सत्तापक्ष, प्रतिपक्ष र जनताको न्याय



दीपकदोर्जे लामा

सम्पूर्ण जाति, वर्ण, क्षेत्र र समुदायमाथि हुँदै आएका सबै प्रकारका उत्पीडन, विभेद, शोषण, दमन र औपनिवेशिकताबाट स्वतन्त्रता र उन्मुक्ति प्राप्त गर्न सहज बाटो छैन।

यसको लागि धेरै प्रकारका आन्दोलन गर्नुपर्ने हुन्छ। जनताका निम्ति हरेक प्रकारका अधिकार प्राप्तिका लागि गणतान्त्रिक नेपालको औपनिवेशिक संविधान २०७२ संशोधन एवं पुनर्लेखन आवश्यक देखिन्छ।

प्रतिपक्ष कांग्रेसले सरकारलाई खबरदारी गर्ने छनक देखाएको छ। यदि कांग्रेसले ढिला नगरी जनपक्षीय आन्दोलन गर्यो र सरकारलाई खबरदारी गर्यो भने अनि वर्तमान सरकार सच्चियो र चुनावी घोषणापत्रअनुसार अघि बढ्यो भने देशमा मेलमिलापको बाटो निर्माण हुनेछ। त्यसमा हामी पनि सहयोगी बन्नेछौं।

राज्य पुनर्संरचनाको नाममा संघीयताको मूलमर्म विपरीत पुरानै वर्णाश्रम सत्ताको निरन्तरता हुने गरी बनाइएको प्रदेश र स्थानीय तहको संरचना, नामाङ्कन र सीमाङ्कन पूर्णरुपमा भए बहुसंख्यक जनताको लागि कल्याण हुने थियो।

एकात्मक औपनिवेशिक राज्यसत्तालाई बलियो बनाउनको लागि ल्याइएको जातिवादी, विभेदपूर्ण गैरलोकतान्त्रिक नेपालको मुलकी (संहिता) ऐन २०७५ थप परिमार्जन र पुनर्लेखन गर्न आवश्यक देख्छु।

वर्तमान सरकारले बहुमतको नाममा भ्रष्टाचार, कालोबजारी, महँगी, करको अत्यधिक वृद्धि, महिला हिंसा, बलात्कारलगायत जनविरोधी एवं गैरलोकतान्त्रिक कार्यको अन्त्य गर्न सबै खाले लोकतान्त्रिक शक्तिहरू एकजुट हुने बेला आएको छ।

सरसर्ती भन्नुपर्दा मुलुकको अवस्था चिन्ताजनक छ। सरकार विभिन्न खाले कानुन ल्याउन उद्यत छ। यसका कारण आमजनता दुखित छन्।

मिडिया काउन्सिल विधेयकलाई हेर्दा पत्रकारलाई पत्रकारिता नै छोड भन्ने जस्तो छ।
गुठी विधेयक त सरोकारवालाहरूको दबाबले फिर्ता नै लिनुपर्यो। अरू यस्तै खाले जुन विधेयक सरकारले ल्याउँदै छ, जसबाट सरकारले हार बेहोर्नुपर्नेछ।

त्यसो त प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस जनविरोध–कानुन ल्याउन सरकारलाई रोक्न चाहिने जस्तो विरोध गरिरहेको छैन। त्यसैले सरकारलाई एकपछि अर्को जनविरोधी विधेयक ल्याउन सजिलो भइरहेको देखिन्छ।

वर्तमान सरकारको देखाउने दाँत एउटा, खाने दाँत अर्को जस्तो देखिन्छ। यो कुरा आमजनताले पनि बुझिसकेका छन्। तर यसबाट उम्कनचाहिँ सकेका छैनन् जनता, स्वच्छ र सही राजनीतिका लागि बाटो खोजिरहेका छन्।

विकल्प खोजिरहेका छन् जनता। अब अरू कुनै पार्टीले आफ्नो हैसियतले भ्याएसम्म विकल्प दिनुपर्छ भन्ने हामीलाई लाग्छ।

देश भ्रष्टाचार, कुशासनमा व्याप्त छ। यसबाट पनि जनता आजित छन्। यस अवस्थामा हामी जनताको साथी हुन चाहन्छौं।

सरसर्ती भन्दा वर्तमान अवस्था अन्यौलपूर्ण छ। वर्तमान सरकारले जनतालाई ढाँटिरहेको हामीलाई अनुभूत हुन्छ। सरकार एउटा कुरा गर्छ, काम अर्को गर्छ। काठमाडौंको सडकको अवस्थालाई हेरेर सरकार कसरी चलिरहेको छ, स्पष्ट देखिन्छ।

