चैतमा सगरमाथा डाइलग तयारी अहिलेदेखि नै



काठमाडौं, (नेस)।जलवायु परिवर्तनले हिमालय क्षेत्रलाई पारिरहेको प्रभावबारे विश्वको ध्यानाकर्षण गराउन नेपालले अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ।

जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेको नेपालले असरको सामना गर्दै अनुकूलनका अभ्यास अनुशरण गरिरहेका विविध उदाहरण विश्वलाई बताउन/बुझाउन परराष्ट्र मन्त्रालयको पहलमा आगामी चैतमा ‘सगरमाथा डाइलग’ नामक अन्तर्राष्ट्रिय जमघट हुने भएको हो।

चैत २१ र २२ गतेका लागि तय भएको सम्मेलनमा विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुख, विषयविज्ञसहित करिब दुई सय प्रतिनिधि सहभागी रहने गरी तयारी अघि बढाइएको मन्त्रालयले जनाएको छ।

सम्मेलनको नारा ‘जलवायु परिवर्तन हिमाल र भविष्यको मानवता’ तय गरिएको छ। सम्मेलनलाई लक्षित गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अध्यक्षता गर्ने निर्देशक समिति र विषयविज्ञ आबद्ध विषयगत समितिका बैठक जारी रहने बताइएको छ।

डाइलगको तयारीस्वरूप विषय विज्ञबाट राय सुझाव लिन परराष्ट्रले अगामी असोज पहिलो साता सम्मेलन आयोजना गर्दै छ।

गत वर्ष स्वीजरल्यान्डमा आयोजना भएको विश्व आर्थिक मञ्चको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय मुद्दासँग जोडिएर नेपालले सम्मेलन आयोजना गर्ने बताउनुभएको थियो।

परराष्ट्रले आफ्नै मातहतको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानलाई डाइलगको सचिवालय तोकेको छ। स्थायी मञ्चका रुपमा रहने डाइलगले हरेक दुई वर्षको अन्तरमा विविध विषयमा केन्द्रित रहने बताइएको छ।

यसअघि नेपालले जलवायु परिवर्तनको विषयसँग केन्द्रित रहेर विश्वको ध्यानकर्षण गराउन २०६६ मंसिरमा सगरमाथाको आधारशिविर कालापत्थरमा मन्त्रिपरिषद्को बैठक आयोजना गरेको थियो।

प्रतिक्रिया दिनुहोस्