चाडबाड अघि नै सडक मर्मत गरिने



न्युज अफ नेपाल, पर्वत । जलजला गाउँपालिकाले अबरुद्ध भएका कच्ची सडकलाई तत्काल मर्मत गर्ने भएको छ । बर्षाका कारण अबरुद्ध भएका ग्रामिण कच्ची सडकलाई मर्मत गरी मुख्य चाडपर्वअघि नै सवारी साधन सहज रुपमा सञ्चालनको ब्यवस्था मिलाउने भएको हो । बर्षाको कारण वडाका मुख्य कच्ची सडक नै अबरुद्ध छन् ।

आवतजावतमा समस्या भएको भन्दै गाउँपालिकाले चाडपर्वहरु समेतलाई दृष्टिगत गरी सार्वजनिक खरिद ऐन, २०६३ अनुसार प्राविधिक नापजाँचको आधारमा लागत अनुमान तयार गरी कोटेशनबाट मर्मत गर्ने निर्णय भएको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जानकारी दिनुभयो । ‘बर्षाले ग्रामिण सडकहरुमा पहिरो थुप्रिने, भत्कने भएका कारण तत्काल मर्मत गरेर यातायात आवतजावत सहज बनाउने कार्यपालिका बैठकले निर्णय गरेको छ’ मल्लले भन्नुभयो ।

गाउँसभामा वडा–वडामा बिनियोजित शिर्षकबाटै मर्मतको काम सम्पन्न गर्ने कार्यपालिका बैठकले निर्णय गरेको छ । अहिले मुख्य कच्ची सडकमा निकै मुस्किलले जीप चलेपनि अधिकांश ग्रामिण कच्ची सडक अबरुद्ध रहेका छन् । सडक मर्मत गरेर चाडपर्व अगावै सहज बनाउने मल्लले जानकारी दिनुभयो ।

यसैगरी जलजला गाउँपालिकाले गाउँपालिकाभित्रको भाडादर निर्धारण गर्ने भएको छ । कच्ची सडकमा मनपरी भाडादर लिएको गुनासो बढेपछि कार्यपालिका बैठकले नयाँ भाडादर तोक्ने तयारी गरेको हो । यातायात ब्यवसायीलगायत सरोकारवाला निकायसँग छलफल तथा समन्वय गरी नयाँ भाडादर कायम गर्नका लागि गाउँपालिकाले समिति गठन गरेको छ । जलजला गाउँपालिकाका प्रवक्ता एवम् पूर्वाधार विकास समितिका अध्यक्ष देबिन्द्रबहादुर भण्डारी (रवि)को संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिले तत्काल यातायात ब्यवसायी र सरोकारवाला निकायसँग छलफल गरी नयाँ भाडादर कायम गर्ने समितिका संयोजक एवम् गाउँपालिकाका प्रवक्ता भण्डारीले जानकारी दिनुभयो । ‘यात्रुबाट बढी भाडादर लिएको गु्नासा आएका छन्, गुनासा नआउने गरी नयाँ भाडादर कायम गर्छौ’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्