न्युयोर्कमा चौधरीको विश्व काव्ययात्रा



माग्दिनँप्रभु म तिम्रो स्वर्ग देऊ,
यही धर्ती भए पुग्छ, यही शान्ति भए पुग्छ।

कुनै पनि समारोहको आरम्भ गर्नुअघि ईश्वरको वन्दना गर्ने प्रचलनअनुसार गीतकार तथा कवि वसन्त चौधरीले आफ्नो विश्व–काव्ययात्राको दोस्रो चरणअन्तर्गत बुधबार साँझ अमेरिकाको न्युयोर्क शहरमा एकल कविता वाचनको शुरूआत गर्दै वन्दना गरे।

कविता वाचनका माध्यमले प्रवासी नेपालीलाई आफ्नो भाषा, साहित्य र संस्कृतिप्रति अभिरुचि जगाउँदै नेपाली भाषा–साहित्यको प्रचार–प्रसार गर्ने र नेपाली वाङ्मयको वर्तमान अवस्थाबारे बोध गराउने उद्देश्यले आयोजना गरिएको एकल कविता वाचन कार्यक्रममा कवि चौधरीले डेढ दर्जनजति कविता सुनाएर साहित्यप्रेमीलाई मुग्ध बनाए।

प्रेम–कविता त गीतकार तथा कवि चौधरीको परिचय भई नै हाल्यो। यसपटक भने उनले प्रेमबाहेक राजनीतिक विसंगति, सामाजिक घटना र प्रकृतिबारे करिब २ घण्टासम्म लगातार कविता सुनाएका थिए।

विछोड पनि माया नै हो
सम्झना भई आइरहन्छ
जति टाढा भए पनि के भो र?
स्पन्दनले गुनगुनाइरहन्छ
चौधरीले कवितामै भने।

प्रतिष्ठित उद्योपतिसमेत रहेका उनले कविता वाचनकै क्रममा भने– ‘उद्योगी–व्यवसायीहरू कवि हुन सक्दैन भन्ने आम धारणा छ।

त्यसैले, म आपूmलाई कवि होइन, काव्यको उपासक मान्दछु र आराधना गर्दछु। त्यही उपासनाको क्रममा ममा जुन भावहरू उर्लन्छन्, तिनमा डुबुल्की मार्दा मेरा हातमा कहिले सीपी, कहिले मोती आउँछन् र तिनलाई अक्षरको रूप दिएर सजाउँदा, ती कविता बन्छन्।’

कविता वाचनसँगै उनको व्याख्यान पनि त्यत्तिकै रोचक र प्रभावकारी मानिँदै आएको छ। अन्तर्राष्ट्रिय नेपाली समाज (अनेसास), न्युयोर्क च्याप्टरद्वारा आयोजित १९औं शृङ्खलामा भने उनी कविता वाचन गर्दै थिए।

कविता वाचनका क्रममा उनले आफ्ना दुई लोकप्रिय गजल पनि सुनाएका थिए। कविता वाचनकै क्रममा प्रवासमा बस्नेहरूकै लागि लेखिएको म सन्देश लिएर आएको छु र आमा कविता वाचन गर्दा दर्शक/स्रोता गम्भीर र विह्वल भएका थिए।

‘आमा शब्द उच्चारण गर्नासाथै एक किसिमको स्नेह र ममत्वको भाव नसानसामा सञ्चारित हुन्छन्। प्रेम र वात्सल्य छताछुल्ल भएर हृदयमा तरंगित हुन थाल्छन् र, भावनाका अजस्र स्रोतहरू एकैपटक रसाएर बग्न थाल्छन्।

आमाबिनाको संसार कस्तो उराठ लाग्दो र एकांकी हुन्छ? यसको अनुभूति मलाई छ। त्यसैले आमा ब्रह्माण्डकै सर्वप्रिय, सर्वपूज्य अनि हृदय र ढुकढुकीभन्दा पनि निकटको नाता हो।’ –आमा कविता वाचन गर्नुअघि उनले भने।

यसअघि ८ सेप्टेम्बरमा क्यानडामा आफ्नो काव्ययात्रा सम्पन्न गरेर न्युयोर्क पुगेका कवि चौधरीले विश्व–काव्ययात्राको २०औं शृङ्खला आइतबार भर्जिनियामा प्रस्तुत गर्दै छन्।

प्रतिक्रिया दिनुहोस्