नक्कली भूकम्पपीडितले घर बनाएकाे पाइए अनुदान फिर्ता हुने



भक्तपुर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पको लाभग्राही सूचीमा परेको भूकम्पपीडितले आउँदो कात्तिक मसान्तभित्र घर निर्माण कार्य शुरु नगरे अनुदान नपाइने बताउनुभएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, भक्तपुरले आज यहाँ आयोजना गरेको निजी आवास पुनर्निर्माण कार्यक्रमसम्बन्धी गोष्ठीमा उहाँले कात्तिक मसान्तभित्र घरको जग पनि नहाल्ने लाभग्राहीले अनुदानको रकम नपाउने बताउनुभयो ।

तेस्रो किस्ता आगामी माघ मसान्तसम्म लिई सक्नुपर्ने गरी घर निर्माण शुरु गर्न आग्रह गर्दै उहाँले गाउँगाउँमा रहेका इञ्जिनीयरलाई गाउँ नछाड्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “विभिन्न परीक्षा र अन्य बाहनामा कोही पनि इञ्जिनीयरले गाउँ नछाड्नुस्, काम गर्न मन नलागे बिदा लिनुस्, तर गाउँ नछाड्नु, गाउँ छाड्ने र प्रभावकारी रुपमा काम नगर्ने इञ्जिनीयरलाई अब बिदाइ गरिन्छ ।”

उहाँले वडादेखि नगरपालिकासम्मका प्रमुखलाई दैनिक काममा नजाने इञ्जिनीयरलाई हाजिर नगराउन आग्रह गर्नुभयो । उहाँले स्थानीय जनप्रतिनिधि र इञ्जिनीयरले एकै पटक परिचालन हुँदै आ–आफ्नो क्षेत्रमा कहिलेसम्म पुनर्निर्माणको काम सम्पन्न गराउने भन्नेबारेमा लक्ष्य निर्धारण गर्दै योजनाबद्ध रुपमा काम गर्नुपर्नेमा जोड दिनुभयो । सरकारले आफैँ धितोजमानी बसेर सहुलितयमा तीन लाखसम्मको ऋण दिने भने पनि भूकम्पपीडितले ऋण लिन नसकेको अवस्था र कारण पहिचान गर्न इञ्जिनीयरलाई निर्देशन दिँदै उहाँले जनप्रतिनिधिले यसमा सहयोग गर्न आग्रह गर्नुभयो ।

नक्कली भूकम्पपीडितले घर बनाएका छन् भने त्यसको पहिचान गरी कानूनीरुपमा पहिलो किस्ता फिर्ता गर्ने र घर बनाउनै नसकेर नबनाएकाको हकमा भने समस्या पहिचान गरेर समाधान खोज्ने उहाँको भनाइ थियो । कार्यक्रममा प्राधिकरण भक्तपुर एकाइका प्रमुख धु्रव गैडालगायत विभिन्न व्यक्तिले पुनर्निर्माणको पछिल्लो अवस्थाबारेमा आफ्ने प्रस्तुतीकरण राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्