पाँच करोडको ‘इन्द्रजात्रा पर्व अक्षय कोष’को स्थापना



न्युज अफ नेपाल, काठमाडौँ । पाँच करोडको ‘इन्द्रजात्रा पर्व अक्षय कोष’को स्थापना भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले आज राजधानीमा आयोजित एक कार्यक्रमका बीच सो कोषको घोषणा गर्नुभएको हो । काठमाडौं उपत्यकामा लामो समयदेखि परम्परागत रुपमा संचालनमा रहेका जात्रा पर्वमध्ये ईन्द्रजात्रा लगायत उक्त अवसरमा संचालन हुने जात्रापर्वको संचालन तथा व्यबस्थापन गर्नका लागि नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७६ साल भदौ २० को बैठकले ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षयकोष’ को स्थापना गर्ने गरेको निर्णय अनुसार उहाँले आज सो घोषणा गर्नुभएको हो ।

सो अक्षय कोष सञ्चालन समितिको अध्यक्ष काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य रहनुभएको छ । अध्यक्ष कोषको घोषणा गर्दै मन्त्री भट्टराईले कोषमा नेपाल सरकारबाट १ करोड ५० लाख, प्रदेश सरकार (३ नं.) बाट १ करोड, काठमाडौं महागरपालिकाबाट २ करोड र गुठी संस्थानबाट ५० लाख रकम जम्मा जानकारी समेत दिनुभयो । ‘काठमाडौ उपत्यकामा लामो समयदेखि परम्परागत रुपमा संचालनमा रहेका जात्रा पर्वहरुको विशिष्ठ खाले महत्व रहँदै आएको छ,’ कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री भट्टराईले भन्नुभयो, ‘यहाँका जात्रा–पर्वलाई प्रधानमन्त्री केपी शर्मा ओलीज्युले पनि विशेष महत्वका साथ हेर्नुभएको छ । काठमाडौँ महानगरपालिकाका मेयरज्युको पहल, हाम्रो प्रयास र प्रधानमन्त्रीज्युले विषेश चासो लिएकाले नै यो सम्भव भएको हो ।’

मन्त्री भट्टराईले वर्तमान सरकार उपत्यकाको संस्कृति, संम्पदा र परम्पराप्रति सचेत छ भन्ने प्रमाण पनि यो भएको बताउनुभयो । ‘वर्तमान सरकार उपत्यकाको संस्कृति, संम्पदा र परम्पराप्रति सचेत छ,’ उहाँले भन्नुभयो, ‘यो प्रारम्भीक प्रयास हो, आवश्यक पर्यो भने हामी रकम थप गर्न तयार छौँ । मन्त्री भट्टाईले कार्यविधी निर्माणको काम महानगरले नै गर्ने पनि बताउनुभयो । उहाँले गुठीलगायतका विषयमा पनि सचेत रहेको भन्दै केही समस्या भए छलफल गरेर अघि बढ्न सरकार तयार रहेको जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्वोधन गर्दै मेयर शाक्यले अक्षय कोष स्थापनाका लागि राष्ट्रपति विद्या भण्डारीज्युको पनि विशेष चासो रहेको बताउनुभयो । ‘मैले आज मात्रै पनि राष्ट्रपतिज्युसँग भेट गरेको थिएँ,’ मेयर शाक्यले राष्ट्रपति भण्डारीको भनाई उध्रित गर्दै भन्नुभयो, ‘उहाँले आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।’

मेयर शाक्यले अक्षय कोष स्थापनाका लागि गरेको प्रयास सफल भएको भन्दै खुशी व्यक्त गर्नुभयो । ‘अब जात्रा–पर्वका लागि खर्च जुटाउँदै हिड्ने परम्पराको अन्त्य हुने हामीले अपेक्षा गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘यहाँका संस्कृति, परम्परा र सम्पदाको महत्वलाई अझ बलियो बनाउनका लागि मेरो प्रयार निरन्तर रहने छ ।’

कोष संचालक समितिको अध्यक्षमा मेयर शाक्यसँगै सदस्यहरुमो पर्यटन मन्त्रालयको प्रतिनिधि एक जना, प्रदेश तीन सरकारको प्रतिनिधि एक जना, गुठी संस्थानको प्रतिनिधि एक जना, दरबार हेरचाह अड्डाको प्रमुख, इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष र महानगरपालिका सम्पदा तथा पर्यटन विभागका प्रमुख सदस्य सचिव रहने छन् । इन्द्रजात्राको संचालन सम्बन्धी कार्यविधि काठमाडौं महानगरपालिकाबाट निर्धारण भए बमोजिम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्