तीन दशकमा पनि बनेन कुस्माको बसपार्क



न्युज अफ नेपाल, पर्वत । तत्कालीन पोखरा–बागलुङ सडकको ट्र्याक खुलेको ३ दशक भयो । २०४६ अघि धौलागिरिवासीले चार पाङ्ग्रे सवारी देख्न स्याङ्जा, पोखरा वा बुटवल पुग्नुपर्थ्यो । धौलागिरिमा पहिलोपटक सडकको ट्र्याक खुल्ने बेलामै कुश्मावासीले एउटा व्यवस्थित बसपार्कको कल्पना गरेका थिए ।

तर, ३ दशकसम्म सदरमुकाम कुश्मामा व्यवस्थित बसपार्क धेरै परको कुरा भइसकेको छ । स्थानीयले व्यवस्थापन गरी छुट्याएको जमिनको समेत व्यवस्थापन हुन नसक्दा बसपार्क सपना पूरा हुन नसकेको हो ।

पछिल्लो समय जिल्ला हुँदै गुड्ने सवारीको चाप दिन प्रतिदिन बढदो क्रममा छ । पर्वत हुँदै बागलुङ, म्याग्दी र मुस्ताङसम्म दैनिक दुई हजार बढी सानाठूला सवारी चल्ने ट्राफिक कार्यालयले जनाएको छ । कुश्माकै व्यवसायीका २ सय बढी सवारी छन् । बसपार्क अभावमा सवारीधनीले घर र राजमार्ग छेउमा पार्किङ गरिरहेका छन् । सवारीको अधिक चाप हुने राजमार्गका आसपासमा लहरै लगाएर सवारी पार्किङ गर्दा दुर्घटनाको खतरा बढिरहेको छ । व्यवस्थित बसपार्क नहुँदा कुश्मावासीले वर्षौंदेखि सवारी जामको सामना गर्नुपरेको छ ।

व्यवस्थित बसपार्कको परिकल्पना बमोजिम सर्वदलीय सहमति जुटाएर १६ वर्षअघि शिवालय गुठीको जग्गा छुट्याएको थियो । शिवालय धार्मिक विकास समितिकी तत्कालीन अध्यक्ष मानकुमारी गिरीका अनुसार गुठीको १७ रोपनीमध्ये १२ रोपनी जग्गा बसपार्कका लागि छुट्याइएको थियो । ‘व्यवस्थित बसपार्कको खाँचो भएपछि सर्वपक्षीय छलफलले जग्गा जिविसलाई उपलब्ध गराएका थियौं,’ गिरीले भन्नुभयो ‘उतिबेला जिविसले बनाइहाल्ने कुरा गर्यो, पछि त्यत्तिकै भयो ।’

जिविसले २०६६ सालतिर जग्गा व्यवस्थित गरी बसपार्क बनाउन एक करोड ५९ लाखको लागत स्टमेट तयार गरेको थियो । ‘हामीले ०६५ सालमै डेढ करोडको अनुमान गरेर जिविसलाई बजेट मागेका थियौं,’ तत्कालीन बसपार्क निर्माण समितिका अध्यक्ष एकनारायण गिरीले भन्नुभयो ‘प्रविधिले एक करोड ५९ लाखको स्टमेट बनाए । जिविसले दुई–चार लाख मात्रै दिएर टार्ने काम भयो ।’ उतिबेला चार वर्षसम्म जिविसले दिएको १३ लाखबाट बसपार्कसम्म जाने कच्ची सडक, भलबाढी रोकथामका लागि ग्याबिन लगाउने र जग्गा सम्याउने काममा सकिएको गिरीले बताउनुभयो ।

कुश्मा नगरपालिकाले बसपार्कको लागि व्यवस्थित परियोजना बनाउन लागेको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनीका अनुसार लामो समय रोकिएको बसपार्क व्यवस्थित गर्न यो वर्ष करिब दुई करोडको डीपीआर तयार भएको छ । ‘आन्तरिक स्रोत र नगरविकास समितिबाट ऋण लिएर व्यवस्थित बसपार्क बनाउने तयारी छ,’ पंगेनीले भन्नुभयो ‘बसपार्क मुख्य प्राथमिकतामा राखेका छौं ।’ बसपार्क बहुतले हुने र केन्द्र सरकारसँग बजेट मागिएको नगरपालिकाले जनाएको छ । त्यसका लागि जमिनको माटो परीक्षणसमेत गरेर काम अघि बढाइएको नगरप्रमुख रामचन्द्र जोशीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्