन्युमा रहेको आँगनमा पनि नेपाली खाना मन पराउनेहरूको कमी देखिन्न।

सान होजेदेखि सोनामा सम्मको मात्र हिसाब गर्दा पनि दुई दर्जनभन्दा बढी नेपाली रेष्टुराँ भेटिन्छन्, यस अतिरिक्त पाँच घुमुवा गाडी र एक मोमोलाई प्रधानता दिएर खुलेको पिजा हट पनि छ।

यस्तै अन्य थुप्रै नेपालीले पिज्जा रेष्टुराँमा पनि हात हालेका छन्। सोलानोस्थित आई स्लाइस पिज्जाका मालिक श्याम गुरुङका अनुसार यो घनत्व पछिल्लो पाँच वर्षको प्रगति हो।

 

प्रतिक्रिया दिनुहोस्