मन्त्रीहरू चिल्लो गाडीमा हुइँकिरहेका छन्। जनता उकुसमुकुस बस्न, धूलो–धुवाँ सहेर यात्रा गर्न विवश छन्। शहरबजार अस्तव्यस्त छ। निमुखा जनताले कतै न्याय पाएका छैनन्।

जनता आजित भइसके तर सरकारलाई केही मतलब छैन। यहाँका कुनै पार्टीले ब्राह्मणवादको विरोध गरिरहेको छन् तर ब्राह्मणको विरोध गर्दैनन्।

किनकि ब्राह्मण पनि उत्पीडनमा छन्। क्षत्री पनि उत्पीडनमा छन्, जनजाति पनि उत्पीडनमा छन्। केही सीमित ब्राह्मणवादीहरूले मात्रै राज्यको अधिकारमा आफ्नो हैकम जमाएर बसिरहेका छन्। यसको हामी विरोध गर्नु स्वाभाविक ठान्छौं।

वर्ग, क्षेत्रको समानुपातिक प्रतिनिधित्व हुने गरी राज्य सञ्चालन गरिनुपर्छ। सरकारमा सबै तहका जनताको दुःखको साथी सुखको पनि साथी हुनु अवाश्यक छ।

तर कुरा एउटा काम अर्को गर्दै वर्तमान सरकार सञ्चालकहरूको नियतमाथि प्रश्न खडा भएको छ। सत्तारुढ नेकपाका नेताहरूले सरकारमा आउँदा खोइ त चुनावी घोषणापत्रअनुसार काम गरेको ?

यो प्रश्न मैले मात्र होइन, आमजनताले उठाइरहेका छन्। हामीले सरकारको विरोध गर्दा तिमीहरूचाहिँ के गरिरहेका छौ भनिएला।

स्पष्टरुपमा भन्नुपर्दा जनताको लागि सरकारी नियमबाट अधिकार दिलाउने ठाउँमा हामी पुगेका छौं।

यसको लागि केही समय लाग्छ होला। हामीले अर्को तरिकाबाट संगठित भई आवाज बुलन्द गरेर अधिकार दिलाउने सवालमा कहीँ–कतै चुकेका छैनौं।

हामीले बुझेसम्म जनताले हामीलाई सकारात्मक दृष्टिकोणले हेरिरहेका छन्। र, साथ पनि दिइरहेका छन्।

हामी जनताकै माया, ममता, सद्भावबाट अघि बढिरहेका छौं। हाम्रो नीति–नियम गरिब, निमुखा, उत्पीडित जनताकै लागि हो।

नेपाल लोकतान्त्रिक पार्टी कसरी चलिरहेको छ भन्ने कुरा आगामी निर्वाचनमा देखिएला। कुनै पार्टीको विरोध गरेर हाम्रो पार्टी बलियो बन्छ भन्ने छैन।

हामी आफ्नो स्पष्ट ‘भिजन’ले जनताको मन जित्न चाहान्छौं। हामी जे भन्छौं, त्यही अनुसार अघि बढ्छौं। हामी विभिन्न गलत तौरतरिका अपनाएर जनतालाई झुक्याउन चाहँदैनौं।

हाम्रो पार्टी आफ्नो नीति, विचार र एजेन्डालाई लिएर जनतामाझ गइरहेको कुरा स्पष्ट पार्न पनि चाहन्छौं।

हामी वर्तमान गलत अवस्थालाई चिर्दै सडकमा पनि आफ्नो क्षमताले भ्याएसम्म विभिन्न सभा–सम्मेलन, कार्यक्रम, विभिन्न एकाइ गठन गरिरहेका छौं।

हामी जहाँ–जहाँ जान्छौं, जनता सकारात्मक रहेको पाएका छौं। हाम्रो पार्टी सानो भए पनि विचारमा ठूलो छ।

विचार र सिद्धान्तमा माथि छ। यस हिसाबले भन्नुपर्दा हामी भ्याएसम्म जनपक्षीय आवाज उठाइरहेका छौं।

केन्द्रीय कमिटी हुँदै प्रदेश, जिल्ला क्षेत्र स्थानीय तहमा हामीले विभिन्न कमिटी निर्माण गरिरहेका छांै। हाम्रो विचार र सिद्धान्त नै पहिला जनतालाई बुझाइरहेका छौं।

यही हाम्रो पार्टीको जनमत कांग्रेसको जतिको भइदिएको भए मात्र हामी वर्तमान सरकारलाई जनविरोधी कार्य गर्न दिने थिएनौं।

कांग्रेसले चुपचाप लाग्दा सरकारले काण्डैकाण्ड मचाइरहेको छ। गुठी विधेयक, मिडिया काउन्सिल विधेयक सरोकारवालाहरूलाई ठीक छ त ?

