नेपालमा लगानी भित्र्याउन जर्मन व्यवसायी इच्छुक



न्युज अफ नेपाल, काठमाडौं । नेपालमा लगानी भित्र्याउने उद्देश्यका साथ जर्मनीका व्यावसायी आगामी महिना नेपाल आउने भएका छन् । सो मुलुकबाट विभिन्न ६० कम्पनीका प्रतिनिधी असोज १५ गते नेपाल आउने भएका हुन् ।

विहीवार उपराष्ट्रपति नन्दबहादुर पुनसँगको शिष्टाचार भेटवार्तामा नेपालका लागि जर्मनीका राजदूत रोल्याण्ड स्क्याफेरले यस्तो जानकारी दिनु भएको हो । सो भेटवार्तामा–राजदूत स्क्याफेर भन्नुभयो–‘राजनीतिक स्थिरतापछि यहाँ लगानीमैत्री वातावरण बनेको छ, ‘अक्टोबर २ तारिखमा जर्मनीका ६० कम्पनीका प्रतिनिधि नेपाल भ्रमणमा आउँछन्, उनीहरु लगानीको सम्भावना अध्ययन गर्नेछन् ।’

उपराष्ट्रपति पुनले राजनीतिक स्थायित्वसँगै नेपाल वैदेशिक लगानीका लागि पूर्ण सुरक्षित गन्तव्य बनेको उल्लेख गर्दै जर्मनीको नीजि क्षेत्रलाई नेपालमा लगानीका लागि समन्वय गर्न राजदूत स्क्याफेरलाई आग्रह गर्नु भएको उहाँको नीजि सचिवालयले जनाएको छ ।

पुनले भन्नुभयो–‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न सरकार र नीजि क्षेत्रसँगै वैदेशिक लगानीको खाँचो छ, ‘जर्मनी सरकार र त्यहाँको नीजि क्षेत्रबाट लगानीको अपेक्षा गरेका छौँ ।’

सन् २०२० लाई नेपालले भ्रमण वर्षको रुपमा मनाउन लागेको जानकारी गराउँदै उपराष्ट्रपति पुनले भ्रमण वर्ष वैदेशिक लगानीकर्ताका लागि फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्