धर्मनिरपेक्षता खारेजीको माग



अमृत अर्याल, स्याङ्जा । विश्व हिन्दु महासंघ नेपाल जिल्ला शाखा स्याङ्जाले आयोजना गरेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले संविधानमा उल्लेख गरिएको धर्मनिरपेक्षता नहटाएमा संविधान समाप्त हुने बताएका छन् । सदियौं देखि सनातन धर्म सगै हिन्दुत्व जोडिएको मुलुक नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरेर बनेको संविधान दिगो नहुने बक्ताहरुले बताएका हुन् ।

विश्व हिन्दु महासंघ नेपाल जिल्ला शाखा स्याङ्जाले आयोजना गरेको वालिङ नगर अधिवेसनको उद्घाटन समारोहमा अधिकांश हिन्दुत्व तागाधारी विद्धानहरुले नेपालीहरुको नासोको रुपमा रहेको हिन्दुराज्य हटाएर धर्मनिरपेक्ष लेखिदा करोडौ हिन्दुहरुको मन दुखेको बताएका थिए ।

नेपाली जनताको अभिमतालाई एकातिर थन्काएर ल्याएको धर्मनिरपेक्षता हामीलाई मान्यता हुने छैन विश्वहिन्दु महासंघ नेपालका सल्लाहकार तथा प्रखर बक्ता चिन्तामणि योगीले भन्नुभयो,“ दलिय भागवण्डाका आधारमा नेपालको हिन्दुराज्य हटाएर धर्मनिरपेक्ष राज्य घोषणा गर्ने अधिकार कसैले दिएको छैन ।” प्रजातन्त्र देखि लोकतन्त्रका निम्ति लडेका नेपाली जनतालाई झुक्काएर ल्याइएको संविधानबाट धर्म निरपेक्ष नहटाइएमा संविधान दिगो नहुने योगीले बताउनुभयो ।

गाई माता बचाउ, सिमाना बचाउ, नदी बचाउ तर धर्मको नाममा परिवर्तनको आगो निभाउ, योगीले भन्नुभयो,“धर्मनिरपेक्ष राज्य घोषणा गरेपछि देश अस्थिर अवस्थामा घुमेको छ ।” सस्कृति हटे संस्कार हट्छ, संस्कार हटे धर्म हट्छ त्यसैले हाम्रो संस्कृति, संस्कार र धर्म बचाउन सबै लाग्नुपर्नेमा योगीले जोड दिनुभयो । मुलुकलाई धर्म निरपेक्षता हटाएर हिन्दु राज्य घोषणा गर्न सबै एक हुनुपर्ने धारणा योगीको थियो ।

मुलुकमा हत्या, हिंसा, अत्याचार, बलात्कार, भ्रष्टाचार बढिरहेको भन्दै यसको अन्त्य नै हिन्दु संस्कार मात्रै हुने दावी बक्ताहरुको छ । कार्यक्रममा विश्व हिन्दु महासंघका बरिष्ठ उपाध्यक्ष भरत पौडेलले जनताले हिन्दु राज्य हटाउन मत नदिएको जिकिर गर्दै आगामी दिनमा हिन्दु विरोधी उमेदवारलाई मत नदिन आग्रह गर्नुभयो । हिन्दुराज्य राष्ट्रियता सगँ गाँसिएको छ पौडेलले भन्नुभयो,“गौ हत्या गर्नेदेखि लिएर हिन्दुको संस्कृति माथी दिनप्रतिदिन प्रहार भइरहेको छ ।” हिन्दु राज्य घोषणा नहुने समय सम्म संघको लडाई निरन्तर रहने पौडेलले बताउनुभयो ।

देशभरका हिन्दुहरुको मागलाई दलिय सरकारले पुरा नगरेमा आन्दोलनको आधीबेहरी आउने चेतावनी पौडेलले दिनुभयो । नगर अधिवेसनले सीताराम अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्