धरहराको २६ प्रतिशत काम सम्पन्न



काठमाडौं, (नेस)।धरहरा पुनर्निर्माणको समग्रमा २६ प्रतिशत कार्य सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ।

पुनर्निर्माण प्राधिकरणमा भएको धरहरा पुनर्निर्माण प्रगति समीक्षा कार्यक्रममा निर्माण कम्पनी जीआईईटिसी–रमन जेभीका कन्ट्रयाक्टर रेप्रिजेन्टेटिभ रमन महतोले उक्त जानकारी दिनुभएको हो।

आफूलाई प्राप्त निर्माणस्थलका हिसाबले ६७.५ प्रतिशत प्रगति भएको उहाँको भनाइ छ।
धरहरा पुनर्निर्माणका क्रममा हाल धरहरा टावरको पहिलो बेसमेन्टको क्रंक्रिटिङ गर्ने कार्य सम्पन्न भई बिम स्लाब उठाउने कार्य शुरू भएको छ।

त्यसैगरी, गोश्वारा हुलाक रहेका भवन भत्काई त्यहाँ बेसमेन्ट बनाउनका लागि पूर्वपट्टि प्रोटेक्सन पाइल हाल्ने कार्य चलिरहेको छ।

समीक्षा कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विभिन्न खण्डका कार्यहरू समानान्तर रूपमा अघि बढाएर तोकिएको समयमै पुनर्निर्माण सम्पन्न गर्नुपर्ने बताउनुभयो।

त्यसक्रममा उहाँले गुणस्तर कायम राख्न कुनै कसर बाँकी नराख्न समेत जोड दिनुभयो।
धरहरा पुनर्निर्माणको सुपरीवेक्षण गरिरहेको परामर्शदाता कम्पनी केज कन्सल्ट र स्वाइल टेस्ट जेभीका तर्फबाट पुनर्निर्माणका क्रममा देखिएका विभिन्न विषयबारे प्रस्तुतीकरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्