घरेलु मदिरा नष्ट गर्दै प्रहरी



अमृत अर्याल, स्याङ्जा । वडा प्रहरी कार्यालय वालिङले ठुलो मात्रमा घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ । अबैध रुपले उत्पादन गरि विक्रि गरिदै आएको घरेलु मदिरा नियन्त्रणमा लिएर प्रहरीले नष्ट गरेको हो । घरेलु मदिराका कारण समाजमा फैलिदै गएको विकृति विसंगतीले शान्ति सुरक्षामा चुनौती थपिदै गएको तथ्याङ्कको आधारमा प्रहरीले घरेलु मदिरा नष्ट गर्ने अभियान जिल्लाभरी संचालन गरेको छ ।

वालिङ नगरपालिकालाई अबैध मदिरा उत्पादन र विक्रिमा रोक लगाउदै शान्ति सुरक्षालाई अव्बल बनाउने अभियान प्रहरीको छ । वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक निरन्जन घिमिरेको नेतृत्वमा खटीएको टोलीले एकै दिन ६ हजार मदिरा बनाउन प्रयोग गर्ने कच्चा पदार्थ सहित तयारी मदिरा नियन्त्रणमा लिएको थियो ।

यो अभियानलाई प्रहरीले निरन्तरता दिने समेत जनाएको छ । चाडवाड नजिकिदै गर्दा कुनै आपराधिक क्रियाकलाप हुनबाट जोगाउन प्रहरीले पहिलो चरणमा अबैध रुपले उत्पादन गरेको घरेलु मदिरा विक्रि र उत्पादनलाई रोक लगाउने अभियान शुरु गरेको प्रहरी निरिक्षक निरन्जन घिमिरेको भनाई छ । बिशेष कार्ययोजना बनाएर यसको निरन्तरता दिने अभियानमा छौं प्रहरी निरिक्षक घिमिरेले भन्नुभयो, “पहिलो चरण सचेत, दोस्रो चरण सम्झाउने र तेस्रो चरण सम्म पनि भेटिएमा कारवाहि प्रक्रिया थाल्ने छौं ।” यस अभियानमा सबै नागरिकको साथ सहयोग हुने अपेक्षा रहेको घिमिरेले बताउनुभयो ।

समुदाय—प्रहरी साझेदारी कार्यक्रम मार्फत समाजलाई शान्ति सुरक्षाको अनुभुती दिलाउने अभियान शुरु गरेको नेपाल प्रहरीले समाजलाई अशान्ति मच्चाउने पहिलो कारण घरेलु मदिरा रहेको जनाउदै आएको थियो । वडा प्रहरी कार्यालय वालिङले भुम्रे, भकुण्डे, तल्लो वालिङ, रामबाच्छाबाट घरेलु मदिरा नियन्त्रणमा लिएको जनाएको छ । अखाद्य बस्तु मिसाएर उत्पादन गरिएको घरेलु मदिराले शान्ति सुरक्षा मात्रै नभएर नागरिकको स्वास्थ्यमा समेत गम्भिर असर पर्ने तथ्य थाहा पाएपछि यो अभियान शुरु गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख राजकुमार लम्सालले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय स्याङजाको मातहतमा रहेका प्रत्येक प्रहरी इकाईहरुलाई घरेलु मदिरा नियन्त्रणमा लिन निर्देशन नै दिएको प्रहरी उपरिक्षक लम्सालले बताउनुभयो ।

अहिले सम्म जिल्लाभरी गरेर प्रहरीले करिव ६५ हजार घरेलु मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । प्रहरीले घरेलु मदिरा उत्पादन गर्न प्रयोग हुने भाडाकुडा, मर्चा लगायतका सामाग्री बरामद समेत गरेको छ । प्रहरीले थालेको यो अभियानलाई स्थानीयले राम्रो माने पनि व्यवसायीले भने यस कार्यमा असन्तुष्ट व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्