ट्राफिक प्रहरीको चाडबाड सुरक्षा योजना टिकट काउन्टरका कर्मचारीलाई अनिवार्य पोसाक



ईश्वरराज ढकाल, काठमाडौं।दशंैमा टिकट बिक्री गर्ने टिकट काउन्टरका कर्मचारी, सवारीसाधन चालक र सहचालकले अनिवार्यरूपमा पोसाक लगाउनुपर्नेछ।

दशैंमा बिचौलियामार्फत टिकट काट्ने र ठगी हुने प्रचलनलाई अन्त्य गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाको अगुवाइमा सो नियम लागू गरिएको हो।

सरकारले अनिवार्यरूपमा पोसाक लगाउनुपर्ने निर्णय गरे तापनि कार्यान्वयन हुन नसकेपछि ट्राफिक प्रहरी महाशाखाले यातायात व्यवसायीको सहयोगमा सो व्यवस्था गरेको हो।

तोकिएको स्थानभन्दा बाहिर मनोमानीरूपमा टिकट बेच्ने काम रोक्न सो व्यवस्था गरिएको हो।महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले दशैं र तिहारलगायत चाडबाडमा अनिवार्यरूपमा पोसाकको व्यवस्था गरिएको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘बुधबारबाट कलंकी र बिहीबारदेखि बसपार्कमा सो व्यवस्था लागू गरेका हौं।’ दशैंमा टिकट बिक्री हुने सबै बसपार्कमा काम गर्ने कर्मचारी र उपत्यकाबाट बाहिरिने यातायातका चालकलाई पोसाकको व्यवस्था गर्न लागिएको हो।

उपत्यकाको ट्राफिक व्यवस्थापन व्यवस्थित गर्न र उपत्यकाबाट बाहिरिने यात्रुको सुविधाका लागि १५ स्थानमा नागरिक प्रहरी सहायता कक्ष राख्ने भएको छ। विशेष गरी उपत्यकाका सबै बसपार्क र यात्रु भीडभाड हुने क्षेत्रमा सेवा केन्द्र स्थापना गर्न लागेको हो।

महाशाखा प्रमुख एसएसपी ढकालले यात्रुलाई कुनै पनि किसिमको ठगी हुनबाट जोगाउन सहायता केन्द्र स्थापन गर्न लागेको जानकारी दिनुभयो।

प्रहरीले दशैंलक्षित ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्न मापसेलाई कडाइ गर्न थालेको हो। प्रहरीले ४२ स्थानमा हुने मापसे चेकिङलाई ५५ स्थान बनाएको हो।

महाशाखामा कार्यरत १ हजार ३ सय ६८ प्रहरीमध्ये दशैंतिहार ट्राफिक व्यवस्थापन गर्न करिब ८ सय जना ट्राफिक प्रहरी खटाउने भएको छ।

महाशाखा प्रमुख एसएसपी ढकालले मापसे चेकिङ, लेन अनुशासन, पार्किङ व्यवस्थापनलगायतका विषयमा कडाइ गर्न लागिएको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘ट्राफिक प्रहरीलाई सुधारिएको व्यवहार गरी चाडबाडमा यात्रुलाई कुनै पनि समस्या हुन नदिन निर्देशन दिएका छौं।’

प्रहरीले राजधानीको ट्राफिक व्यवस्थापन गर्न करिब ५ सय युवा परिचालन गर्ने भएको छ। विशेष गरी कोरक्षेत्र, भीडभाड हुने सपिङ मललगायतका क्षेत्रमा ती युवाले जनताको सहयोग गर्नेछन्।

त्यसका लागि महाशाखाले नेपाल स्काउट, विभिन्न युवा क्लब, समुदायलगायत युवा आबद्ध संघसंस्थासँग सहकार्य गर्ने भएको छ। विशेष गरी दशैंमा किनमेल गर्ने उपभोक्ताको सहजता र ट्राफिक व्यवस्थापन गर्न नयाँ योजना ल्याइएको महाशाखाले जनाएको छ।

पछिल्लो तथ्यांकअनुसार हाल उपत्यकामा करिब ९ हजार सवारीसाधन सञ्चालनमा रहेका छन्। दशैंमा अधिकांश सवारी साधन बाहिरिने भएपछि उपत्यकाको ट्राफिक व्यवस्थापनमा केही सहज हुनेछ।

‘चाडबाडको समयमा मापसे गर्नेको संख्या बढ्ने भएपछि महाशाखाले यसलाई चुनौतीका रूपमा लिएको छ। त्यसैले चाडबाडको समयमा स्थान परिवर्तन गरी मापसे चेकजाँच र नियमलाई कडा बनाउनेछौं।’ –एसएसपी ढकालले भन्नुभयो।

उपत्यकामा एक जना ट्राफिकले करिब ९ सय सवारीसाधनको सुरक्षा गर्नुपर्ने देखिएको छ। ती सवारीसाधनलाई व्यवस्थित गर्न नयाँ योजना अघि बढाइएको महाशाखाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्