छैन, स्वयं सरोकारवालाहरूको नै आवाज आइरहेको छ। कांग्रेस चुप लाग्दा नेकपाको नेतृत्वको सरकारलाई जनविरोधी काम गर्न सजिलो भएको छ।

त्यसैले कांग्रेस नबोले पनि, अन्य दल नबोले पनि वा कांग्रेस सशक्तरुपमा अघि नबढे पनि देशबाट भ्रष्टाचार अनियमितता उन्मूलन गर्न, जनस्तरबाटै खबरदारी गर्ने बेला आएको छ।

भ्रष्टाचार निराकरणका लागि सम्पूर्ण नेपाली जनता स्वस्फूर्तरुपमा नियम–कानुनको ज्ञाता हुनुपर्छ र आफ्नो कामको प्रक्रिया आफंैले बुझ्न सक्ने क्षमताको हुनुपर्छ।

यो क्षमताको राज्य तहबाट विकास गराउनुपर्छ। वर्तमान सरकारबाट आजित भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी आन्दोलनमा होमिन कार्यकर्तालाई निर्देशन दिएको प्रचारमा आएको छ।

यदि कांग्रेस इमानदाररुपमा आन्दोलनमा जाने हो भने आन्दोलन सफल होला। वर्तमान कम्युनिस्ट सरकार सर्वसत्तावाद लाद्न उद्यत रहेको देउवाको भनाइ छ।

यदि देउवाले भनेझैँ कांग्रेस गाउँनगरमा पुगेर जनताको पक्षमा लाग्न र सरकारलाई जागृत बनाउन सफल भयो भने त्यो मुलुकको लागि फलदायी होला।

यसै मेसोमा उपनिर्वाचनको चहलपहल पनि भइरहेको छ। हाम्रो पार्टी निर्वाचनमा सशक्तरुपमा भाग लिनेछ र स्वच्छ निर्वाचन प्राणलीको लागि आवाज उठाउँछ।

हामीले पनि निर्वाचन स्वच्छ, निष्पक्ष एवं धाँधलीरहित रुपमा गर्न सहयोगीको भूमिका निर्वाह गर्छौं। हामी आफ्नो स्रोत, साधनले भ्याएसम्म निर्वाचनमा सहभागी हुन्छौं।

उपनिर्वाचन हाम्रो पार्टीको पनि जनमत बुझ्ने अवसरको रुपमा हामीले लिनेछौं। हाम्रो स्रोत, साधन र जनशक्तिअनुसार हामी उपनिर्वाचन हुने सबै ठाउँमा उम्मेदवार उठाउनेछौं।

समग्रमा भन्नुपर्दा देशमा सत्तापक्ष र प्रतिपक्षको मिलाप छैन। सरकार एउटा काम गर्छ, प्रतिपक्ष अर्को कुरा गर्छ। सत्तापक्ष र प्रतिपक्षमा जनता विभाजित छन्।

हुन त विश्वमै सत्तापक्ष र प्रतिपक्षबीच मिलाप हुँदैन। सत्तामा रहेकाले प्रतिपक्षलाई पेल्ने काम हुन्छ। सत्तापक्षले जनविरोधी काम गरे पनि त्यसको सुनुवाइ हुँदैन।

देशमा भ्रष्टाचार, अनियमितता, अत्याचारलगायतका काम हुँदा प्रतिपक्ष सडकमा भने आएको हामीले विश्वराजनीतिबाट देखेका, भोगेका छांै।

नेपालमा पनि प्रतिपक्ष कांग्रेसले सरकारलाई खबरदारी गर्ने छनक देखाएको छ। यदि कांग्रेसले ढिला नगरी जनपक्षीय आन्दोलन गर्यो र सरकारलाई खबरदारी गर्यो भने अनि वर्तमान सरकार सच्चियो र चुनावी घोषणापत्रअनुसार अघि बढ्यो भने देशमा मेलमिलापको बाटो निर्माण हुनेछ।त्यसमा हामी पनि सहयोगी बन्नेछौं।

(लामा नेपाल लोकतान्त्रिक पार्टीका उपमहासचिव हुनुहुन्छ।)

 

प्रतिक्रिया दिनुहोस्