मुलुकको परराष्ट्र नीति विपरीत हुने कूटनीति गतिविधिलाई रोक्न माग  



काठमाडौँ  । सत्तारुढ तथा प्रतिपक्षी दलका सांसदले मुलुकको परराष्ट्र नीति विपरीत हुने कूटनीति गतिविधिलाई नियन्त्रण गरिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आज भएको बैठकको विषेश समयमा आफ्नो धारणा राख्दै उहाँहरुले कूटनीतिक समान धारणा बनाएर नेपालले असंलग्न परराष्ट्र नीति विपरीत कुनै पनि मुलुकको पक्ष वा विपक्षमा लाग्न नहुने धारणा राख्नुभयो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद पम्फा भुसालले ‘इण्डोप्यासिफिक’बारे सरकारलाई अमेरिकी राजदूतावासले स्पष्टिकरण सोधेको भन्ने विषयको यथार्थ जानकारी दिन माग गर्नुभयो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भएको भेटवार्ताका सम्बन्धमा भएको कुराकानीको विषयलाई लिएर अमेरिकी राजदूतावासले स्पष्टीकरण सोधेको भन्ने विषयबारे सरकारसँग जवाफ माग गर्नुभयो ।

उहाँले भन्नुभयो, “पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेकपाका अध्यक्ष ‘प्रचण्ड’ले चिनियाँ विदेशमन्त्रीसँग गरेको कुराकानीको विषयलाई लिएर अमेरिकी दूतावासले स्पष्टीकरण सोधेको हो कि होइन ? यदि त्यस्तो हो, भने सार्वभौम मुलुकको कूटनीति विपरित छ, यस्ता गतिविधि नियन्त्रण गर्न राज्य बेलैमा सजक हुनुपर्छ ।”

सांसद भुसालले अमेरिकी सेना र सशस्त्र प्रहरीबलबीच हुने भनिएको सैन्य अभ्यास रोक्न पनि माग गर्नुभएको छ । उहाँले छिमेकी मुलुक चीन र अमेरिकाबीच व्यापारिक विवाद चुलिएको सन्दर्भमा, असंलग्न परराष्ट्र नीतिविरुद्ध कुनै पनि एलाइन्समा लाग्न नहुने भन्दै पञ्चशिलको सिद्धान्तम अडिक रहेर यस्ता तालीम सञ्चालन गर्न नदिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

अमेरिकाले अन्नपूर्ण सर्किट र कुरिनटारमा आगामी नोभेम्बर महीनामा सैन्य अभ्यास गर्ने भन्दै उहाँले निवेदन दिएको सुन्नमा आएकोले त्यस्तो प्रकारको अभ्यास नगर्न आग्रह गर्नुभयो । नेपाल इन्डोप्यासिफिक सैन्य समूहमा नरहेकाले उक्त अभ्यास गर्न नहुने सांसद भुसालको भनाइ थियो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद अमरेशकुमार सिंहले सरकारको परराष्ट्र नीतिको कमजोरीले मुलुकलाई अफ्ठयारो पारेको आरोप लगाउनुभयो । उहाँले पछिल्ला भ्रमणको विषयलाई लिएर विभिन्न विषय सतहमा आएको तथा दुवै छिमेकी मुलुक भारत र चीनलाई समान व्यवहार गरिनुका साथै ‘इन्डो प्यासिफिक अलाइन्स’ र ‘बिआरआई’ जस्ता समूहमा नेपालले सदस्यता लिन नहुने धारणा राख्नुभयो ।

काङ्ग्रेसकै सांसद सांसद सञ्जय गौतम र सुजाता परियारले दशैँ, तिहारजस्ता महत्वपूर्ण चाड पर्व नजिएिकसँगै दैनिक उपभोग्य वस्तुमा महङ्गी, कालाबजारी बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद गौतमले डेङ्गु प्रकोपबारे तालुकदार मन्त्रालयले बेवास्था गरेको भन्दै स्वास्थयमन्त्रीको आलोचना गर्नुभयो ।

राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद महेन्द्रराय यादवले तराई क्षेत्रमा केही समय पहिले बाढीको समस्या भएको अहिले खडेरीले कृषिजन्य बालीनाली नष्ट हुने अवस्थामा आएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । नेकपाका सांसद राजबहादुर बुढाले निजीक्षेत्रको मोबाइल फोन सेवाप्रदायक कम्पनी एनसेलले सर्वोच्च अदालतको फैसला बमोजिम कर तिर्न अटेरी गरेको भन्दै त्यस विषयमा कडा कदम चाल्न सरकार समक्ष माग गर्नुभयो । काङ्ग्रेस सांसद किरण गुरुङले भ्रष्टाचार नियन्त्र, सुशासन कायमलगायतका कार्यका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्